नेपाल देवदेवताले माया गरेकाे देश हाे, तर नीति र प्रकियाले पछाडि धकेल्याे

  २०७५ माघ ५ गते ६:५५     सुधीर मित्तल

श्री एयरलाईन्सका कार्यकारी अध्यक्ष सुधीर मित्तल नेपालको व्यवसायिक जगतले निकै महत्व दिएर हेरिरहेका व्यवसायी हुन् । उनी चार वर्षअघि विश्व बैंकको आकर्षक जागिर छाडेर पुर्खाको बिँडो थाम्न व्यवसायिक यात्रामा होमिए । बुवा बनवरीलाल मित्तलले हेलिकप्टर व्यवसायमा हासिल गरेको सफलतामा छोरा सुधीरले नयाँ इँटा थप्दै हवाई सेवा विस्तार गरेका छन् । आन्तरिक उडानको प्रतिष्पर्धामा खरो रुपमा उत्रिएको श्री एयरलाईन्सले अहिले अन्तर्राष्ट्रिय उडानका लागि सरकारको अनुमति पर्खिरहेको छ ।


मैले आफ्नो जीवनको लामो समय विश्व बैंकमा बिताएँ । अहिले एउटा कम्पनी सञ्चालन गरेर बसिरहेको छु । नेपालमा हेर्ने हो भने जुन क्षेत्रमा पनि अवसर नै अवसर रहेको पाउन सकिन्छ । कृषि, जलस्रोत, पर्यटन सबै क्षेत्रमा राम्रो अवसर रहेको छ । हामीले २ ठूला देशका अर्बौ जनसंख्यालाई आधार मानेर उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने ठूलो सम्भावना रहेको छ ।

हामीले भू–परिवेष्ठित मुलुक भनेर तल पर्नुपर्ने कारण केही छैन । नेपाल भन्दा धेरै भू–परिवेष्ठित स्थान भारत र चीनकै प्रान्तहरु रहेका छन् । हामी समुद्र तहबाट जति टाढा छौं, उनीहरुको प्रान्त त्यति नै टाढा रहेको छ । त्यहाँ उद्योग हुने नेपालमा नहुने कुरा नै भएन । यो देशमा २ कुरा उद्योगका लागि बाधक रहेका छन् । एउटा नीतिगत झमेला । यो देशमा एउटा उद्योग खोल्नु पर्यो भने रिङ रोड भन्दा धेरै घुम्नु पर्छ । यहाँ ब्युरोकेसीले पनि नियम र कानूनलाई त्यसरी नै घुमाइरहेका हुन्छन् । अर्को ज्ञानको कमी । नबुझेर पनि यो क्षेत्रमा मानिसहरुले दुःख पाइरहेका हुन्छन् । यसरी एउटा प्रक्रियागत झन्झट अर्को नीतिगत समस्याले लगानी क्षेत्रको प्रगति हुन सकिरहेको छैन ।

हामी कहाँ प्रक्रियाको कुरा गर्ने हो भने रिगटा लाग्छ । प्रक्रियाको कुरा कसैले पनि बुझेका पनि छैनन् । हामीले २ अर्ब भन्दा बढीको उद्योग खोल्नु पर्यो भने उद्योग विभागले स्वीकृति दिनुपर्छ । यसका लागि ४ देखि ५ महिना लाग्छ, यो हाम्रो देशको लागि स्वभाविक नै भैसक्यो । उद्योग विभागले स्वीकृति दिइसकेपछि फेरी राष्ट्र बैंकमा निवेदन दिनुपर्छ, विदेशी मुद्रा भित्र्याउन । अब विदेशी लगानी स्वीकृति भैसकेको छ, फेरी मुद्रा भित्र्याउन बैंकको स्वीकृति लिनुपर्छ । त्यसमा ३ देखि ५ महिना लाग्छ । राष्ट्र बैंकको स्वीकृति पछि पुनः पैसा ल्याएपछि राष्ट्र बैंकमा लेखाङ्कन गराउनु पर्छ । यदि त्यो गराएन भने लगानीकर्ताले पछि रकम लैजान पाउँदैन ।

अहिले उद्योग विभागमा एउटा गर्भनिङ ल भन्ने छ । यसमा नेपालकै कानून हुनु पर्छ भनिएको छ । यो गर्भनिङ ल भनेको भोलि कुनै विवाद भयो भने त्यो बेला मुद्दा लड्ने एउटा कानून हो । त्यो किन नेपाल कै हुनुपर्ने ? उदाहरणका लागि विदेशी कम्पनीले सिंगापुरको कानून मान्छु भनेर भन्छ भने उसलाई मान्नु दिनुपर्छ । खर्च धेरै लाग्छ भनेर विदेशी कानून लागू गर्न नपाउनु त हास्यास्पद कुरा हो । कर्मचारी कुरै नबुझी यस्ता कुराहरुमा अल्झिरहेका छन् । नेपाली कम्पनीले नेपालको कानून मान्नुपर्छ । तर, विदेशी कम्पनीले किन मान्छ ? मैले विश्व बैंकमा रहँदा १०० वटा भन्दा बढी प्रोजेक्टहरुमा काम गरेको छु । यो सबै न्यूयोर्क कानून अनुसार लागू हुन्छ । यस्ता कुराहरु नेपाली ब्युरोकेसीले बुझ्दैनन्, अनि समस्या हुन्छ ।

यस्ता समस्या बुझेर वा नबुझेर आइरहेका हुन्छन् । यी कुरामा सुधार गर्न सकियो भने धेरै समस्याको समाधान हुन्छ । सर्वप्रथम नेपालमा कानूनी प्रक्रिया र नीति स्पस्ट हुनु पर्यो । विदेशी लगानीकर्ताले त सबैभन्दा पहिले नीति कै अध्ययन गर्छ । मैले यो क्षेत्रमा यति लगानी गर्यो भने यति प्रतिफल पाउन सक्छु । यो नीतिबाट यति रकम कमाउन सक्छु भनेर उनीहरुले अध्ययन गरिरहेका हुन्छन् । यदि नीति नै कमजोर भयो भने यसबाट देशले गुमाउनु पर्ने कुरा धेरै हुन्छ, पाउने कुरा भन्दा पनि ।

वैदेशिक लगानीकर्ताको बारेमा हाम्रो समुदायमा नकारात्मक कुरा गर्नु दुर्भाग्यको कुरा हो । त्यसबाट कति व्यक्तिलाई रोजगारी मिलिरहेको छ । राष्ट्रले कति आम्दानी गरिहेकोे छ, त्यसको पनि त मूल्याङ्कन गर्नु पर्यो । उसले नेपालमा शुरुमा लगानी गर्दा त ठूलो जोखिम लिएरै लगानी गरेको हुन्छ । हाम्रो समाजमा किन सकारात्मक कुरा गर्दैनन् । वैदेशिक लगानीकर्ताले कमायो भनेर डाहा गरिन्छ । यो गलत कुरा हो ।
लगानीकर्ताले सबैभन्दा पहिले मैले कति रकमको जोखिम लिने यसबाट कति प्रतिफल लिन सक्छु । कति रकमसम्म जोखिम लिमिट गर्ने र कति नाफा कमाउने भनेर सबै कम्पनीहरुले योजना बनाएका हुन्छन् । कुनै एक चिनियाँ लगानीकर्ता नेपाल आउँदै छ भने उसले यहाँ लगानी गरिरहेको एक उद्योगीलाई सोध्ला अवस्था कस्तो छ भनेर । यदि उसले नेपालको बारेमा नकारात्मक कुरा गर्यो भने त सो मान्छे सिधै नेपालबाट पलायन हुन्छ । लगानीकर्तामा कस्तो खालको सन्देश गैरहेको छ भने मैले प्रक्रिया शुरु गर्दा इजाजत पत्र नपाउने हो कि यसबाट जोखिम झन् बढेर जाने हो कि भन्ने डर लगानीकर्तामा हुन्छ ।

यदि कुनै कम्पनीले पैसा कमायो भने उसले कानून बमोजिम कमाएको पैसालाई किन स्वीकार गर्न नसक्ने ? एउटा कम्पनीले पैसा कमायो भनेर यसलाई कसरी दुःख दिने भनेर सोच्नु दुर्भाग्य हो । यसले लगानीकर्ताहरुमा स्वच्छ प्रतिस्पर्धाको विकास नभई उनीहरुको काम गर्ने उर्जामा परिवर्तन आउँछ ।

मैले गरेको एयरलाइन्स व्यवसायमा धेरै चुनौति छन् । यहाँ धेरै बाधा र व्यवधान रहेका छन् । लगानी धेरै रहेको छ । यहाँ राजनीतिक, समाज र जनता समेत कोही लगानीकर्ता आयो कि यो नाफा कमाउन आयो, यो नाफाखोरी हो भनेर हेयको दृष्टिले हेर्ने प्रचलन रहेको छ । यस्ता सोचले व्यवसायीहरुलाई काम गर्ने उर्जा मिल्न सकेको छैन । उद्यमीप्रति हेर्ने सबैको दृष्टिकोण उत्साहजनक छैन । मुखले सबैले ठिक पार्छन्, तर व्यवहारमा त्यो छैन । हरेक क्षेत्रमा चाहे त्यो कर्मचारी होस् चाहे त्यो नेता होस् । उनीहरुका भनाईमा उद्यमीहरु महान् छन्, उनीहरुले रोजगारी प्रदान गरेका छन्, कर तिरेका छन् । तर, व्यवहारमा त्यस्तो छैन । कर्मचारी कसरी प्रक्रियागत झन्झट बनाउने भन्ने सोच्छन् । राजनीतिक दृष्टि पनि उस्तै रहेको हुन्छ । हरेक क्षेत्रको सोच परिवर्तन हुनु आवश्यक छ ।

मेरो लामो समयको अनुभवले अन्य देशमा पनि यस्तो देखेको छु । तर, नेपालमा चाहि बढी नै हो । जरैदेखि सुधार नभएसम्म देशले निकास पाउदैन । उदाहरणको लागि अमेरिकामा यदि कसैले प्रगति गरेको देख्यो भने उसका लागि सबैले थपडी मार्छन् । उनीहरुको संस्कार उसले गर्न सक्ने भए मैले किन गर्न नसक्ने भनेर आफैं राम्रो गर्ने प्रयास गर्छन् । यहाँ चाहीँ एक जनाले प्रगति गर्यो भने कसरी खुट्टा तान्ने भन्ने विषयमा मात्र कुरा हुन्छ । अरुको सफलतामा सेलिब्रेट गर्ने परिपाटी हाम्रो देशमा भएन । पर्सुयट फर ह्याप्पीनेस भन्ने संस्कार हाम्रोमा निकै कम रहेको छ ।

एउटा अकबर र वीरबलको कथा छ । एकदिन उनीहरु दरबारका मान्छेहरु सहित समुन्द्र किनारमा हिड्दै थिए । यत्तिकैमा उनले किनारको बालुवामा एउटा धर्को ताने र भने यो धर्को नछोइकन कसैले ठूलो बनाउन सक्छ ? सबैजनाले आँट गरेनन्, अनि अकबरले वीरबलाई सोधे तिमी सक्छौं वीरबल । उनले छेउमा त्यो भन्दा लामो धर्को तानिदिए । हामी पनि यो कथाबाट किन नसिक्ने ? एउटा व्यक्तिले ठूलो कार चढ्यो भनेर मैले अब त्यसको भन्दा ठूलो कार किन्नुपर्छ भन्ने कि बन्चरो लिएर गाडी फोर्न जाने । त्यसैले यहाँ संस्कारको विकास हुन सकेन ।

नेपाल देवदेवताले माया गरेको देश हो । यहाँ उद्यमशीलता गर्न सकिन्छ । तर नीति, प्रकिया, प्रणाली, नीतिगत तहमा भएकाे संस्कारले हामीलाइ पछाडि धेकेलेकाे छ । श्री एयरलाईन्सले किनेको ३ वटा जहाज लामो समय त्रिभुवन विमानस्थलमा थन्किदा म निकै हतोत्साहित भएँ । यो मैले मेरो नाफाको लागि मात्र ल्याएको त होइन । यसबाट समग्र देशवासीले फाइदा लिने कुरा हो । एउटा उद्यमीलाई यसले कस्तो किसिमको असर पार्छ त्यो सबैले बुझ्नु पर्ने कुरा हो ।

नेपालका कर्मचारी राम्रापनि छन् । उनीहरु उद्योगीका काम गर्न डराउँछन् । सिधै भन्छन्–यो काम गरेर म फस्ने त होइन । म भन्छु किन डराउने राम्रो काम गर्न । उद्यमशीलता विकासको लागि हामीले दृढ भएर काम गर्नैपर्छ ।

हामीले लगानी गर्दा तत्कालै फल पाइन्छ सोच्नु हुँदैन । इमान्दार भएर काम गर्यौं भने अवश्यपनि फल प्राप्त हुन्छ । सबै नेपालीलाई नेपालको माया छ । तर, हाम्रो समुदायमा स्वार्थले सीमा नाघ्यो । मलाई लाग्छ हामी यति धेरै स्वार्थी हुनु जरुरी छैन । हामी सबै मिलेर अघि बढ्नुपर्छ । एक उद्यमीले अर्को उद्यमीको प्रगतिमा रमाउन सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.