एक वर्षमा दुई लाख ७६ हजार १४७ मुद्दा दर्ता, एक लाख ८१ हजार ६११ फछ्रयाैट

  २०७५ मंसिर २६ गते २०:४२     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७४/०७५ मा देशभरका अदालतमा दुई लाख ७६ हजार १४७ मुद्दा दर्ता भएका छन् भने एक लाख ८१ हजार ६११ फछ्रयाैट भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतले पेश गरेको वार्षिक प्रतिवेदनमा सर्वोच्च अदालतमा १० वर्षको अन्तरालमा तीन गुणा बढी मुद्दा फछ्र्यौट भएकाे उल्लेख गरिएकाे छ ।

२०६५ सालमा ५५ हजार ५५६ मुद्दा फछ्र्यौट गर्नेमा अहिले आएर त्यो सङ्ख्या एक लाख ८१ हजार ६११ पुगेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी गराए । उनका अनुसार १० वर्षको बीचमा मुद्दाको सङ्ख्या पनि दोब्बर वृद्धि भएको छ । विसं २०६५ मा सर्वोच्चलगायत देशभरिका अदालतमा एक लाख १४ हजार ५१८ मुद्दा दर्ता हुने गरेकामा दुई लाख ७६ हजार १४७ मुद्दा दर्ता भएका छन् ।

यसरी हेर्दा विगत १० वर्षमा अदालतमा एक लाख ६१ हजार ६२९ थान मुद्दाको लगत बढी रहेको छ । वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७४/०७५ मा सर्वोेच्च अदालत मातहत अदालत तथा न्यायाधीकरणसमेतमा ६५.७७ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको छ । यस आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा ३.८९ प्रतिशत बढी मुद्दा फछ्र्यौट भएको छ । अघिल्लो आर्थिक वर्षमा ६१.८८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको सर्वोच्चको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा दुई लाख ५४ हजार ५२९ मुद्दामध्ये एक लाख ५७ हजार ४९५ मुद्दा फछ्र्यौट गरिएको थियो । प्रवक्ता पोखरेलका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा सर्वोच्च अदातलते मात्र ३७.९६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

सर्वोच्चले कूल ३२ हजार ७१७ मुद्दामा १२ हजार ४१९ मुद्दामात्र फछ्र्यौट गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सर्वोच्चमा गत आर्थिक वर्षका २१ हजार ८२९ मुद्दा सरेको र यस वर्षको १० हजार ८८८ मुद्दा रहेका थिए ।

सर्वोच्चमा आर्थिक वर्ष २०७४/०७५ मा गत आर्थिक वर्षभन्दा ५.०१ प्रतिशत बढी मुद्दा फछ्र्यौट गरेको हो । गत आर्थिक वर्षमा सर्वोच्चमा ३४ हजार ३५३ मुद्दामध्ये ११ हजार ३२१ मुद्दा फछ्र्यौट गरेको थियो ।

यस्तै सातवटै उच्च अदालतमा यस आर्थिक वर्षमा ७१.१० प्रतिशत मुद्दा फछ्र्यौट गरिएको छ । सातवटै उच्च अदालतमा कूल ५३ हजार २३६ मुद्दामा ३७ हजार ८४९ मुद्दा फछ्र्यौट गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

उच्च अदालतमा यो गत आर्थिक वर्षभन्दा ८.२७ प्रतिशतले बढी मुद्दा फछ्र्यौट हो । गत आर्थिक वर्षमा ५४ हजार ३४ मुद्दामा ३३ हजार ९४७ मुद्दा फछ्र्यौट गर्दै ६२.८३ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको थियो ।

यस्तै ७७ वटै जिल्ला अदालतमा ६९.२८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रवक्ता पोखरेलका अनुसार जिल्ला अदालतमा कूल एक लाख ८८ हजार ७७ मुद्दामध्ये एक लाख ३० हजार २९२ मुद्दा फछ्र्यौट गरिएको छ ।

गत आर्थिक वर्षको ५२ हजार ६२७ र यस आर्थिक वर्ष नयाँ दर्ता गरिएका एक लाख ३५ हजार ४५० मुद्दा रहेका थिए । यस आर्थिक वर्षको मुद्दाको फछ्र्यौट गत वर्षभन्दा १.५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा एक लाख ६३ हजार ३४३ मुद्दामध्ये एक लाख १० हजार ७१६ मुद्दा फछ्र्यौट गर्दै ६७.७८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको थियो ।

यस्तै वार्षिक प्रतिवेदनमा अन्य अदालत तथा न्यायाधीकरणमा ४९.६५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको उल्लेख गरिएको छ । कूल दुई हजार ११७ मुद्दामध्ये एक हजार ५१ मुद्दा फछ्र्यौट गरिएको छ । यो गत वर्षभन्दा ४.२६ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा अन्य अदालत तथा न्यायाधीकरणका दुई हजार ८०३ मुद्दामध्ये एक हजार ५११ मुद्दा फछ्र्यौट गर्दै ५३.९१ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.