डिजिटल मालपोत कार्यालय पूर्ण रुपमा क्यासलेस, अब युजर आइडी र पासवर्ड लिनु पर्छः महानिर्देशक दुवाडी

  २०७५ चैत २८ गते १३:०५     विकासन्युज

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत कार्यालयहरुलाई डिजिटल बनाउने तयारी गरेको छ । सबैभन्दा पहिला कलंकी मालपोत कार्यालयबाट डिजिटल मालपोतको सेवा सुरु गर्ने मन्त्रालयको तयारी छ । घर जग्गा कारोबारमा मुख्य भूमिका खेल्ने मालपोत कार्यालयमा डिजिटल सेवाले कस्तो असर पर्ला भन्ने विषयमा मालपोत विभागका महानिर्देशक गोकर्णमणि दुवाडीसँग विकासन्यूजका लागि खेमराज श्रेष्ठले गरेको कुराकानी :

डिजिटल मालपोतको अवधारणा कसरी आयो ?
परम्परागत रुपमा सञ्चालन भैरहेको मालपोत प्रशासनलाई प्रविधिको प्रयोग गरेर सेवा प्रवाह गर्ने अवधारणा ल्याएका हौं । बढी भन्दा बढी सूचना र प्रविधिको प्रयोग गरेर भूमि सुधार, जग्गा प्रशासन अन्तर्गत रहेका अभिलेखलाई डिजिटलाइजेसन गरी प्रयोग गर्ने तयारी गरेका छौं । जसमा कागजी रुपमा रहेको अभिलेखलाई कम्यूटर प्रणालीमा ल्याइनेछ ।

यो प्रविधिसँग नागरिक सजिलै अभ्यस्त हुन सक्छन् ?

शुरुमा हामीले हाम्रो कार्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने छौं । त्यसपछि प्रयोगकर्ता मैत्री एप्स निर्माण गर्नेछौं । अर्को हामीले एलआरएमएस ल्यान्ड रेकर्ड म्यानेजमेन्ट प्रणाली सञ्चालनमा ल्याइसकेका छौं । यो प्रणालीले भूमि प्रशासनसँग सम्बन्धित सबै पक्षलाई समेट्छ । सबै विषयहरु कम्प्युटरमा प्रयोग गरिसकेका छौं । यसमा थप प्रविधिहरु हामीले प्रयोग गर्ने तयारी गरिरहेका छौं । अर्को मोडेल भनेको पब्लिक एक्सिस मोडेल, जसमा नागरिकले बाहिर बसेरै प्रशासनलाई आवश्यक पर्ने विवरण अनलाइनबाट भर्न सक्छन् । यो कार्य हामीले टेष्टमा गरिरहेका छौं । जसमा नाम, थर, ठेगाना, जग्गाको विवरण घरबाटै भर्न सक्छन् ।

कति समयमा यो प्रणाली देशैभरी प्रयोगमा ल्याउन सकिन्छ ?
शुरुमा हामीले कलंकी मालपोत कार्यालयबाट सुचारु गर्ने तयारी गरेका छौं । यसमा कार्यालय व्यवस्थापन, कर्मचारीको व्यवहार सबै तरिकाले उपयुक्त हुनुपर्छ । यो प्रणालीको पूर्ण विकास हुन बाँकी छ । यो काम पूरा भएपछि हामी प्रणालीलाई देशभर सञ्चालनमा ल्याउछौं । जग्गा प्रशासन धेरै चुनौतिपूर्ण विषय हो । यसलाई प्रविधिमा ढाल्ने कुरा आफैंमा चुनौतिपूर्ण छ । हामीले सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेका छौं । जति सक्दो चाँडो प्रक्रियामा जानेछौं ।

डिजिटल मालपोतमा जग्गा धनीले मापदण्ड पूरा गरेपछि वा युजर आइडी र पासवर्ड लिएपछि आफ्नो जग्गाको विवरण जहाँसुकै स्थानमा बसेर हेर्न सक्छन् । डिजिटल मालपोतले मोबाइलमा लालपूर्जा उपलब्ध गराउन सक्छ ।

पुरानो जग्गा प्रशासन र डिजिटल प्रशासनमा के फरक छ ? इलेक्ट्रिक हस्ताक्षरलाई समावेस गर्न सकिन्छ ?
हामीले प्रणालीमा सबै कुरा समावेश गरेका छौं । ल्याप्चेदेखि हस्ताक्षरलाई इलेक्ट्रिक माध्यमबाट सकिने गरी प्रविधिको विकास गरेका छौं । यसमा हामीलाई एउटा चुनौति के छ भन्दा कागजी प्रणालीलाई पनि सजिलै छोड्न सकिदैन । दुवै प्रणालीलाई समावेस गर्नु पर्ने अहिलेको आवश्यकता हो ।

जग्गा कारोबारको कर/राजश्व रकम कसरी तिर्ने ?
नमूना मालपोत कार्यालय पूर्ण रुपमा क्यासलेस कार्यालय हुनेछ । धेरै कार्यालयहरुमा हाम्रो बैंकिङ शाखाहरु रहेका छन् । सो स्थानबाट कारोबारमा लाग्ने रकम सेवाग्राहीले तिरेर बिल पेस गर्न सक्छन् । भोलीको दिनमा अनलाइन मोडेलमा पनि भुक्तानी गर्न सकिने गरी प्रविधि विकास गरिरहेका छौं ।

डिजिटल प्रणालीले धेरै रकममा जग्गा कारोबार गरेर थोरै राजश्व तिर्ने परिपाटीको अन्त्य होला ?
डिजिटल मालपोतमा व्यक्तिले वर्षभरीमा कुन स्थानबाट कति जग्गाको कारोबार भयो सबै जानकारी लिन सकिन्छ । यो प्रणालीले कर निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अर्को पूँजिगत लाभकरको विषयलाई पनि सम्बोधन गर्नेछ । व्यक्ति वा संस्थाले देशभर गरेको कारोबार ट्रान्जिक्टलाई एकिकृत गर्दछ । अब ढाकछोप गरेर कर छल्ने प्रवृतिको अन्त्य हुन्छ । यसले कर निर्धारणमा यर्थातता प्रदान गर्नेछ ।

भू-उपयोग ऐनले जग्गालाई वर्गिकरण गर्नुपर्ने उल्लेख गरेको छ, फेरी नापी कार्यालयको बेग्लै भूमिका छ । यसले तपाईँहरुको योजनामा कस्तो प्रभाव पार्ला ?
आजको दिनसम्म हामीले पुरानै प्रणाली अनुसार भूमिको वर्गिकरण गरिरहेका छौं । भूउपयोग ऐनले जग्गालाई १० भागमा वर्गिकरण गरेको छ । वर्गिकरण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । यसको लागि प्राविधिक टोली गठन गरेर कुन जग्गा खेतीयोग्य हो र कुन जग्गा खेतियोग्य होइन भनेर सो टोलीले वर्गिकरण गर्नेछ । यदि जग्गा खेती योग्यमा नपरे बढि भन्दा बढी कित्ताकाट गर्न सकिन्छ । ऐन प्रमाणीकरण भएर आएपछि हाम्रो प्रणालीमा वर्गिकरणलाई सजिलै समावेश गर्न सकिन्छ । अब नापी कार्यालयको सम्बन्धमा आवश्यक सहकार्य हुनेनै छ । नापी विभागले कित्ताकाट गर्ने हो । यसमा आवश्यक पर्ने सूचना आदान प्रदानको लागि पनि प्रणालीको विकास भैरहेको छ ।

डिजिटल मालपोतले जग्गाको लालपूर्जा मोबाइलमा उपलब्ध गराउन सक्छ ?
डिजिटल मालपोतमा जग्गा धनीले मापदण्ड पूरा गरेपछि वा युजर आइडी र पासवर्ड लिएपछि आफ्नो जग्गाको विवरण जहाँसुकै स्थानमा बसेर हेर्न सक्छन् । डिजिटल मालपोतले मोबाइलमा लालपूर्जा उपलब्ध गराउन सक्छ ।

डिजिटल मालपोतमा सबै काम विद्युतीय प्रणालीबाट हुन्छ । हामीसँग भएका लिखत, मिसिल, श्रेस्ता लगायत सबै कुराहरु डिजिटल हुनेछन् । जुन कुरा भौतिक रुपले क्षति भएपछि प्रविधिले सुरक्षित गर्छ ।

मालपोत कार्यालयलाई एउटा ट्याग लाग्ने गरेको छ, भष्ट्राचार डिजिटल मालपोतले यसलाई मेट्न सक्ला ?
यो विषयमा अलि फरक दृष्टिकोणले हेर्नुपर्ला । यो परिवेशले बनाउने कुरा हो सबै कर्मचारी नराम्रा छैनन् । हाम्रो कार्यालयमा जग्गा कारोबारका लागि सिधै कर्मचारीलाई नभेटी तेस्रो पक्षलाई भेट्ने परिपाटी रहेको छ । यसले गर्दा हरेक कुराहरु कर्मचारीहरुसँग जोडिएर आउँछ । डिजिटल मालपोतमा सबै काम विद्युतीय प्रणालीबाट हुन्छ । हामीसँग भएका लिखत, मिसिल, श्रेस्ता लगायत सबै कुराहरु डिजिटल हुनेछन् । जुन कुरा भौतिक रुपले क्षति भएपछि प्रविधिले सुरक्षित गर्छ । दोस्रो कुरा हामीसँग हुने आर्थिक कारोबार सबै डिजिटल हुनेछन् । डिजिटल मालपोत पूर्ण रुपमा ओपन मालपोत हुनेछ । कार्यालयहरुमा रहेका गोप्य कोठाहरु सबै भत्कने छन् । कुन कर्मचारीले के काम गरिरहेका छन् सबै सिसि क्यामेराबाट निगरानी गर्नेछौं । यसमा कर्मचारीको क्षमता अभिवृद्धिका लागि विभिन्न जग्गा प्रशासन सम्बन्धी तालिम प्रदान गछौं ।

चालू आर्थिक वर्षको बजेटमा जग्गाको कारोबार अनुमति प्राप्त कम्पनीबाट मात्रै गर्ने व्यवस्था गरिएको थियो । यो विषय कहाँ पुगेको छ ?

यसको लागि कानून बनाउन पर्छ । कानून बनेको छैन । तर हामीले विकास गरेको प्रविधि पब्लिक सर्भिस मोडेलबाट थोरै व्यवस्थापन गर्ने प्रयास गरेका छौं । ब्रोकरहरुलाई पनि युजर आइडी र पासवर्ड दिएर आधिकारिता प्रदान गर्ने प्रयासमा लागेका छौं । यसको लागि कम्पनीले धरौटी राख्नुपर्ने नियामावली हामीसँग छ । अब यसैलाई आधार मानेर अघि बढ्ने की थप कानून बनाउने भन्ने विषयमा स्पष्ट भैसकेको छैन ।

डिजिटल मालपोत विस्तारमा चुनौती के देख्नुभएको छ ?
चुनौति छन् । शुरुमा कानूनी कुरा आउँछ । कागजी प्रक्रियाबाट भैरहेको कामलाई हाम्रो कानूनले वैद्य बनाउँछ÷बनाउँदैन, यो पहिलो चुनौति हो । अर्को कुरा पूर्वाधार विकासमा चुनौति हुनसक्छ । डिजिटल मालपोतमा नेटको प्रमुख भुमिका रहन्छ । यदि नेट प्रभावकारी भएन भने काम प्रभावित हुनसक्छ । हाम्रो १३१ वटै कार्यालयहरुमा नेट पुर्याउनु पर्छ । यो सेवा उच्च गतिमा प्राप्त गर्न सकिएन भने सेवा सहज हुँदैन । अर्को पक्ष भनेको कर्मचारी प्रविधिमैत्री छैनन्, उनीहरुले पनि यो कुरा सिक्नु नै पर्छ । चौथो पक्ष भनेको हाम्रो कार्यालयहरुमा अहिले ६० प्रतिशत भन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको छ । हाम्रा कर्मचारीहरुलाई नियमन निकायहरुले पनि बढी नै दोषी देखिइरहेका छन् । त्यस्ता संस्थाहरुले अझ धेरै अध्ययन गर्नुपर्ने देखिन्छ । हामी अहिले जग्गा प्रशासन सुधारमा लागेका छौं । यसमा सबैले सहयोग गर्नुपर्छ । मालपोत कार्यालयको एकल प्रयासले सुधार सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.