मोटर बीमा शुल्क बढाउने तयारीमा बीमा समिति, दुर्घटना बीमा दावी १० लाख र १५ लाख बनाइदै

  २०७६ जेठ ६ गते १६:४३     विकासन्युज

काठमाडौं । बीमा समितिले मोटर बीमा शुल्क बढाउने तयारी गरेको छ । त्यसका लागि समितिले बीमा निर्जीवन कम्पनीहरुसँग मोटर बीमा अन्तर्गत हुने बीमा शुल्क आम्दानी, दावी भुक्तानी लगायतको तथ्याङ्क माग गरेको छ ।

सरकारले यात्रु तथा तेस्रो पक्ष बीमा १० लाख रुपैयाँ बनाउन र गम्भिर प्रकृतिका बिरामीको उपचारमा १५ लाख रुपैयाँसम्म बीमा हुने व्यवस्था गर्न बीमा समितिलाई निर्देशन दिएपछि बीमा समितिले बीमा शुल्क वृद्धिको तयारी थालेको हो ।

शुल्क वृद्धि गर्ने विषयमा सोमबार समिति र बीमकहरुबीच प्रारम्भिक छलफल भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए । सरकारले यात्रु र तेस्रो पक्षको बीमा सुरक्षण रकम दोब्बर बनाउन र हेड इन्जुरी, इस्पाइनल इन्जुरी जस्ता गम्भिर बिरामीको उपचारमा १५ लाख रुपैयाँसम्म खर्च गर्ने गरी बीमाको प्रबन्ध गर्न भनेकोले त्यसको कार्यान्वयनको क्रममा सरोकारवालासँग रायसुझाव लिने काम शुरु भएको उनले बताए ।

मोटर बीमाको बजार विश्लेषण गरेर बीमा शुल्क दर परिवर्तन गर्ने गृहकार्य भईरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । जेठ महिनाभित्रै मोटरबीमा सम्बन्धि निर्देशिका संशोधन हुने उनले बताए ।

यातायात व्यवस्था विभागले जुनसुकै उमेर समूहका यात्री तथा तेस्रो पक्षका बीमा समान बनाउन निर्देशन दिएको छ । यसअघि यात्रुको काखमा बस्ने बालकको बीमा २ लाख ५० हजार रुपैयाँ मात्र हुने गरेको थियो । अरुको बीमा ५ लाख थियो । विभागले गम्भिर प्रकृतिको बिरामी बाहेकलाई उपचार खर्च बढीमा ३ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

जोखिम र लाभ दुबै

यात्रु तथा तेस्रो पक्षको बीमा १० लाख र गम्भिर बिरामीको बीमा १५ लाख बनाउँदा बीमा कम्पनीहरुको जोखिम वृद्धि हुने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् । ‘यसअघि बिरामीको उपचारका लागि बीमा कम्पनीले बढीमा २ लाख रुपैयाँ दिने गरेको थिए । यसलाई १५ लाख बनाउने हो भने बीमा कम्पनीहरुको जोखिम धेरै बढ्छ’ यूनाईटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले भने ।

तर बीमा रकम वृद्धिले बजार विस्तार गर्नुका साथै सबै पक्षलाई लाभ हुने नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे बताउँछन् । ‘बिजनेश अपरच्यूनिटी पनि छ । सर्बसाधारणलाई लाभ पनि हुन्छ । कुनै पनि दुर्घटनामा पर्नेले बीमाबाट राहत पाउँछन् । यसले बजारमा बीमाबारे राम्रो सन्देश दिन्छ’ पाण्डे भन्छन्- ‘बीमकबीच स्वच्छ प्रतिस्पर्धा हुने हो भने कोही पनि डराउनु पर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.