महाकाली पुलको काम ३५ प्रतिशत सकियो

  २०७६ जेठ २१ गते १४:२१     विकासन्युज

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिएको छ  । हालसम्म उक्त पुलको ३५ प्रतिशत काम सम्पन्न भएको छ ।

चार लेनको पुलसँगै ६ लेनको सडक तथा पहुँच मार्गमा स–साना पुलहरु धमाधम निर्माण भइरहेका छन् । केही समय मुआब्जा विवादका कारण पहुँच मार्ग निर्माणमा अवरोध भए पनि उक्त विवाद टुङ्गिएसँगै निर्माण कम्पनीले सडक निर्माण तीव्र रुपमा गरिरहेको छ । महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका इञ्जिनीयर शुलभ न्यौपानेले नदीमा समय समयमापानीको मात्रा घटबढ हुँदा पुल निर्माणमा बाधा पुग्ने गरेको बताएका छन् ।

इञ्जिनीयर न्यौपानेले भने,“पुलको ३० मुख्य पिल्लरमध्ये १२ वटाको निर्माण कार्य तथा गड्डाचौकी र भुजेला खोलाका बन्ने पहुँच मार्गका दुई पुल निर्माणको अन्तिम चरणमा छन् ।” आठ सय मिटर लम्बाइको चार लेनको पुल निर्माण भए महाकाली पारीको दोधारा–चादँनीलाई जोड्ने छ ।

तीन अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । पुल निर्माणको शुरुआतमा केही समस्या भएका कारण निर्माणकोअवधि थप हुन सक्ने सम्भावना छ ।

यसै क्रममा कञ्चनपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले महाकाली नदीको पुललाई सुदूरपश्चिम प्रदेशको विकासको ढोकाको रुपमा हेरिएको बताएका छन् । “पुल निर्माण भएपछि भारतीय औद्योगिक क्षेत्रसँग सहकार्य बढ्ने र व्यापारिक नाकाका रुपमा विकास गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुन धेरै समय लाग्दैन ।”मल्लले भने ।

यसरी उक्त पुल बनेपछि भारतको पञ्जाव, हरियाणा, दिल्ली, उत्तरप्रदेशलगायत राज्यसँग सहकार्य गर्न मद्दत पुग्ने र सहज रूपमा वस्तु आयात–निर्यात गर्न सहज हुने बताएका हुन् ।साथ ै पुल निर्माण कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफसी)को संयुक्त सहकार्यमा भइरहेको समेत उल्लेख गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.