एकल विन्दु सेवा केन्द्र शुरु भएपछि उद्योगीहरु उत्साहित, ८ दिनमा २० नयाँ उद्योग दर्ता

  २०७६ जेठ ९ गते १७:५०     राजाराम न्यौपाने


काठमाडौं । एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि उद्योग विभागमा चहलपहल बढेको छ । उद्योग सम्बन्धी सबै काम एकै ठाउँबाट हुने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र शुरु भएको हो । सेवाकेन्द्रमा चहलपहल बढेसँगै उद्योग दर्ताको संख्यामा वृद्धि भएको छ । सेवाकेन्द्र सञ्चालनमा आएपछि उद्योग दर्ता १५० प्रतिशतले वृद्धि भएको छ भने दर्ता भएका उद्योगको पूँजीमा २३९३ गुणाले बढेको देखिन्छ ।

२०७६ बैशाख १ गतेदेखी ८ गतेसम्म १ अर्ब ७८ करोड ६० लाख पूँजी भएका उद्योग दर्ता भएका थिए भने एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि (२०७६ जेठ १ गते देखी ८ सम्म) ४४ अर्ब ५३ करोड ४९ लाख १५ हजार ५ सय पूँजी भएका २० वटा नयाँ उद्योग दर्ता भएका छन् ।अघिल्लो महिनाको १ देखि ८ गतेसम्मका ८ वटा मात्रै नयाँ उद्योग दर्ता भएकोमा एकल विन्दु सेवा केन्द्र शुरु भएको ८ दिनमै २० वटा नयाँ उद्योग दर्ता भएको हो । एकल विन्दु सेवा केन्द्र सञ्चालन भएपछिको ८ दिनमा दर्ता भएका उद्योग मध्ये ६ वटा हाइड्रोपावर सम्बन्धी उद्योग छन् ।

पूँजीको हिसावले अघिल्लो महिनाको ८ दिनको तुलनामा पछिल्लो ८ दिनमा ४२ अर्ब ७४ करोड ९४ लाख ९१ हजार ६ सय रुपैयाँ बढी पूँजी भएका उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ । उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख विनोदप्रकाश सिंहले सेवाकेन्द्र संचालनमा आएपछि उद्योग दर्ता सहज र सरल तरिकाले भएको कारण उद्योग दर्तामा वृद्धि भएकोे बताए । उनले भने-‘डकुमेन्ट पूरा लिएर आएका सेवाग्राहीको काम सेवाकेन्द्रबाट छिटोछरितो रुपमा भएको छ ।’

उद्योग विभागका प्रवक्ता जीवनराज सेढाईले उद्योग दर्ता गर्दा हुने विभिन्न झन्झट हटाई बैंक वित्तीय संस्थाको कामदेखि कम्पनी दर्तासम्मका सबै काम सेवाकेन्द्रबाट भइरहेको बताए । केन्द्रबाट कम्पनी, फर्म, उद्योग दर्ता, अनुमती, ईजाजत, स्थापना, नवीकरण, क्षमता वृद्धि र बहिगर्मन लगायतका कार्यहरु सहज ढंगले हुन थालेको उनको भनाई छ ।

फाइल फोटो

एकल विन्दु सेवा केन्द्रको संगठन संरचनामा उद्योग विभागको महानिर्देशक कार्यकारी प्रमुखका रुपमा रहेका छन् । एकद्वार प्रणाली केन्द्रमा ८ वटा इकाईहरु सञ्चालनमा छन् । सेवाकेन्द्रमा रहेका भन्सार तथा राजश्व, पूर्वाधार (उर्जा तथा सञ्चार समेत), जग्गा सहजीकरण, भिसा सहजीकरण, उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण र प्रशासन तथा कानून इकाईबाट काम भइरहेको छ । एकल विन्दु सेवा केन्द्रमा ४१ जना कर्मचारीको दरबन्दी रहेको छ ।

गत जेठ १ गते उद्योगमन्त्री मातृका यादवले एक समारोहका बीच केन्द्रको उद्घाटन गरेका थिए । २०४९ साल देखी एकल विन्दु सेवाकेन्द्रको अवधारणा आएपनि जेठ १ गते देखि सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.