चैत १४ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै, ३ सय भन्दा बढी स्टल रहने

  २०७५ फागुन १२ गते १५:३४     विकासन्युज


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चैत १४ देखि १८ गतेसम्म आठौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । राजधानीको भृकुटी मण्डपमा हुने मेला “नेपाली वस्तुको प्रवद्र्धन समृद्ध नेपाल निर्माण” भन्ने मूल नारा सहित आयोजना गरिएको महासंघले आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले ‘नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न तथा स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गरी समग्र मुलुकको अर्थतन्त्रलाई उकास्न मेलाले सघाउ पुग्ने बताइन् । मेला आयोजना गर्न वाणिज्य मन्त्रालयले सहयोग गर्ने भएको छ भने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रवद्र्धन गर्ने भएको छ ।

महासंघको अनुसार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको ३ सयभन्दा बढी स्टल रहनेछ । सार्क मुलुकका देशहरु सहित चीन, थाइल्याण्ड, मलेशिया लगायतका देशहरूको सहभागिता रहनेछ । मेलामा मुख्य आकर्षण हस्तकलाका उत्पादनहरू, एनटीआइएसका प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रियाको व्यवस्था गरिने जनाइएको छ ।

हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन, शिक्षा तथा निर्माण सम्बन्धी छुट्टाछुट्टै स्टलहरु राखिने आयोजकले जानकारी दिएको छ । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल हुने सो मेलाको स्वदेशी र विदेशी गरी करिव २ लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० वटा र मेलामा नेपाली हस्तकला र एनटीआईएस बस्तुहरूको ५० वटा स्टल बुकिङ भैसकेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.