अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमाः भारतीय प्रधामन्त्री मोदी

  २०७५ चैत १३ गते १३:४९     विकासन्युज


नयाँदिल्ली । भारतले पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका छन् ।

भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गरे । संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ ।

टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएका छन् । यो भारतका लागि गर्वको क्षण हो ।” भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा थियो ।

प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको बताए । यो कुनै मुलुकप्रति लक्षित पनि नभएको उनले स्पष्ट पारे । भारतीय लोकसभाको चुनाव आउनै लागेको अवस्थामा यस्तो घोषणा गरिएको छ ।

प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । भारतमा यही अप्रिल ११ देखि मतदानका कार्यक्रमहरु शुरु हुँदैछन् र यो करिब छ हप्ता चल्नेछ । करिब ९० करोडले यसपटक मतदानमा भाग लिने अपेक्षा गरिएको छ ।रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.