राष्ट्र बैंकले मार्जिन कारोबारको बाटाे खोल्यो, ११ ब्रोकर स्वीकृतिकाे पर्खाइमा

  २०७५ चैत १४ गते १८:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर बजारमा मार्जिन कारोबार सञ्चालन गर्ने प्रक्रिया खुला गरिदिएको छ । बिहीबार एक निर्देशन जारी गर्दै बैंकले ब्रोकरहरुले नेपाल स्टक एक्सचेञ्जको सिफारिसमा आफ्नो स्वीकृति लिएर त्यस्तो कारोबार सञ्चालन गर्न पाउने व्यवस्था गरेसँगै मार्जिन कारोबारको लागि बाटो खुला भएकाे हो ।

बैंकले मार्जिन काराेबारकाे लागि  व्यवस्था गरे पनि यसअघि भनिएजस्तै नेपाल राष्ट्र बैंकको स्वीकृति बिना भने ब्राेकरहरुले मार्जिन कारोबार गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशनमा भने नेपाल राष्ट्र बैंकलाई मार्जिन कारोबारबारे जानकारी मात्रै गराउनु पर्ने व्यवस्था रहेको थियो । तर, नेपाल राष्ट्र बैंकले भने त्यसका लागि आफुबाट स्वीकृति लिनै पर्ने शर्त तेर्स्याएकाे हाे ।

बिहीबारकाे निर्देशन अनुसार नेपाल राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डको नीति अनुरुप मार्जिन कारोबार सञ्चालन गर्ने भएपनि त्यसको लागि राष्ट्र बैंकको निर्देशन आवश्यक पर्ने जनाएको छ । यसका लागि राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकारको प्रयोग गरेको समेत प्रष्ठ पारेकाे छ ।

स्वीकृतिका लागि ११ ब्रोकर नेप्सेमा

धितोपत्र कारोबार सञ्चालन अनुमति पाएका ५० ब्रोकरहरु मध्ये ११ ओटा कम्पनीले नेपाल स्टक एक्सचेञ्जमा मार्जिन कारोबार सञ्चालनका लागि अनुमति मागेका छन् । नेप्सेका अनुसार उक्त संख्यामा धितोपत्र दलाल व्यवसायीहरुले कारोबारका लागि अनुमति माग गरेकोमा सबैले आवश्यक कागजात समेत पूरा गरी स्वीकृतिको अन्तिम तयारीमा रहेको जानकारी दिएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मंगलबार ती ब्रोकरहरुको स्वीकृति प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै नेपाल राष्ट्र बैंकले मार्जिन कारोबार बारे स्पष्ट पारेपछि प्रक्रिया अघि बढ्ने बताएका थिए । नेपाल राष्ट्र बैंकको बिहीबारको निर्देशनसँगै यो प्रक्रिया अघि बढ्ने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.