तनहुँ जिल्लामा २५ करोड बराबरकाे सुन्तला उत्पादन

  २०७५ पुष १ गते १४:४३     विकासन्युज

काठमाडौं । तनहुँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो ।

कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको बताएका छन् ।
अघिल्लो वर्ष छ हजार ५२६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ९३८ मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।

तनहुँमा यस वर्ष एक हजार २८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । राइपुर, वैदी, छिपछिपे, तनहुँसुर, बेनीकोट, बन्दीपुर, घाँसीकुवा, नाम्सीकोट, भानुमतिलगायत सुन्तला खेतीको पकेट क्षेत्रका रूपमा रहेका छन्र । तनहुँको म्याग्दे गाउँपालिका–२ का विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला बेचेर रु ५५ लाख आर्जन गरेका छन् ।

सोही ठाउँका शुकनारायण श्रेष्ठले पनि यस वर्ष रु ३१ लाखको सुन्तला बिक्री गरेका छन् । भीमाद नगरपालिका–९ का अध्यक्ष इमानसिंह थापाले भानुमतिबाट यस वर्ष रु दुई करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको जानकारी दिएका छन् । व्यास नगरपालिका–११ तनहुँसुरमा रु ५० देखि ६० लाखसम्मको सुन्तला उत्पादन हुने अनुमान गरिएको कृषि शाखाका प्राविधिक विश्वराज वाग्लेले बताएका छन् ।

उनका अनुसार व्यास नगरपालिका–१३ वेनीकोटबाट समेत रु एक करोड ५० लाखको सुन्तला उत्पादन हुने लक्ष्य रहेको जानकारी दिएका छन् । देवघाट गाउँपालिकामा भने यस वर्ष सुन्तला उत्पादनमा कमी आउने अनुमान गरिएको छ । गाउँपालिकाका कृषि शाखाका प्राविधिक आनन्दराज घिमिरेले असिना र खडेरीको कारण सुन्तला उत्पादन कमी हुनसक्ने बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.