साझाले थप २० नयाँ शहरी बस ल्याउँदै, रक्सौल आइपुगे नयाँ बस

  २०७५ चैत २१ गते १६:०९     विकासन्युज

काठमाडौँ । साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो ।

साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरिद भएकोे हो । उनले भने, “अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाडौँ आइपुग्नेछ ।”

बस काठमाडौँ आइपुगे पछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उनले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले रु पाँच करोड र ललितपुर महानगरपालिकाले रु एक करोड शेयर खरिद गरेका छन् ।

विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो । विभिन्न समस्याका कारण दुई दशकसम्म साझाका सेवा ठप्प भयो । विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरिद गरेर पुनः सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बस अहिले काठमाडौँ उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ ।

साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा फैलाइरहेको जनाएको छ । साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा छ । साझाले काठमाडौँदेखि बागलुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुईदुई बस समेत सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.