बीमा समितिका अध्यक्षले १ वर्षदेखि तलव पाएनन्, स्वायत्तताको लडाई झनै पेचिलो

  २०७६ जेठ ११ गते १२:५८     विकासन्युज

चिरञ्जीवि चापागाई,अध्यक्ष-बीमा समिति

काठमाडौं । बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले विगत एक वर्षदेखि तलब खान नपाएको तथ्य खुलेको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिलाई स्वायत्त संस्था बनाउनु पर्ने माग यस क्षेत्रबाट उठिरहेको बेला समितिका कार्यकारी अध्यक्ष समेत बेतलबी भएर काम गरिरहेको पाइएको छ ।

शनिबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बीमा समितिको स्वायत्तताबारे प्रश्न उठेको थियो । कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिको स्वायत्तताको सवार गम्भिर र चूनौतिपूर्ण भएको बताए ।

‘समितिलाई स्वायत्त बनाउनुपर्छ भनेर हामी भनिरहेको छौं । तर हाम्रा अध्यक्षले विगत एक वर्षदेखि तलव समेत लिन पाउनु भएको छैन । समिति कति स्वायत्त छ भन्ने कुरा पत्रकार साथीहरुले बुझिहाल्नुहुन्छ’ उनले भने ।

बीमा ऐन २०४९ ले बीमा समितिलाई स्वायत्त नबनाएको र नयाँ विधेयकमा बीमा क्षेत्रको नियामकलाई स्वायत्त बनाउने प्रयास भएको तर विधेयक पास हुन ढिला भएको बताईएको छ ।

पछिल्लो समय बीमा समितिले आफ्नो स्वायत्तता झन् खोएिको महसुस गरेको छ । समितिले बीमकसँग लिने सेवा शुल्कमा समेत सरकारले कर लगाएर नियामकलाई भन्दा पनि कम्पनीलाई जस्तो व्यवहार गरेकोे, बीमा समितिको चावहिलस्थित भवनमा अर्थमन्त्रालयले कर कार्यालय राखेको, त्यसबाट बीमा समितिले भाडा समेत नपाएको, सम्पत्ति जफत गरेपछि सरकारले दिनुपर्ने क्षतिपूर्ति पनि नदिएको समितिको अधिकारीहरुले बताए ।

‘म अध्यक्ष भएर आउँदा साथीहरुले बीमा समिति स्वायत्त छ भन्नु भएको थियो । त्यसअघि पनि बीमा समितिले आफ्ना दस्तावेजहरुमा बीमा समिति स्वायत्त छ भनेको मैले पाएँ । तर बास्तवमा बीमा समिति स्वायत्त छैन’ अध्यक्ष चापागाईले भने–‘कर्मचारी व्यवस्थापनदेखि बीमा कम्पनीलाई लाईसेन्स दिनेसम्मको निर्णय गर्दा अर्थमन्त्रालयको स्वीकृति आवश्यक छ । यस्तो संस्थालाई कसरी स्वायत्त भन्ने ?’

तलब भन्दा पेन्सन बढी

नियमअनुसार सरकारी कर्मचारीले पेन्सन र तलब दुबै सुविधा लिन पाउँदैनन् । समितिका अध्यक्ष चापागाई नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी भएकोले पेन्सन सुविधा लिदै आएका छन् ।

बीमा समितिको अध्यक्षको तलव मुख्य सचिव सरह हुन्छ । मुख्य सचिवको तलव मासिक करिव ५५ हजार रुपैयाँ छ । चापागाईले राष्ट्र बैंकबाट मासिक ६२ हजार रुपैयाँ पेन्सन पाउँछन् ।

स्रोतको अनुसार राष्ट्र बैंकबाट आउने पेन्सन भन्दा बीमा समितिको अध्यक्षको तलब कम भएपछि उनले तलब छोडेर पेन्सन सुविधा लिएका हुन् । ‘राष्ट्र बैंकबाट आउने पेन्सन त मैले बीमा समितिमा काम नगर्दा पनि आउने सुविधा हो । बास्तवमा मैले तलब विना काम गर्दै आएको छु’ चापागाईले भने ।

तलबविना किन काम गर्नुहुन्छ त ? पत्रकारको प्रश्नमा उनले भने–‘कर्म गर तर फलको आस नगर’ भनेर हामीले संस्कृतमा पढेका थियौ । त्यसैअनुसार फलको आस नगरी काम गरिरहेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.