नेप्से दोहोरो अंकले बढ्दा ९५ करोडको कारोबार, वाणिज्य बैंकको मात्रै ३४ करोड

  २०७६ वैशाख ११ गते १५:२२     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक १९.१४ अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि निरन्तर उकालो लागेको सो दिनको नेप्से अघिल्लो दिनको तुलनामा १.५२ प्रतिशतले बढेर १२७९.२९ अंकमा पुगेको छ ।

दोहोरो अंकले उकालो लागेको बजारमा कुल १७२ कम्पनीको ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ९ हजार ६०९ वटा कारोबारमा कुल ३४ लाख ८ हजार ३७४ कित्ता सेयर किनबेच भएका छन् ।

सो मध्ये वाणिज्य बैंक समूहको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एकैदिन यो समूहको कुल ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल ३ हजार ५२३ पटकको कारोबारमा सो मात्राको सेयर किनबेच भएको छ ।वाणिज्य बैंक मध्ये पनि नेपाल बैंक लिमिटेडको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, मंगलबार सबैभन्दा बढी कारोबार गर्नेमा अधिकांश वाणिज्य बैंक रहेका छन् ।

दोहोरो अंकले बढेको बजारमा पनि दुई समूहको सूचक राताम्मे भएका छन् । हाइड्रो पावर र उत्पादनमूल समूहको सूचक क्रमशः १०.६८ र २.६९ अंकले घटेका छन् । कारोबारमा आएका १० वटा समूह मध्ये होटल समूहको ६०.११ अंकले बढेर हरियो भएको छ ।

मंगलबार जस्तै बुधबार पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । बुधबार यी कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशत कमाएका छन् । इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४२७ रुपैयाँ रहेको छ ।

नेप्सेका साथै ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.८० अंकले उकालो लागेर २७६.९४ अंकमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.