ब्याजदर बढाउँदै राष्ट्र बैंकको मुख ताक्दै बैंकहरु, नबिलले १३ प्रतिशत दिँदा अरुलाई पनि चटारो

  २०७५ पुष ३ गते ८:१९     विकासन्युज

काठमाडौं । ब्याजदर बढाउने दौडमा नेपालकै वाणिज्य बैंकहरुमध्ये उत्कृष्ठ दाबी गर्ने वाणिज्य बैंकहरु समेत अग्रसर देखिएका छन् । तुलनात्मक रुपमा कमजोर मानिएका बैंकहरुको पदचाप पछ्याउँदै हिमालयन बैंकले सोमबार मासिक ब्याज भुक्तानीमा वार्षिक १३ प्रतिशत ब्याज दिने बताउँदा मंगलबार नबिल बैंकले पनि सोही ब्याजदर र भुक्तानी प्रकृतिको मुद्धतीमार्फत् निक्षेप उठाउने प्रस्ताव गरेको छ ।  नबिलले ऋण अवधि १ देखि २ बर्षलार्इ ताेकेकाे छ भने शाखा प्रबन्धकले थप ०‍.५ प्रतिशत थप ब्याज दिनसक्ने बताएकाे छ । यसअघि कुमारी बैंक, सेन्चुरी बैंक लगायतका बैंकहरुले १३ प्रतिशत ब्याजदर घोषणा गरिसकेका छन् ।

कुमारी बैंक, सेञ्चुरी बैंक लगायतका बैंकहरुले उच्च ब्याजदरको घोषणा गर्दा त्यसलाई बजारले बैंकको आन्तरिक कारण मानको थियो । तर सबल कहलिएका बैंकहरु समेत १३ प्रतिशतको प्रतिस्पर्धामा उत्रिएपछि बैंकिङ क्षेत्र वास्तवमै ऋणयोग्य पुँजीको अभावको समस्याले ग्रस्त रहेकाे रुपमा बजारले बुझेको छ, एक बैंकरले भने ।

बैंकहरुले १३ प्रतिशत ब्याज घोषणा गरे पनि खुलमखुला १३.५ प्रतिशतसम्म ब्याजदरमा निक्षेप उठाउने दाबी नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले गरेका छन् ।सोही कारण फाइनान्स कम्पनीहरुले पनि १३ प्रतिशत ब्याजदर घोषणा गर्न बाध्य भएको बताएका थिए ।

चलायमान निक्षेप

बैंकिङ क्षेत्रको एउटा मात्र सदस्यको क्रियाकलापले पनि बैंकहरुमा ठूलो असर आउन थालेको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार एउटा बैंकले ब्याज बढाइदिँदा निक्षेप त्यतैतिर सोहोरिने प्रवृत्ति बजारमा हावी भएका कारण आफ्नो निक्षेपको सुरक्षाकै लागि भए पनि ब्याजदरमा प्रतिस्पर्धा गर्नैपर्ने अवस्था बैंकहरुलाई छ । बलियो नियमन र निक्षेप सुरक्षणको व्यवस्थाले अहिले वाणिज्य बैंकहरुप्रति जनताको विश्वास बढेको छ । जुनसुकै बैंकमा निक्षेप राखे पनि असुरक्षित नहुने ठानेपछि निक्षेपकर्ताहरुमा १/२ प्वाइन्टको ब्याजदरका लागि पनि निक्षेप सारिदिने प्रवृत्ति देखिएको छ ।

हस्तक्षेपकारी कदमको अपेक्षा

तर बढ्दो ब्याजदरप्रति बैंकरहरु आफैं चिन्तित छन् । त्यसको नियन्त्रणका लागि केन्द्रीय बैंकले कुनै हस्तक्षेपकारी कदम चाल्नुपर्नेमा त्यसो नगरिएकोमा उनीहरु चिन्तित भएका हुन् । अर्को एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने हामी ब्याजदरको प्रतिस्पर्धा थेग्न नसक्ने भएका छौं, केन्द्रीय बैंकले समिति गठन भएको छ एक हप्ता कुर्नुस् भनेपछि हामीले संयमता अपनाएका हौं तर निक्षेप बाहिरिने क्रम बढ्दो छ, यस्तै भए हामी पनि प्रतिस्पर्धामा उत्रन बाध्य हुन्छौं । हाल १२ प्रतिशत र १२.५ प्रतिशत ब्याजदर तोकेका बैंकहरु यस्तै अवस्था रहे १३ प्रतिशतमै उक्लिने मनस्थितिमा छन् । हामीले सर्वाधिक भनेर तोकेको ब्याजदरमा एक दिन पनि निक्षेप उठाउन पाएनौं, यो घोषणाले केही भएन, समस्या समाधानको ठोस् पहल नभए हामी पनि ब्याजदरमा पुनर्विचार गर्न बाध्य हुन्छौं, – एक बैंकरले भने । अर्थ मन्त्रालयले मुद्रा बजार र पुँजी बजारको समस्या समाधानका लागि गठन गरेको समितिले बजारको विद्यमान् समस्याबारे ठोस् निष्कर्ष निकाल्ने अपेक्षा गरे पनि समिति आन्तरिक विवादमा रुमलिएकोमा बैंकरहरु निराश बन्नुपरेको उनको दाबी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.