संसारभरि ७३७ म्याक्स मोडलका विमान उडानमा रोक

  २०७५ फागुन ३० गते १५:२४     विकासन्युज

काठमाडौँ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमानहरूमा उडान रोक लगाएको छ । यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानहरूले अर्को निर्णय नभएसम्म उडान गर्ने छैनन् ।

अमेरिकी उड्डयन नियामक निकायले गत आइतवार उक्त मोडेलको एउटा विमान दुर्घटना भएको इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि त्यस्तो निर्णय लिइएको बताएको छ । भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट सङ्कलित पछिल्ला केही विवरणपश्चात् यस्तो निर्णय लिइएको अधिकारीहरूले बताएका छन् । यसअघि अमेरिकी सङ्घीय उड्डयन प्रशासनले उडानहरू रोक्ने आधार नभेटिएको बताएको थियो ।

बुधवार भने उक्त निकायका कार्यवाहक प्रशासक डेनियल इल्वेलले भनेका छन्, –हामी सबै यो कुरामा स्पष्ट भएका छौँ कि दुर्घटना भएको इथियोपियन एअरलाइन्सले लिएको बाटो र उसको व्यवहार लायन एयरको जस्तै थियो । जमिनमा पाइएका प्रमाणले पनि त्यस्तै देखायो ।सोही मोडेलको लायन एयरको विमान पाँच महिनाअघि इन्डोनेशियामा दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए ।

उजुरी
यसअघि राष्ट्रपति ट्रम्पले दुर्घटनास्थल र अन्यत्रबाट प्राप्त विवरण एवम् उजुरीका आधारमा आपत्कालीन आदेश दिन लागेको बताएका थिए । गत वर्षको अन्त्यतिर केही अमेरिकी पाइलटहरूले उक्त विमानलाई उडाउने बेलामा नियन्त्रण गर्न समस्याहरू भएको उजुरी गरेका थिए । बोइङले भने उक्त मोडेलको विमानको सुरक्षामा आफू सुनिश्चित रहेको बताएको छ ।

उडानहरू रोक्नुलाई भने उसले ुनिकै उच्च स्तरको सावधानीु अपनाएको बताउँदै मानिसहरूलाई पुनः आश्वस्त पार्न चाहेको जनाएको छ ।यसअघि नै ब्रिटेन, युरोपेली सङ्घ, चीन, अस्ट्रेलिया र भारत लगायतका देशले आफ्ना विमानसेवामा उक्त मोडलको जहाजलाई उड्न रोकिसकेका थिए । सो मोडलको विमान सन् २०१७ देखि मात्रै व्यावसायिक उडानमा प्रयोग हुन थालेको हो । बोइङको वेबसाइटका अनुसार १६ वटा वायुसेवा कम्पनीले सो मोडलका विमानहरू किनेका छन् ।(बीबीसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.