७ अर्ब निक्षेप बढ्दा कर्जा वृद्धि १७ अर्ब, सीसीडीमा थप चाप पर्नसक्ने

  २०७५ चैत २१ गते १२:३०     विकासन्युज

काठमाडौं । डेढ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ७ अर्ब बचत परिचालन वृद्धि गर्दा १७ अर्ब बराबरको ऋण प्रवाह गरेका छन् । माघ महिनामा देखिएको निक्षेप र कर्जाको असन्तुलको गतिलाई कायमै राख्दै निक्षेप र कर्जाको अवस्था क्रमशः २६८६ अर्ब २४०७ अर्ब पुर्याएको हो । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार फागुन ३ गते बैंकहरुको निक्षेप २६७९ अर्ब र कर्जा ३१९१ प्रवाह गरेका थिए ।

असार मसान्तको वास्तविक अवस्थाको आधारमा चैतको मध्यसम्म बैंकहरुले अघिल्लो वर्षको तुलनामा २१६ अर्बको निक्षेप संकलन गरीे २९६ अर्ब कर्जा प्रवाह गरेको नेपाल बैंकर्स एशोसियसनको तथ्याङ्कमा उल्लेख छ । यो भनेको करिब ८० अर्बको अन्तर हो । बैंकहरुले सामान्यतया निक्षेपको ८० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्था मान्ने हो भने बैंकहरुले २१६ अर्ब निक्षेप परिचालन वृद्धि गर्दा १७२ अर्ब मात्रै ऋण दिन पाउँथे । यो आधारमा बैंकहरुको कर्जा विस्तारमा १२४ अर्बको असन्तुलन देखिएको हो ।

यस्तो अवस्था आउनुमा बैंकहरुको साउन भदौ, असोज र माघ महिनाका गतिविधि प्रमुख कारक छन् । साउन महिनामा १४ अर्ब निक्षेप घट्दा ४ अर्ब कर्जा बढाएका बैंकहरुले भदौमा ४७ अर्ब निक्षेप संकलन र ५९ अर्ब कर्जा प्रवाह वृद्धि गरेको थिए । असोज महिनामा झन् २१ अर्ब निक्षेप र ७२ अर्ब कर्जा प्रवाह वृद्धि भएको थियो । यही कारणले बजारमा लगानीयोग्य पुँजीको अभाव हुँदा बैंकिङ क्षेत्रको व्याजदर आकाशिएको थियो ।

राष्ट्र बैंकको ‘करेक्टिभ एक्सन’सँगै कात्तिक, मंसिर र पुस महिनामा बैंकहरुको असन्तुलित कारोबारको अवस्थामा सुधार आए पनि माघ महिनामा सो अवस्था पुन: दोहोरिएको थियो । कात्तिकमा ४३ अर्ब निक्षेप र ३७ अर्ब कर्जा विस्तार हुँदा मंसिरमा ५४ अर्ब र ३१ अर्ब तथा पुसमा ३०/३० अर्बको निक्षेप र कर्जाको आकार विस्तार भएको थियो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको भारित औसत सीसीडी अनुपात ८०.९५ प्रतिशत थियो । फागुन महिनाका बैंकहरुको अवस्थाले यसमा झन् चाप पर्नसक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.