बीमाको पहुँच १६ प्रतिशत पुग्यो, ग्रामीण क्षेत्रमा पुग्दैछन् बीमा कम्पनी

  २०७५ माघ ९ गते १२:०७     नबिन पोखरेल


काठमाडौं । बीमा पहुँच १६ प्रतिशत पुगेको छ । आर्थिक बर्ष ०७२/०७३ मा बीमा १० प्रतिशत मात्र रहेको थियो । ३ वर्षपछि आर्थिक वर्ष २०७५/०७६ को ६ महिनाको अवधिसम्म बीमा पहुँच १६ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । बीमा पहुँचको दर अघिल्लो वर्षको तुलनामा आर्थिक बर्ष ०७३/०७४ मा एक प्रतिशतले बढेर ११ प्रतिशत पुगेको थियो । यस्तै, आर्थिक बर्ष ०७४/०७५ मा पेनेट्रेसन दर ३ प्रतिशतले बढेर १४ प्रतिशत पुगेको थियो । पेनेट्रेसन दर बढ्ने क्रम रहेको छ ।

बीमाको पहुँच बढेसँग बीमालेख संख्या पनि बढ्दै गएको छ । आर्थिक बर्ष ०७२/०७३ मा जम्मा बीमा लेख सङ्ख्या ३२ लाख ४९ हजार ८ सय ७९ रहेको थियो । आर्थिक बर्ष ०७३/०७४ मा जम्मा यो संख्या ३५ लाख ६८ हजार १ सय ९६ कायम रहयो । यस्तै, आर्थिक बर्ष ०७४/०७५ मा बीमालेख सङ्ख्या ४५ लाख ७२ हजार १ सय ४३ कायम रहेको छ । बीमा समिति भन्छ–हाल सो सङ्ख्या बृद्धि भईरहेको छ । पछिल्लो तथ्याङ्क सार्वजनिक हुने तयारी भइरहेको बीमा समितिले जनाएको छ ।

गत असार मसान्तसम्म १४ प्रतिशत कायम रहेको बीमा पहुँच पछिल्लो ६ महिनामा २ प्रतिशतले बढेको छ । बीमा समितिले कार्यक्रम वृद्धि गरेसँगै बीमाको पहुँचपनि बढेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईका अनुसार–‘पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा बीमा पेनेट्रेसन १६ प्रतिशत रहेको छ ।’ यसरी बीमाको पहँुच बढ्नुमा बजार प्रतिष्पर्धात्मक रहनु र अभिकर्ताको आन्दोलनको सम्बोधन हुनु मुख्य कारण रहेको अध्यक्ष चापागाईँले बताए ।

ग्रामीण क्षेत्रमा भएको बजार बिस्तार तथा बीमा कम्पनीहरुको क्रियाशीलताका कारण पहँुच वृद्धि भएको उनको भनाई छ । पछिल्ला २ वर्षमा बीमाका बारेमा प्रवाह भएको सकारात्मक सन्देशले पनि पहुँच बृद्धिमा भूमिका खेलेको छ । ‘जीवन बीमातर्फ कम्पनी बृद्धि हुनुले पनि पहुँच अभिबृद्धि भएको होे’-बीमा समितिका सहायक निर्देशक प्रदीप गौतमले बताए । बीमा समितिले सात प्रदेशमा नै आफ्नो कार्यक्रम विस्तार गरेका कारण बीमा पेनेट्रेसन बढ्को हो-उनले भने ।

बीमा कम्पनी संख्या ३९ पुग्यो
हालसम्म बीमा समितिबाट इजाजत लिई सञ्चालनमा रहेका बीमा कम्पनीहरु ३९ रहेका छन् । जीवन बीमातर्फ हाल १९ कम्पनी रहेका छन् । पछिल्लो समय महालक्ष्मी जीवन बीमा कम्पनी थपिएको हो । निर्जीवन बीमातर्फ भने २० वटा कम्पनी रहेका छन् । यसैगरी पुनर्बीमातर्फ भने एक मात्र नेपाल पुनर्वीमा कम्पनी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.