कर्मचारीको तलब २० प्रतिशत बढ्दै ! अहिले कति ?

  २०७६ वैशाख ४ गते ८:०४     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन दबाव सुरु भएको छ ।

कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले  तलब वृद्धिका लागि छलफल र लबिङ सुरु गरिसकेका छन् । युनियनका अध्यक्ष पुण्य ढकाल स्वयं प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र हुन् ।

उनले समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गराउने मुख्य औजार कर्मचारी भएकाले उनीहरुको मनोबल उच्च बनाउन पनि यसपाली खुला हृदयका साथ तलब वृद्धि गर्न ओलीलाई सुझाव दिएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली अभियान साकार पार्ने मुल औजार कर्मचारी नै हुन्, यसपाली नियमित तबल बढाउने वर्ष पनि हो, खुला हृदयका साथ तबल वृद्धि गरिदिन प्रधानमन्त्रीसँग अनुरोध गरिरहेका छौं’, ढकालले विकासन्युजसँग भने ।

उनले पछिल्लो २ वर्षलदेखि तबल नबढेकाले नेपाल राष्ट्र बैंकको मूल्य वृद्धि सूचांक र देशले निर्धारण गरेको समृद्धिको लक्ष्यलाई पुरा गराउन सघाउने गरि कर्मचारीको तलब बढाउनु पर्ने बताए । ‘आधिकारीक ट्रेड युनियनकाे तर्फबाट तलब बढाउन छलफल आरम्भ गरिसकेका छौं, हामी प्रतिशत नै तोक्दैनौं तर यसपाली तलब बढ्नुपर्छ भन्ने हाम्रो माग हो’, ढकालले भने ।

उनले चालु आर्थिक वर्षमा प्राप्त भैरहेको २ हजार भत्ताको ७५ प्रतिशत रकमलाई तलबमा गाभ्ने र पछिल्लो ३ वर्षको मूल्य वृद्धिका आधारमा तलब बढाउनु उपयुक्त हुने बताए ।

ओलीको संकेत
स्राेतका अनुसार प्रधानमन्त्री केपी ओली पनि यसपाली तलब बढाउनुपर्छ भन्ने मान्यतामा छन् । समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल पार्न कर्मचारी तन्त्रलाई हातमा लिनुपर्ने भएकाले पनि यसपाली कर्मचारीको तलब बढाउन कन्जुस्याई नगर्ने मनस्थितीमा ओली पुगेको स्राेतले बतायो । ‘कर्मचारीको सहयोग नभए केहि गर्न सकिन्न भन्ने निष्कर्ष हो, त्यसका लागि तबल वृद्धि महत्वपूर्ण अस्त्र हो, यसपाली नियमित समय पनि भएकाले कर्मचारीको तलब बढ्न सक्छ’, स्राेतले भन्यो ।

अर्थ मन्त्रालयका आर्थिक सल्लाहका डा. रामशरण खरेलले भने बजेट निर्माणको छलफल प्रारम्भिक चरणमै रहेकाले कर्मचारीको तलबबारे अहिले नै केहि भन्न नसकिने बताए । ‘बजेटको प्रारम्भिक छलफल आरम्भ भएको छ, यो उपल्लो तहबाट हुने निर्णय हो, अहिले नै केहि भन्नु हतारो हुनेछ’, डा. खरेलले भने ।

यस्तो छ अहिले निजामति कर्मचारीको तलब
मुख्यसचिवः रु ५५,२००।
सचिवः रु ५१,४२०।
सहसचिवः रु ४०,१५०।
उपसचिवः रु ३४,२२०।
शाखा अधिकृतः रु ३०,५००।
नासुः रु २३,५००।
खरिदारः रु २२,१७०।
कार्यालय सहयोगी पियनः रु १८,०००।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.