अब २४ दिन निःशुल्क सरकारी काम गर्नुपर्ने, देश निर्माण आफैंबाट थाल्ने उद्घोष

  २०७५ मंसिर १३ गते ८:५८     गङ्गराज पण्डित

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ । ‘देशका लागि दुई दिन’ कार्यक्रमअनुसार प्रत्येक घरधुरीले महीनाको दुई दिन अनिवार्य जनश्रमदान गर्नुपर्ने नियम बनाइएको हो ।

देश निर्माण र समृद्धिको अभियान आफैँबाट शुरुआत गर्ने उद्देश्यसहित प्रत्येक परिवारलाई उक्त गाउँपालिकाको विकासमा लगानी गर्न देशका लागि दुई दिन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

उक्त गाउँपालिकामा रहेका दुई हजार बढी परिवारले अबदेखि अनिवार्य रूपमा महीनाको दुई दिन गाउँपालिकाको काम निःशुल्क गर्नुपर्ने भएको छ । गाउँपालिकाका,सङ्घीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका कामका लागि दुई दिन अनिवार्य काम गर्नुपर्ने प्रावधान गाउँकार्यपालिकाको २२ औँ बैठकबाट निर्णय गरिएको हो ।

राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पूरा नहुने भएकाले शुरुआत स्वरुप कार्यक्रम यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिए । महीनाको ३० दिन काम गर्दा पनि २८ दिनको ज्याला पाउने र दुई दिन श्रमदान गर्नुपर्ने नीतिमै उल्लेख गरिएको उपाध्यक्ष सीता थापाले बताइन।

लगानी र अनुदानमा बनिरहेका संरचनामा मात्र नभई, गाउँ सरसफाइ, विद्यालय अनुगमन, वन सुरक्षा, पानीका मुहान सफाइ आदि कार्यमा अनिवार्य जनश्रमदान गरेकै हुनुपर्ने नीति बनाइएकोे ४ नं वडाध्यक्ष वीरेन्द्र रोकायाले उल्लेख गरे ।

समाजमा विकासप्रति अपनत्व गराउन र विकास मेरा लागि हो, मैले पनि केही गर्नुपर्छ भन्ने धारणा बनाउनका लागि यो योजनालाई अनिवार्य गरिएको गाउँपालिकाको भनाइ छ । यस विषयमा गाउँ कार्यपालिकाबाट नीति नै बनाउने तयारी भइरहेको छ । गाउँपालिकामा रहेका सबै घरधुरीले श्रमदान गरे÷नगरेको वडा कार्यालय र वडा कर्मचारीले निगरानी राख्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.