९ सय ६८ टन तरुल काठमाडौं भित्रियो, गतवर्षको तुलनामा सस्तो

  २०७५ पुष ३० गते १७:५१     सुनिता पुडासैनी

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष काठमाण्डौ उपत्यकामा तरुलको आयात बढेको छ । यही पुस महिनामा ९ नौ सय टन तरुल भित्रिएको छ । गत वर्ष पुस महिनामा ६ सय ८७ टन तरुल काठमाडौँ उपत्यकामा भित्रिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

गत बर्षको तुलनामा तरुल आयात ४० प्रतिशतले वृद्धि भएको उपनिर्देशक श्रेष्ठले जानकारी दिए । २०७३ सालमा भने ७ सय टन आयात भएको थियो । माघ १ गते अर्थात माघे संक्रान्तिका दिन तरुल, पिडालु, घ्यू चाकू खाने परम्परा रहेको छ । त्यसकारण पनि बजारमा तरुलको माग बढ्ने गरेको छ ।

तरुल सामान्यतय गत वर्षको तुलनामा १० रुपैयाँको दरले सस्तो भएको छ । नेपालका बारा, चितवन, धादिङ्ग, दोलखा, काभ्रे, गोर्खा सर्लाही, मकावनपुर, पर्सा , नुवाकोट, नवलपरासी, सिन्धुपालचोक, सुनसरी लगायतका जिल्लाबाट काठमाडौं उपत्यकामा तरुलको आयात हुँदै आएको छ । सबै भन्दा बढी यस वर्ष सर्लाहीबाट तरुल भित्रिएको उपनिर्देशक श्रेष्ठले जानकारी दिए ।

विशेषतः तरुलका विभिन्न जात मध्ये घर तरुल, वन तरुल, रातो तरुल, सेतो तरुल, हात्तीपाइले तरुल, पानी तरुल, सिमल तरुल हुन्छन् । सबै भन्दा बढी सिमल तरुलको प्रतिकेजी ३०० रुपैयाँमा बिक्री भइरहेको छ । माघे सक्रान्तिलाई नै लक्षित गरि यसपाली पिडालु १ सय ३५ टन र सक्करखण्ड १ सय ६० टन आयात भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक श्रेष्ठले बताए । माघे संक्रान्तिलाई लक्षित गरि तरुलको बिक्री अत्याधिक हुने गरेको छ । तरुल खाएसँगै चिसो आफैं हराउने विश्वास आम समुदायमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.