मेलम्चीमा एक साता भित्रै सर्वदलीय सहमति, एक बर्षपछि मात्रै पानी

  २०७६ जेठ १ गते १२:४२     विकासन्युज


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउनेबारे सरकारले वृहत सर्वदलीय सहमति खोज्ने भएको छ । एक हप्ताभित्रै सर्वदलीय सहमति खोजेर मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउने निष्कर्षमा सरकार पुगेको हो ।

खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माका अनुसार मेलम्चीका सहायक ठेकेदार र भेण्डरहरुलाई गर्नुपर्ने एक अर्ब ५३ करोडको भुक्तानी कसरी गर्ने भन्नेबारे सरकारले सर्वदलीय सहमति जुटाउन लागेको हो । सहायक ठेकेदार र लोकल भेण्डरहरुले डेढ अर्ब भुक्तानी नगरे काम अघि बढ्न नदिने घोषणा गरेका छन् ।

मन्त्रिपरिषदबाट सिधै निर्णय गराउँदा आर्थिक अनियमिताको आरोप लाग्ने देखिएपछि सरकारले विपक्षी दल, महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतसँग समेत आवश्यक छलफल गरी सहमति निकालेर मेलम्चीको काम अघि बढाउन लागेको हो । ‘मेलम्चीमा सर्वदलीय सहमति खोज्ने तयारी भैरहेको छ, एक साताभित्रै सर्वदलीय सहमति गरेर मेलम्चीको काम अघि बढाइनेछ’, खानेपानी मन्त्रालयका सचिव शर्माले भने ।

उनले मेलम्चीको बाँकी कामलाई १० वटा प्याकेज बनाएर एक बर्षभित्र सम्पन्न हुने गरी कार्ययोजना निर्माण गरिएको जानकारीपनि दिए ।मेलम्चीमा करिब २ अर्ब ५० करोड रुपैंयाँको बराबरको काम बाँकी छ ।

खानेपानी मन्त्री बिना मगरलेपनि एक बर्षभित्र मेलम्चीको पानी ल्याई सक्ने र त्यसका लागि सहमतिको प्रक्रिया थालिएको बताइन् । सुरुङ निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सिएमसीलाई नै फर्काउने प्रयास असफल भएपछि छुट्टै ठेक्का प्रक्रिया अघि बढाउन लागिएकोपनि उनले जानकारी दिइन् ।  एक बर्षभित्र मेलम्चीको खानेपानी काठमाडौंवासीका धारामा ल्याईसक्ने गरी प्याकेजिङ तयार पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.