सिभिल बैंककाे ७५ लाख कित्ता शेयर थपिँदै, ६ जना सञ्चालकबारे गाेप्य सहमति

  २०७६ वैशाख ३ गते ९:३७     विकासन्युज

काठमाडौं । लामो रस्साकस्सीपछि सिभिल बैंकले दुई वर्षको साधारणसभा एकै पटक बोलाएको छ । २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेशनल लिजिङ फाइनान्स कम्पनीलाई एक्वायर गरेपछि उक्त कम्पनीका शेयरधनीहरुकाे प्रतिनिधित्वकाे सवालमा सहमति नजुट्दा साधारणसभा हुन सकेकाे थिएन । बैंकले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारणसभा बैशाख २७ गते काठमाडौंमा बस्नेगरी बोलाएको हो ।

उक्त साधारणसभाले करिब १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने तथा ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा प्रस्ताव गरेको १०.२५ प्रतिशत बोनस शेयर तथा ०.५४ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०७४/७५ मा प्रस्ताव गरेको ४.०५ प्रतिशत नगद लाभांश सहित १४.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने एजेन्डा तय गरेको छ ।

त्यस्तै, साधारणसभाले सञ्चालक समितिका सबै सदस्यहरु परिवर्तन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले दिएको ५ देखि ७ जनाको सञ्चालक समितिको सीमामध्ये ७ जना सञ्चालकको प्रस्ताव गरेको बैंकले ६ जना सञ्चालकहरुको निर्वाचन साधारणसभाले गर्नेछ भने बाँकी एकजना स्वतन्त्र सञ्चालक नयाँ सञ्चालक समितिले नियुक्ति गर्नेछ ।

स्राेतका अनुसार ६ जना सञ्चालक चयनमा सहमति जुटेकाे छ । संस्थापकतर्फबाट इच्छाराज तामाङ्ग, अम्बीर बाेगटी र प्रतापजंग पाण्डे सञ्चालक बन्ने सहमति संस्थापक सेयरधनीबीच भएकाे छ । त्यस्तै, सर्बसाधारण सेयरधनीकाे तर्फबाट प्रकाश दाहाल, शम्भुपन्त र डम्बर बहादुर मल्लका छाेरा सञ्चालक बन्ने सहमति भएकाे छ । उक्त सहमति बैंकले सार्वजनिक गरेकाे छैन ।

७५ लाख कित्ता शेयर थपिँदै

बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस शेयरदिने प्रस्ताव यसअघि नै सञ्चालक समितिबाट पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति समेत लिइसकेको छ ।

उक्त आर्थिक वर्षको अन्तिममा कायम रहेको ७ अर्ब ३० करोड ८३ लाख चुक्ता पुँजी बराबर ७ करोड ३० लाख ८३ हजार कित्ता शेयरको १०.२५ प्रतिशतले हुने ७४ लाख ९१ हजार कित्ता वितरण गर्ने निर्णय गरे पनि साधारणसभा नहुँदा उक्त शेयर वितरण भइकाे थिएन ।

साधारणसभाले उक्त प्रस्ताव पारित गरेसँगै उक्त शेयर शेयरधनीकाे खातामा आउँनेछ । सिभिल बैंकले भने साधारणसभाले पारित गर्नुअघि नै आफ्नो वित्तीय विवरणमा पुँजी वृद्धि गरेर चुक्ता पुँजी कायम गरिसकेको छ । त्यसैले साधारणसभाले पुँजी वृद्धि प्रस्ताव गरे पनि बैंकको वित्तीय विवरणमा पुँजी वृद्धि भएकाे देखिँनेछैन ।

बैंकले उक्त साधारणसभाका लागि बैशाख १० गते शेयरधनी किताब पुस्तिका बन्द हुनेछ । उक्त दिनसम्म शेयर कायम रहने शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.