राष्ट्रपति भण्डारी आज चीन जाँदैः चिनियाँ समकक्षीसँग सोमबार उच्चस्तरीय वार्ता

  २०७६ वैशाख ११ गते ८:२६     विकासन्युज


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जाँदै छिन्  । नेपाल एयरलाइन्सको जहाजबाट उनी बिहान ११ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ  । भण्डारीले चिनियाँ सकमक्षी सी जिनपिङसहित उच्च चिनियाँ अधिकारीसँग १६ वैशाखमा भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारीले १६ वैशाखमा बेइजिङमा राष्ट्रपति सीसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ  ।

सोही दिन राष्ट्रपति भण्डारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं अनुशासन आयोगका सचिव चाओ लेजीबीच भेटवार्ता हुनेछ । त्यसअघि राष्ट्रपति भण्डारीले बिआरआई फोरम सम्मेलनमा दुईपटक सम्बोधन गर्नेछिन् । उच्चस्तरीय वार्ताकै दिन नेपाल र चीनबीच आधा दर्जन पत्राचार तथा प्रोटोकलमा हस्ताक्षर हुने कार्यक्रम छ ।

गणतन्त्र स्थापनापछि नेपालबाट राष्ट्रप्रमुखको तहमा हुन लागेको यो पहिलो राजकीय भ्रमण हो । यसअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादव चीन भ्रमणमा गएका थिए । तर, उनको भ्रमण राजकीय थिएन । नेपाल एयरलाइन्सको विशेष उडानबाट राष्ट्रपति भण्डारी बुधबार चिनियाँ राष्ट्रपतिको गृहनगर सान्सी प्रान्तको सियान जाँदै छिन् ।

बिहीबार साँझ उनी बेइजिङ फर्कने कार्यक्रम छ । शुक्रबारदेखि सुरु हुने बिआरआई फोरम सम्मेलनमा उनी सहभागी हुनेछिन् । शनिबार र आइतबार सम्मेलनमा सहभागी भएपछि सोमबार उनले चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मंगलबार उनी तिब्बतको ल्हासा आइपुग्ने कार्यक्रम छ । उनी ल्हासा भएर स्वदेश फर्किने तय भएको छ ।

द्विपक्षीय औपचारिक वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न आयामबाहेक केरुङ–काठमाडौं प्रस्तावित रेलमार्ग, कोसी, गण्डकी र कर्णाली करिडोर निर्माण, विश्वस्तरीय विश्वविद्यालय स्थापनाका बारेमा छलफल हुनेछ । सोही दिन पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुवै देशका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ । हस्ताक्षरसँगै नेपालले चीनतर्फ चार बन्दरगाह र तीन सुक्खा बन्दरगाह प्रयोगका लागि मार्गप्रशस्त हुनेछ भने भारतसँग एकपक्षीय पारवहन निर्भरता औपचारिक रूपमा हट्नेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.