बीमा किन गर्ने, के छन् फाईदा ?

  २०७५ माघ ७ गते १७:४०     भोजराज शर्मा


बीमा भनेको भविष्यमा हुने जोखिमको अग्रिम सुरक्षा गर्ने प्रक्रिया हो । यो प्रक्रिया दुईपक्ष बीचमा गरिने करार हो । जसमा एकपक्षको क्षति हुँदा अर्को पक्षले त्यसको क्षतिपूिर्त व्यहोर्छ । यसलाई बीमाको कानुनी परिभाषा मान्दा हुन्छ । सामाजिक रुपमा बुझ्दा बीमा भनेको गुठी बराबर हो । जसमा सबैको योगदान रहन्छ र आवश्यकतामा काम लाग्छ । जस्ले प्रिमियम तिर्छ, उस्को भविष्यको सुरक्षा हुन्छ । बीमा गर्नेहरु नै एक अर्काका सहयोगी जस्ता हुन्छन् ।

धेरैबाट जम्मा गरेर थोरैलाई दिने कुरापनि बीमाको विशेषता भित्रै पर्छ । बीमा भनेको जोखिमलाई सार्ने हो । यहीँ अर्थमा पनि बीमा भनेको जोखिम हस्तान्तरण हो । बीमाले जोखिम न्यूनीकरण गर्ने नभई हस्तान्तरण गर्ने कार्य गर्दछ ।

बीमा किन गर्ने ?
जीवनमा जोखिमहरु आउने भएकाले बीमा गर्नुपर्छ । जोखिमले हामीलाई सधैँ जसो पिरोलिरहन्छ । यस्ता जोखिमबाट बच्न नसकिने भएकाले आफूलाई सकेसम्म सुरक्षित राख्न बीमा आवश्यक छ । हाम्रो जीवनमा सधैँ एकनास हुँदैन । जीवन धरापमा परेको बेलामा बीमा हाम्रो सहयोगी हुन्छ ।

जीवन मात्र नभई सम्पत्तिपनि जोखिममा पर्छ । यस्ता जोखिमका कारणले हामी त्रसित र ग्रसित जीवन बिताउन बाध्य हुन्छौँ । भूईँचालोले घर भत्काउन सक्छ, आगो लाग्न सक्छ, बाढी पहिरोले हामीलाई सताउन सक्छ । यस्ता विपत्तको बेलामा पुनस्र्थापना हुन पीडितको क्षमताले भ्याउँदैन । यही जोखिमबाट बच्न बीमा गर्न आवश्यक हुन्छ । हामीले पोलिसी किनेपछि कम्पनीले हामीलाई सुरक्षा दिन्छ ।

घरको कमाउने मान्छे बिरामी हुँदा परिवारका अन्य सदस्यको बिचल्ली हुन्छ । खेतबारीमा सुख्खापन आउँदा, किरा लाग्दा बर्षभरीको अन्नबाली समेत जोखिममा पर्ने गर्छन् । यस्तै कारणले गर्दा बीमा गर्नु आश्यक छ ।

के छन् बीमामा फाईदा ?
बीमामा अनेकौं फाईदाहरु रहेका छन् । यसलाई शब्दमानै व्याख्या गर्दा जोखिम विरुद्धको सुरक्षण बीमाको राम्रो पक्ष हो । हामीले बीमा गरेपछि एक किसिमको ढुक्क हुने वातावरण पाउछौँ । यो पनि बीमाको सुन्दर पक्षमा पर्छ ।

बीमा चेतनाको स्तर कस्तो छ ?
बीमा चेतनाको स्तर हालसम्म सुधारमूलक अवस्थामा नै रहेको छ । कतिपयलाई अझैपनि बीमाका बारेमा थाहै छैन । बीमा गर्न चाहनेले पनि सुविधाका बारेमा राम्रो जानकारी नलिएको पाइन्छ । जोखिमपूर्ण कतिपय ठाउँमा समेत बीमा नगरेको उदाहरण हामी कहाँ धेरै छन् । यी कुराहरु बीमाका समस्याका रुपमा रहेका छन् ।

बीमा बुझाउनलाई के गर्नु भएको छ त ?
यहीँ माघ १ गतेदेखि बीमा समितिले नयाँ निर्देशिका लागू गरेको छ । सो निर्देशिकामा बीमामा अनिवार्यताका केही शर्तहरु थप गरेको छ ।
हामीले जनहितका लागि भनेर नै हामीले अग्नि बीमा तथा भुकम्पको बीमामा अनिवार्यता गरेका छौं । यसरी बीमालाई अनिवार्य गर्दा आवश्यक बेलामा पीडितले त्यसको लाभ उठाउन सक्छन् । सर्वसाधारणको हितलाई नै मध्यनजर गरेर बीमा सम्बन्धी यस्ता योजना आउने गरेका छन् ।

बीमा बाध्यकारी हुनु कस्तो कुरा हो ?
बीमालाई बाध्यकारी बनाउनु रामो कुरा होईन । यसमा हामीले करलागी तथा जबरजस्तीका काम गर्न मिल्दैन र गरेका छैनौँपनि । कुरा के हो भने अग्नि तथा भुकम्प जस्ता कुराको बीमा गर्दा त्यसले जनताको हित नै गर्छ । यसरी हित गर्ने कुरा बाध्यता भन्दा आवश्यकताको कुरा हो । चेतनाको स्तरमा वृद्धी गरेर तथा बीमा तालिम सञ्चालन गरेर बीमामा सहभागिता बढाउन सकिन्छ । व्यक्तीले आफैंले बुझेर बीमामा पोलिसी किन्ने हो । बीमा समितिले सामाजिक सुरक्षाको दृष्टिकोणका आधारमा बीमाका पोलिसी अनिवार्य गरेको हो । बीमाका आफ्नै सुन्दर पक्ष रहेकाले हामीले यसको बारेमा अध्ययन, अनुसन्धान गरेर कम्पनीलाई जोखिमको हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।
(बीमा विज्ञ शर्मासँग विकासन्यूजका लागि नबिन पोखरेलले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.