मुद्दाको फर्छौटमा बीमा समितिको सक्रियता, ६ महिनामै ४० उजुरीमाथि कारबाही

  २०७५ माघ २९ गते १२:४७     विकासन्युज

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बीमा समितिले दाबी भुक्तानीसँग सम्बन्धित ४० वटा मुद्दाको सुनुवाई गरेको छ । बीमा समितिमा चालु आर्थिक बर्षमा दायर भएका ४९ वटा र अघिल्ला आर्थिक बर्षका ८३ गरी कुल १३२ मुद्दाहरु मध्ये उक्त परिमाणको मुद्दाको सुनुवाई भएको हो । आर्थिक बर्ष ०७३/०७४ र ०७४/०७५ मा गरेर ८३ वटा मुद्दा दायर भएका थिए ।

पछिल्लो समय बीमा समितिले मुद्दा फर्छौटमा सक्रियता देखाएको छ । गत आर्थिक बर्ष तथा सो भन्दा अघिल्ला आर्थिक बर्षहरुकै मुद्दा चाङ लागेर बसेको अवस्थामा समितिको अग्रसरता बढाएको हो । सुनुवाई भएका २ वटा मुद्दामा आदेश जारी गरिएको छ । आवश्यक प्रमाण नपुगेको मुद्दालाई समितिले आदेश जारी गर्ने गर्छ । आदेश जारी गरिसकेको मुद्दामा प्रमाण जुटेमा सो मुद्दा फेरि फैसलाको प्रकृयामा जाने जाने निमित्त कार्यकारी निर्देशक पौडेलले बताए ।

बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले भने– ‘बीमितले बीमा कम्पनीसँग पोलिसि किन्ने गर्छन् यसरी किनेको पोलिसीमा आफूलाई अन्याय भयो भन्ने लागेमा उनीहरुले हामी कहाँ उजुरी ल्याउँछन् । आएका उजुरीहरुउपर कारबाही गर्ने र सकेसम्म मुद्दाको संख्या घटाउँदै लैजान समिति लागिपरेको छ ।’

पौडेलले आफूहरु नियामक भएकाले यसरी उजुरी आउनु सामान्य कुरा भएको बताए बताउँदै मुद्दा दायर गर्ने क्रम बढ्दा समितिलाई नियमन सहज हुने र कम्पनीका कारणले हुने अनियमितता रोकिन मद्दत पुग्ने बताए । आएमा मुद्दाहरुको फर्छौट समयमा नहुँदा यसले अनियमिततामा थप बल पुग्नसक्ने भएकोले समितिले यसमा जोड दिएको उनको भनाई थियो ।

उनले बीमितहरुले गरेको मागदाबी कम्पनीले अस्वीकृत गरेको अवस्थामा कम्पनीको निर्णय चित्त नबुझे बीमितलाई समितिमा उजुरी दिन आग्रह गर्दै यसले बिमितमा बीमा क्षेत्रप्रतिको विश्वास बढाउन सहयोग पुग्नुका साथै बीमा कम्पनीहरुको गुडबिल बढ्ने बताए ।

कसरी गर्ने उजुरी ?

बीमा क्षेत्रमा कसैलाई आफूमाथि अन्याय भएको छ भन्ने लागेमा उजुरी गर्न पाइन्छ । यसरी उजुरी दर्ता गर्नकोलागि बीमा समितिले उजुरी शाखाको समेत व्यवस्था गरेको छ । उजुरी शाखामा दर्ता भएका कतिपय मुद्दाहरु पीडितको मेलमिलाप भएमा रद्द समेत हुने गरेका छन् । कतिपय मुद्दाको प्रमाण केलाउने क्रममा समेत सहमति जुटने गरेको बीमा समितिले जनाएको छ ।

यो आर्थिक बर्षको मुद्दा भने बीमा समितिले कुनै पनि फर्छौट गरेको छैन । आवश्यक परेको खण्डमा मात्र अघिल्ला आर्थिक बर्षको मुद्दा छाडेर तत्कालिन मुद्दामा जाने समितिले बताएको छ । बीमा समितिले जटिल प्रकृतिको मुद्दाहरुलाई प्राथमिकता दिने गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.