इन्धनकाे पैसा नतिरेपछि मयुरकाे बस समातियाे, किस्ता तिर्न बैंककाे ताकेता

  २०७५ माघ २९ गते १४:५०     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात समितिहरूकाे सिन्डिकेट अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेर चर्चामा आएको मयुर यातायातकाे व्यवस्थापनमा समस्या देखिएकाे छ । मयुर यातायात प्राइभेट लिमिटेडले बसहरू खरिदहरूकाे किस्ता र खर्चहरू समयमै तिर्न नसक्दा बसहरु धमाधम समातिन थालेका छन् ।

हामा आयल प्रा.लि.ले कब्जा गरेकाे बस

इन्धन भरेको रकम समयमै तिर्न नसकेपछि स्वयम्भूस्थित हामा आयल प्राइभेट लिमिटेड (हामा पेट्राेल पम्प) ले मयुरकाे एउटा बस समातेर राखेकाे छ । उक्त पेट्राेल पम्पले मयुरको बा ५ ख १५३७ नम्बरको बस नियन्त्रणमा लिएकाे हाे । १६ लाख रुपैंया बक्यौता रकम नतिरेपछि बस पक्राउ गर्न परेको पम्पले जनाएको छ । पेट्राेल पम्पका अनुसार मयुर यातायातका ४४ वटा बसले हामामा नियमित इन्धन भर्दै आएको थियो, तर उधारोमा भरेकाे तेलकाे पैसा नतिरेपछि बस नै समात्नु परेको पेट्राेल पम्प स्राेतले जानकारी दिएकाे छ । मयुरले समयमै रकम नतिरे अन्य बसहरु पनि समात्ने पम्पले जनाएको छ ।

उता, सवारी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ  प्रा.लि.ले कम्पनीका ९ वटा बस जफत गरेको छ । किस्ता समयमै नतिरेपछि कम्पनीले बस जफत गरेको हो । ट्रेडिङका सिनियर अफिसर कृष्ण चन्दले सवारी मर्मतको रकम रोकिएपछि बस कम्पनीले समातेको बताए । चन्दका अनुसार केहि बसहरु लगिसकेको छ भने केहि बस कम्पनीमै रहेको छ । प्रा.लि.ले विवाद मिलाएर बस निकाल्ने प्रयास गरिरहेको छ ।

पम्प र बिक्रेता कम्पनी मात्र नभएर मयुर बैंककाे समेत ताराे बनेकाे छ । मयुरले बैंकबाट लिएकाे ऋणकाे किस्ता समेत नियमित रूपमा तिर्न नसकेपछि बैंकले किस्ता तिर्न ताकेता गरेकाे हाे । कम्पनीले नयाँ बस किन्नका लागि माछापुच्छ्रे बैंकबाट ५ करोड भन्दा बढी रकम लिएको बताइएकाे छ । तर बैंकमा पनि निरन्तर किस्ता तिर्न नसकेको बैंक स्रोतले विकान्युजलाई जानकारी दियाे । किस्ता रकम समयमै नआए धितोमा रहेको बस नै कब्जा गर्ने रणनीति बैंकले लिएको छ ।

मयुर यातायातमा मोहन श्रेष्ठ, गोपाल कुमार थापा लगायत गैरआवासीय नेपालीहरुको लगानी रहेको छ । बलिया लगानीकर्ता र यात्रुकाे राेजाइमा पर्न सफल भए पनि यातायातमा खर्च प्रणालीमा व्यवस्थापन गर्न नसक्दा मयुरमा समस्या आएको बताइएको छ । केही शेयरधनीको खराब गतिविधिको कारण यातायात समस्यामा परेको बताइएको छ ।

यातायात क्षेत्रमा १ नम्बर कम्पनी बन्ने दाबी गर्दै आएको प्रा.लि.का अध्यक्ष मोहन श्रेष्ठ पछिल्लो समय सम्पर्कविहीन छन् । उपत्यका सहित देशभर यातायात सेवा विस्तार गर्ने रणनीति लिएको यातायात प्रा.लि.ले इलेक्ट्रिक बस समेत सञ्चालन गर्ने तयारी गरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.