आगामी शैक्षिकसत्रदेखि काठमाडौंका संस्थागत विद्यालयको नाम र परिचयपत्र नेपाली भाषामा

  २०७५ पुष २३ गते १४:२५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि उक्त कुरालाई अनिवार्य रुपमा लागु गर्ने जानकारी दिएको छ ।

अङ्ग्रेजी भाषामा विद्यालय र विद्यार्थीको नाम हुँदा आफ्ना छोराछोरी कुन स्कूलमा पढ्छ र उनीहरुको नाम के हो भन्नेमा अभिभावकमा अन्योल रहेको भन्दै यस विषयमा अभिभावकलाई सहज गराउन यस्तो व्यवस्था ल्याएको महानगरका शिक्षा अधिकारी कोइरालाले बताएका छन् ।

शिक्षा अधिकारी कोइरालाले विद्यालयले अङ्ग्रेजीमा पनि लेख्न वा नलेख्नका लागि भने स्वतन्त्र छाडिने जानकारी दिँदै सरकारले अङ्ग्रेजी नाम भएका कलेजका नाम नेपाली भाषा, मौलिक संस्कृति झल्कने खालको नाम राख्न निर्देशन दिए पनि कलेजले उक्त निर्देशन अहिलेसम्म कार्यान्वयन नगरेको बताएका छन् ।

महानगरभित्र ६४० वटा संस्थागत विद्यालयमा शिक्षा समितिबाट निर्णय गरेपछि सोहीअनुसार नेपाली भाषालाई प्रभावकारी कार्यान्वयन गराउनका लागि निजी तथा तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (एनप्याब्सन)लाई निर्देशन दिइने जानकारी गराएका छन् ।

शिक्षकलाई उनीहरुको खातामा तलब खुवाउनका लागि अन्तिम तयारीमा रहेको बताउँदै अब माघ महीनासम्मको तलब उनीहरुको आफ्नै खातामा हाल्ने व्यवस्था गर्ने भएको छ । महानगरले यसअघि विद्यालयमा तलब पठाउने गरेको र त्यहीबाट शिक्षकले तलब खाने गर्दैआएका थिए ।

महानगरमा ९१ सामुदायिक विद्यालयमा एक हजार ८३० शिक्षकहरु रहेका छन् । विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकलाई कुनै वैदेशिक भ्रमण, तालीम, सभा, अवलोकन भ्रमण, खेलकूद, मैत्रीपूर्ण भ्रमण वा स्वदेशमा नै शैक्षिक भ्रमण वा यस्तै कुनै कार्यमा लैजादा शिक्षा विभागको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गर्नसमेत थालिएको शिक्षा अधिकारी कोइरालाले बताएका छन् ।

महानगरभित्रका विद्यालयले विद्यार्थीलाई बस्ने ठाउँ उपलव्ध नगराई भाडामा कोठा दिने गरेकाले कार्यविधि अपनाएर मात्र भाडा दिने व्यवस्था गर्न र कोठा भाडामा लगाएर टेन्टमा विद्यार्थी पढाउने गरेको पाइएमा प्रधानाध्यापकलाई कारवाहीसमेत गरिने जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.