हिमालय उर्जाको आईपीओ बाँडफाँड, आवेदन दिने सबैले पाए १० देखि २० कित्ता सेयर

  २०७६ वैशाख ३ गते १४:२४     विकासन्युज

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको आईपीओ मंगलबार भएको छ । उक्त आईपीओमा रितपूर्वक आवेदन दिने सबै आवेदकले सेयर पाएका छन् ।

निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्का अनुसार आईपीओमा ६९ हजार ६७० जनाले रितपूर्वक आवेदन दिएका थिए । जसमध्ये ६६ हजार ९५० जनाले २० कित्ताका दरले र २ हजार ७२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओमा कूल ६९ हजार ७०८ वटा आवेदन परेको थियो । जसमा ३८ आवेदकबाट परेको २ हजार ८०० कित्ता आवेदन रद्ध भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ । कम्पनीले गत चैत २० गतेदेखि २५ गतेसम्म निष्काशन गरेको उक्त आईपीओ मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी बैंकेटमा बाँडफाँड गरेको हो ।

कम्पनीले कूल १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये सर्वसाधारणका लागि १३ लाख ६६ हजार २२० कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमा ४ गुणा बढी आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडले जनाएको छ । कूल निष्काशित साधारण सेयरमध्ये कर्मचारीलाई ३ प्रतिशत र सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याईएको छ ।

तुलनात्मक रूपमा कम लागतमा परियोजना बन्दै गरेको र सम्पन्न हुने चरणमा पुगिसकेकोले लगानीकर्ताले यस कम्पनीको सेयर मन पराएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताएका छन् ।

रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे.वा. को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति–२ गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमाउल्लेख भएअनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.