जनकपुर-जयनगर-कुर्था खण्डमा रेल चल्न अझै कम्तीमा चार महिना लाग्ने

  २०७६ वैशाख ३१ गते ८:५३     विकासन्युज

काठमाडौं । जनकपुर-जयनगर-कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ । भारतीय पक्षले यसअघि नै रेल खरिदका लागि मूल्य पठाइसके पनि नेपाली पक्षले ढिलाइ गर्दा रेल चल्न अझै कम्तीमा चार महिना लाग्ने भएको हो । रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडसँग भएको सम्झौता अनुसार भदौसम्म रेल नेपाल आइपुग्ने जानकारी दिए ।

शुक्रबार विभागका महानिर्देशक मिश्र र कोकन रेलवेज कर्पोरेसन लिमिटेडका अध्यक्ष सञ्जय गुप्ताले रेल खरिदबिक्रीका लागि सम्झौतामा हस्ताक्षर गरेका थिए । नेपालमा लामो समयदेखि रेल सञ्चालनको प्रयास भएपछि भारतीय कम्पनीले सन् २०१८ को अप्रिल ९ मा नै रेलको मूल्यसहित नेपाललाई प्रस्ताव गरेको थियो । तर, त्यसबीचमा रेल खरिदका लागि नेपाली पक्षले गरेको ढिलाइका कारण रेल सञ्चालनको अवधि पछि धकेलिएको हो ।

स्रोतका अनुसार जिटुजी स्तरबाट खरिदबिक्री नगरी बिचौलिया नियुक्त गर्ने प्रयासले गर्दा दुई देशबीचको सम्झौता लम्बिएको हो । ‘जिटुजीको साटो बिचौलिया घुसाएर कमिसन लिने चक्करमा एक वर्ष खेर फालियो,’ स्रोतले भन्यो, ‘अन्तिममा बिचौलियालाई घुसाउन सक्ने सम्भावना नदेखिएपछि जिटुजीमै सम्झौता गर्नुपर्ने अवस्था आयो ।’

अघिल्लो वर्ष पहिलोपटक भारतको राइट्स कम्पनीले रेल बिक्रीका लागि नेपालसँग मूल्यसहितको प्रस्ताव गरेको थियो । तर, पछि कोकनसँग खरिद प्रक्रिया अघि बढाइएको हो । कोकन र राइट्स दुवै भारत सरकारको स्वामित्वका कम्पनी हुन् । राइट्सले उपलब्ध गराएको मूल्यको अधारमा नै कोकन रेलवेजले रेल उपलब्ध गराउने मिश्रले जानकारी दिए । उनका अनुसार दई वटा रेल खरिद गर्न ८४ करोड ६५ लाख रुपैयाँमा सम्झौता भएको छ । पहिलो रेल आएको डेढ-दुई महिनापछि दोस्रो रेल नेपाल आउने बताइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.