चोभारमा सुख्खा बन्दरगाह निर्माण शुरु, केरुङ र कोलकत्ताका कन्टेनर सिधै आइपुग्ने

  २०७५ माघ ३ गते १३:५५     विकासन्युज


काठमाडौँ । कीर्तिपुर नगरपालिकाको वडा नम्बर ६ चोभारमा सुख्खा बन्दरगाह निर्माणको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा डेढघण्टा सम्म पूजा पाठ गरी सुख्खा बन्दरगाह निर्माणको शिलान्यास गरेका छन् । सुख्खा बन्दरगाह १८ महिनाभित्र निर्माण सम्पन्न हुनेछ । बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो ।

अहिलेसम्म भन्सार जाँचपासको काम सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन् । नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट हुनेछ । यो बन्दरगाह निर्माणपछि चोभार काठमाडौंको महत्वपूर्ण हब बन्नेछ ।बाहिरी चक्रपथ चोभार भएर जाँदैछ भने काठमाडौं–तराई/मधेस जोड्ने द्रुतमार्गलाई पनि चोभारमा लिंक गर्ने योजना छ । चीन र भारतबाट आउने रेललाई पनि चोभारमा जोड्ने योजना रहको छ । केरुङ र कोलकत्ताका कन्टेनर सिधै चोभार आइपुग्ने छन् ।

चोभार बन्दरगाह निर्माणका लागि २ वटा ठेक्का सम्झौता भएको छ । जस अन्तरगत अन्तर्राष्ट्रिय स्तरको निर्माण कम्पनीले सुख्खा बन्दरगाहको मूल भवन, पार्किङ स्थल र गोदाम लगायतका संरचना निर्माण गर्नेछ । त्यसैगरी राष्ट्रिय स्तरको निर्माण कम्पनीले नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यालय भवन एवम् भन्सार सम्बन्धी भवन र अन्य पूर्वाधारहरु निर्माण गर्ने छ ।

पहिलो कामका लागि सान्छी–आशिष जेभी भरतपुर १० ले ठेक्का पाएको छ । १ अर्ब २८ करोड १० लाख ५० हजार ६ सय २४(भ्याट बाहेक) को ठेक्का संझौता ५ जुलाई २०१८ मा भएको छ । ठेक्का सम्पन्न हुने मिति १ फेब्रुअरी २०२० हो । त्यसैगरी दोश्रो कामको ठेक्का लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी नयाँ बानेश्वर काठमाडौँले पाएको छ । २० करोड १४ लाख ८७ हजार ३८ रुपैयाँ बराबरको ठेक्का संझौता ११ जुलाई २०१८ मा भएको छ र ठेक्का सम्पन्न हुने मिति ३१ जनवरी २०२० रहेको छ । सुख्खा बन्दरगाह र समितिको कार्यालय तथा आवास क्षेत्रले कूल ११.७७ हेक्टर क्षेत्रफल ओगट्ने छ ।

के कस्ता संरचना बन्नेछन् ?
सुख्खा बन्दरगाहमा ५५х२४ मिटरको ५ वटा गोदाम घर निर्माणm हुनेछ । प्रशासनिक भवन २३७७ वर्गमिटको हुनेछ भने सुरक्षा निकाय बस्ने भवन २०० वर्ग मिटरका २ वटा हुनेछन् । त्यसैगरी सवारी नापतौल तथा नियन्त्रण कक्ष हुनेछ । कन्टेर ग्राउण्ड स्लट ६००० वर्गमिटको बनाइनेछ । एक्जिम क्षेत्र ११६ टीइयू स्लट चार तहमा राख्न सक्ने संरचना बनाइने छ । ३०० वटा ट्रक पार्किङ स्थल, ढल प्रशोधन केन्द्र, कूल आयोजनाको ६ प्रतिशत हरियाली क्षेत्र, १३ सय मिटर पर्खाल र फायर फाइटिङ, सीसीटीभी क्यामेरा र सुरक्षाको व्यवस्था गरिने बताइएको छ ।

स्थानीय वासिन्दाको विरोध
सरकारले सुख्खा बन्दरगाह निर्माण शुरु गर्न लागेपनिे स्थानीयले बिरोध गरिरहेका छन् । यो जग्गा सरकारले स्थानीयलाई नै फिर्ता गर्नुपर्ने माग अघि सारेका छन् । यसअघि बन्दरगाह बन्न लागेको स्थानमा हिमाल सिमेन्ट कारखाना थियो । कारखानाले वातावरणीय प्रदुषण गरेको भन्दै सरकारी सिमेन्ट कारखाना नै बन्द भयो ।

सुख्खा बन्दरगाह निर्माणका लागि विश्व बैंकले १ अर्ब ५७ करोड रुपैयाँ सहयोग गरेको छ । बन्दरगाह मै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.