बैंकका सहायक कम्पनीले ब्रोकरहरुसँग प्रतिस्पर्धा गर्नै सक्दैनन् : भरत रानाभाट

  २०७५ मंसिर ६ गते २२:१७     विकासन्युज

भरत रानाभाट स्टक ब्राेकर एशाेसिएशन अफ नेपालका अध्यक्ष हुन् । काेहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा‍. लि. (स्टक ब्राेकर न‌ं ३५) का प्रबन्ध निर्देशक समेत रहेका उनी एशाेसिएशनकाे दुर्इ महिना अघि भएकाे अधिवेशनले अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकाेत्तरसम्मकाे अध्ययन गरेका रानाभाट पाेखराका स्थानीय हुन् । शंकरदेव क्याम्पसमा अध्ययन गर्दै गर्दा साधारण शेयर भर्न थालेका उनले साेही समयमा शेयर बजारबारे जानकारी लिने अवसर पाएका हुन् । २०६८ सालमा काेहिनूरले ब्राेकर लाइसेन्स पाएसँगै उनी याे क्षेत्रमा क्रियाशील छन् ।

अहिले शेयर बजारमा अनलाइन ट्रेडिङकाे चर्चा छ । कार्तिक २० गतेदेखि सुरु भएकाे याे प्रणाली अझै सर्वसाधारणकाे पहुँचमा पुग्न सकेकाे छैन । यसै सन्दर्भमा रानाभाटसँग अनलाइन ट्रेडिङमा देखिएका समस्या, त्यसमा ब्राेकरकाे भूमिका, समाधान लगायत समग्र शेयर बजारकाे अवस्थाबारे केन्द्रित रही गरिएकाे विकास बहस :


 

अनलाइन ट्रेडिङ सफल नहुनुमा ब्रोकरको समेत अप्रत्यक्ष संलग्नता छ भनिन्छ, यथार्थता के हो ?

त्यस्तो हल्ला यथार्थ होइन, अनलाइन ट्रेडिङमा ब्रोकरले सहयोग नगर्ने भन्ने प्रश्नै आउँदैन । अनलाइन ट्रेडिङको सबैभन्दा बढी आवश्यकता नै ब्रोकरहरुलाई छ । हामीले मोक ट्रेडिङको समयदेखि नै नेप्सेले दिएको निर्देशनअनुरुप ग्राहकलाई युजरनेम र पासवर्ड दिने काम गरिरहेकै थियौं । अहिले अनलाइन ट्रेडिङ सुरु भएपछि पनि हामीले हाम्रा ग्राहकलाई नेप्सेले दिएको निर्देशन अनुरुप नै अनलाइन ट्रेडिङका लागि सहजीकरण गर्दै आएको थियौं । अनलाइन ट्रेडिङमा केही प्राविधिक समस्या देखिए ।
अनलाइन ट्रेडिङको प्राविधिक पक्ष हेर्ने भनेको वाइको प्रा. लि. ले हो । त्यसले नेप्सेको प्रत्यक्ष निगरानीमा काम गरिरहेको छ । त्यसैले, त्यसमा हाम्रो संलग्नता छ भन्ने कुनै आधार नै छैन । ब्रोकरले अनलाइन ट्रेडिङ हुन दिएन भन्ने खबर समाचारको विषय नपाउँदा लेखिएका वा लेख्न रमाइलो लागेर लेखिएका समाचारहरु हुन् ।

तर, अनलाइन प्रणाली सञ्चालनका लागि हार्डवेयर ल्याउने प्रक्रियामा त ब्रोकरको सहभागिता पनि थियो होइन ?

यसअघिको ट्रेडिङ प्रणाली र हालको अनलाइन कारोबार प्रणालीमा फरक भनेको के हो भने पहिले हामी (ब्रोकर)हरुले नेप्सेको प्लेटफर्म र नेप्सेकै सफ्टवेयर चलाउँथ्यौं र अहिले पनि त्यही नै गर्ने हो । तर फरक के हो भने पहिले हार्डबेयर र डाटा सेन्टरको पार्ट पनि नेप्सेमै थियो, हामी त्यो डाटा सेन्टरसँग इन्ट्रानेटमार्फत् जोडिन्थ्यौं ।

तर अनलाइन ट्रेडिङ प्रणाली आएपछि त्यस्तो डाटा सेन्टर हामीले नै ल्याउनुपर्ने भयो । यसरी हरेक ब्रोकरले डाटा सेन्टर ल्याउनुपर्ने भएपछि हामीले त्यसबारे नेप्सेसँग छलफल गर्यौं । सबैले आफ्नो कार्यालयमा त्यस्तो प्रणाली राख्नुपर्ने हो कि त्यस्तो प्रणाली उपलब्ध गराउने कम्पनीहरु पनि छन् भनेर बुझ्दा हामीले त्यसको विकल्पमा डाटा सेन्टरको सेवा उपलब्ध गराएका २÷३ ओटा कम्पनीहरुमध्ये ‘डाटा हव’ नामक कम्पनीलाई नेप्से र वाइको कम्पनीसँग सम्वाद गरायौं ।

नेप्से तथा वाइकोले उक्त कम्पनीले सबै रिक्वायरमेन्ट पूरा गर्न सक्छ भनेपछि हामीले उक्त कम्पनीलाई छनोट गर्यौ । त्यसैअनुरुप सबै जिम्मेवारी उसैलाई दिएको हो । यस्तो अवस्थामा ब्रोकर कम्पनीलाई अरु प्राविधिक कर्मचारीको आवश्यकता नै छैन । सबै प्राविधिक कर्मचारी सोही कम्पनीले राख्नुपर्ने हो ।

यस्तो अवस्थामा ब्रोकरलाई लगाइने आक्षेपहरु निराधार हुन् । अझ हामी विवेकशील भएर सबै जिम्मा एउटै कम्पनीलाई दिएकोले उसैले नै सबै जिम्मेवारी लिनैपर्ने अवस्था छ । नत्र भने डाटा सेन्टरले भेन्डर कम्पनीलाई र भेन्डर कम्पनीले डाटा सेन्टरलाई दोष दिने अवस्था हुन्थ्यो ।

तपाईँको कार्यालयहरुका कत्तिपनि प्राविधिक कर्मचारी आवश्यकता पर्दैन त ?

त्यसको आवश्यकता नै छैन भन्ने होइन, किनभने हाम्रा कर्मचारीहरुले यसअघि पनि कारोबार गराइरहेकै हुन् । अनलाइन ट्रेडिङ आएपछि पनि त्यसको आधारभूत संरचनामा केही परिवर्तन छैन । त्यसमा बानी पार्न समय लाग्नु बाहेक अन्य कुनै समस्या नै हुँदैन ।

अब प्रत्येक ब्रोकरले हार्डवेयर ल्याउनु नपर्ने भएको हो ?

हो । हामीले सबै जिम्मा भेन्डर कम्पनीलाई नै दिएका छौं ।

डिम्याटको पालामा पनि केही समय यस्तो प्राविधिक समस्या देखियो, अहिले अनलाइन ट्रेडिङमा पनि त्यो देखिरहेको छ, यस्तो समस्या अपेक्षित हो कि अनपेक्षित हो ?

डिम्याट त हाम्रो लागि नौलो थियो, किनकी हामीले डिम्याटजस्तो वैकल्पिक सिस्टम यसअघि चलाएकै थिएनौं तर अनलाइन ट्रेडिङ त हाम्रो लागि नौलो विषय नै होइन, किनकी हामीले यसअघि पनि ट्रेड गरेकै थियौं, क्लाइन्टको अर्डर लिएकै थियौं, के के भइरहेको छ भनेकै थियौं, म्यासेज पठाउने, पैसा उठाउने जस्ता सेटलमेन्ट पनि गरेकै थियौं । भनेपछि त हाम्रो तर्फबाट कुनै पनि समस्या आएका छैनन् ।

भनेपछि… वाइको टेक्नोलोजिको तर्फबाट भएका समस्याहरु चाहिँ अनपेक्षित थिए ?

त्यसलाई पनि हामी अन एक्स्पेक्टेड भन्दैनौं, त्यो पूर्वानुमान गरिएकै थियो । तर यतिकै धेरै समस्या आउला भन्ने चाहिँ लागेको थिएन, सायद उनीहरुले पनि सोचेका थिएनन् । नयाँ सिस्टममा अलिअलि समस्या त आइनै हाल्छ भन्ने हाम्रो सोच थियो । यद्यपि भएका समस्याहरुमा क्रमिक सुधार भइरहेका छन्, भेन्डर कम्पनीसँग कुरा गर्दा पनि अहिले आएको समस्या यही हप्तासम्ममा सक्छौं भनेका छन्, त्यसमा केही ढिलाई भयो भने पनि अर्को हप्तासम्म चाहिँ बजारले अनुभव गर्न सक्ने गरेर समस्याहरुको समाधान हुन्छ भन्ने लाग्छ ।

यो आईटी (सूचना प्रविधि) क्षेत्रलाई सामान्य मानिसले अप्ठ्याराे मान्छन्, यसकाे विकल्प के हुनसक्छ ?

अहिले यति धेरै समस्या आउनु पक्कै पनि दुखदायी कुरा हो तर ट्रेडिङ सिस्टममा नयाँपन ल्याउनुको विकल्प छैन, त्यसको अर्थ अनलाइन ट्रेडिङको विकल्प नै छैन । तर पुरानै तरिकाअनुसार काराेबार गर्न चाहनेहरुका लागि युजरनेम र पासवर्ड नलिर्इ अहिलेजस्तै ब्राेकरलार्इ फाेन गरेर अर्डर टिपाउने प्रणाली सँधै रहिरहन्छ ।

बजारमा हाल देखिएको गिरावट चाहिँ पूर्णतः बजारकै कारणले भएको हो कि यसमा अनलाइन ट्रेडिङ प्रणालीमा देखिएको समस्या पनि जिम्मेवार छ ?

यसमा अनलाइनको पनि केही असर हुनसक्छ, त्यो कस्तो असर हो भने सामान्यतया ब्रोकरको कार्यालयमा आएर कारोबार गर्ने लगानीकर्ता भन्दा बाहिरै रहेर नेप्सेको वेभसाइट हेरेर फोनबाट अर्डर गर्नेको कारोबारको हिस्सा ठूलो छ । उनीहरुले मार्केटडेफ्थ, स्टकलाइभ वा फ्लोरसिट राम्रोसँग हेर्न नसक्दा उनीहरुमा अन्यौलता हुनाले बजार केही घटेको हुनसक्छ । त्यसभन्दा बढी कारण केही छैन ।

अनलाइन प्रणाली आउने यो समयमा यदि मार्केट अप ट्रेन्डमा थियो भने पनि त्यो माथि नै गइरहन्थ्यो जस्तो लाग्छ । किनकी अनलाइनले तत्काल बजारलाई ड्राइभ गर्दैन, मानिसहरु अभ्यस्त हुँदै गएपछि यसमा विस्तारै कारोबार बढ्दै जाने हो । अनलाइन ट्रेडिङले नयाँ लगानीकर्ता बजारमा भित्रने अवस्था भने बनाउँछ । यद्यपि केही असर चाहिँ पर्छ ।

अनलाइन ट्रेडिङ सुरु भएपछि ब्रोकर अफिसमै आएर कारोबार गर्नेको संख्या चाहिँ घटेको छ कि छैन ?

त्यो घटेको छैन किनकी उनीहरुले त्यसरी कारोबार गर्नै पाएका छैनन् । अनलाइन ट्रेडिङको दिन कारोबारको २ घण्टासम्म त हामी याक एण्ड यतिमै थियौं । अन्तिम घण्टामा गएर कम्युटर लगइन गर्दागर्दै समय गयो, त्यसपछिका दिनमा कारोबार कम भए पनि त्यो दैनिक रुपमा बढ्दै गएको छ । बजारको घट्दो ट्रेन्डकाबीच यतिको कारोबार केही कमी भने आएको देखिन्छ ।

सूचनाको बजारमा इन्भेष्टरहरुले सूचना नपाएको अवस्था हो ?

पहिलेको सिस्टममा सूचनै सूचना, अहिलेको सिस्टममा सूचना नै छैन भन्ने होइन । बुकक्लोज, लाभांश घोषणा जस्ता बाहिरबाट प्राप्त हुने सूचनाहरु आउने प्रक्रिया अहिले पनि एउटै हो । कारोबार प्रणाली भित्रको सूचनाको सन्दर्भमा चाहिँ अहिले केही समस्या आएकै हो । मार्केट डेफ्थ, स्टकलाइभ र फ्लोरसिटबाट प्राप्त हुने सूचनामा केही समस्या आएको देखिन्छ ।

अब कुनै लगानीकर्ताले घरमै बसेर राम्रोसँग सूचना प्राप्त गर्ने र घरबाटै अनलाइनमार्फत् सबै कारोबार र राफसाफ गर्ने र तत्कालै शेयर वा पैसा प्राप्त गर्ने दिनचाहिँ कहिले आउँछ ?

रियल टाइम सेटलमेन्टको लागि त केही समय लाग्ला, त्यसका लागि अनलाइनमा देखिएका समस्या समाधान गरेर मात्रै हुँदैन । तर अहिले भनिएजस्तो अनलाइन ट्रेडिङको लागि भने सिस्टमको समस्या समाधान गर्ने र बैंक इन्ट्रिगेसनको व्यवस्था मिलाउने गर्नुपर्छ । अहिले नेप्सेले नेपाल इन्भेष्मेन्ट बैंक लगायत अन्य तीनओटा बैंक क्लियरिङ बैंकको रुपमा छनौट गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकलाई वाइकोलाई नेप्सेको सिस्टममा इन्टिगेसज गरिसकेको छ र अन्य तीन बैंकलाई समेत गर्ने तयारी गरेको छ । यो प्रक्रिया सकिएपछि हामीलाई हाम्रा ग्राहकहरुलाई युजरनेम र पासवर्ड दिन कुनै समस्या नै हुँदैन । तर त्यसभन्दा अघि नयाँ सिस्टमलाई हामीले चाहिँ विश्वासिलो ढंगले चलाउने अवस्था आओस् भनेर कुरेर बसेका हौं । अहिले हामीले नै समस्या बताउनुपर्ने अवस्थामा ग्राहकको पचासौं समस्या कसरी सुन्न सक्छौं ? त्यसैले पहिले हाम्रो तर्फबाट देखिएको समस्या समाधानपछि त्यस्तो अवस्था आउँछ ।

अहिले अनलाइन पेमेन्टमा राष्ट्र बैंकको परिमाणगत अवरोध छ, दिनमा यति भन्दा बढी कारोबार गर्न नपाउने भन्ने छ । यस्तो अवस्थामा अनलाइन प्रणालीमार्फत् ठूलो परिमाणमा शेयर खरिदबिक्री कसरी गर्ने ?

त्यसको लागि त राष्ट्र बैंकले व्यवस्था मिलाउनु पर्छ । त्यो विषय हाम्रो भन्दा नेप्सेको बढी चासोको विषय हो । हामीले नेप्सेसँग त्यस्तो अवरोध आउने अवस्था भए त्यसलाई बेलैमा सल्ट्याउन पहल गर्न अनुरोध गरेका छौं ।

मार्जिन लेन्डिङ कार्यान्वयनमा आउने हल्लाले बजारमा जुन उत्साह ल्याएको थियो, दुई गुणाको प्रतिबन्धात्मक व्यवस्थाले त्यस्तो उत्साह मरेको हो ?

मार्जिन लेन्डिङ अहिले आइसकेको छैन, त्यसको लागि हामीले धितोपत्र बोर्डसँग कुरा गरिरहेका छौं । बोर्डले कार्यविधि बनाइरहेको छ भन्ने खबर पाएका छौं । मार्जिन लेन्डिङको कुरा त भयो, त्यो दिने प्रक्रिया के हुने, कसरी दिने भन्ने निश्चित नहुँदासम्म त्यसले बजारमा कुनै प्रभाव पार्नै सक्दैन ।

जहाँसम्म प्रतिबन्धात्मक वाक्यांशको कुरा छ, मार्जिन ट्रेडिङको सन्दर्भमा पनि विभिन्न आयामहरु हुन सक्छन्, तर मुख्य कुरा भनेको जोखिमको विषय नै हो । अहिले बोर्डले २ गुणा भने पनि भोलि एउटै बैठकले त्यसलाई बढाउन वा घटाउन सक्छ ।

मार्जिन लेन्डिङ विकासक्रमको पछिल्लो अपडेट चाहिँ के छ ? त्यसमा कस्तो अवरोध आइरहेको रहेछ ?

त्यसमा धितोपत्र बोर्डले प्रक्रिया अघि बढिरहेको छ भनेको छ । तर यसमा राष्ट्रबैंक र बोर्डबीच केही असहमति रहेको पाएका छौं । राष्ट्र बैंकले ऋण दिने विषय भएकोले यो आफ्नो कार्यक्षेत्रमा पर्ने र यसका लागि प्रत्येक ब्रोकरले आफूसँग अनुमति लिनुपर्ने भनेको रहेछ, तर बोर्डले यो क्षेत्रको नियामक आफू भएकोले त्यो आफ्नै अधिकार क्षेत्रभित्र पर्छ भनिरहेको छ । हामीले त भन्ने काम मात्र हो ।

मार्जिन लेन्डिङको लागि ब्रोकरको पनि त क्षमता चाहिएला नि ? ब्रोकरको चुक्ता पुँजी त एकदमै कम छ ?

त्यो लेन्डिङ पनि हामीले बैंकमार्फत् नै लिने हो । त्यसैले ब्रोकरले मार्जिन लेन्डिङको काम गर्न सक्छ ।

तर त्यसका लागि बैंकले ब्रोकरलाई विश्वास पनि त गर्नुपर्यो नि ?

बैंकले हामीलाई त्यतिकै ऋण दिने होइन, शेयर धितोमा राखेर कर्जा दिने हो । जो मार्जिन लेन्डिङमार्फत् कारोबार गर्न चाहन्छ, उसको शेयर धितोमा बैंकले राख्छ र कर्जा दिन्छ । त्यसो गर्दा बैंकले पनि सानोसानो ऋणका लागि ग्राहकसँग सोझै डिल गर्नु पर्दैन, उनीहरुको सञ्चालन खर्च पनि घट्छ, ग्राहकलाई पनि बैंकमा धाउने झन्झट हुँदैन, ब्रोकरले पनि केही कमिसन प्राप्त गर्ने अवस्था आउला । हुन त त्यस्तो अवस्थामा बैंकको ब्याज भन्दा महँगो पर्न आउँछ भन्ने कुरा पनि आउनसक्छ । तर बैंकले ग्राहकसँग डिल गर्दा लाग्ने खर्च बैंकले ब्रोकरलाई डिस्काउन्ट गरेर त्यहीअनुसार ब्याज घटाइदियो भने र ग्राहकले बैंकको प्रक्रिया पूरा गर्न लाग्ने खर्च बेहोर्यो भने, त्यो मार्जिनमा ब्रोकरले काम गर्न सक्छ । यसबाट सबै पक्षलाई फाइदा हुन्छ ।

अहिले भ्याट प्रकरणको अन्त्य भएको हो ?

हो । चालु आर्थिक वर्षको आर्थिक ऐनले ब्रोकरको कमिसनमा लाग्ने भ्याट नलाग्ने व्यवस्था भयो, त्योसँगै यो समस्या सकियो ।

अहिले तपाईँहरु कति प्रतिशत आयकर तिर्नुहुन्छ ?

अघिल्ला वर्षहरुमा हामी २५ प्रतिशत आयकर तिथ्र्यौं । यो बजेटपछि अब ३० प्रतिशत तिर्छौ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिनुको पछाडि ब्रोकरहरु शहरकेन्द्रित भए भन्ने तर्क थियो, तपाईँहरु विस्तार हुँदै गरेको अवस्था हो कि के हो ?

अनलाइन ट्रेडिङ प्रणाली सुरु नहुन्जेल यो तर्क ठिकै थियो तर अब त्यस्तो देखिँदैन । किनकी यो प्रणालीसँगै हामी नै सबैको पहुँचमा पुग्न सक्छौं । अर्को कुरा अन्तराष्ट्रिय अभ्यास हो, संसारका अधिकांश देशमा शेयर कारोबार प्रणाली सर्वत्र फैलिएको हुँदैन । यो उच्च नियमनमा रहनुपर्ने क्षेत्र हो । अहिले भएका ब्रोकरहरुने बजारका लागि बढी हुने अवस्था सकेत आउन सक्छ । श्रीलंकामा पहिले ३४ ओटा ब्रोकर थियो, अहिले घटाएर २७ ओटा बनाइएको छ । ब्रोकरको क्षमता बढाउने कुरा उठ्न सक्छ तर ब्रोकर जनतामा पुग्न सकेनन् भन्ने अवस्था अब आउँदैन ।

तर केही बैंकले त सहायक कम्पनी खोलेर लाइसेन्सको प्रक्रिया अगाडि बढाइसकेका छन् नि ?

यहाँनिर फेरि बुझ्नुपर्ने कुरा के हो भने बैंकलाई नै लाइसेन्स दिए त्यो सबै क्षेत्रमा पुग्न सक्थ्यो, किनकी बैंकका शाखा सबैतिर छन् । तर, यदि सहायक कम्पनी खोलेर लाइसेन्स दिने हो भने उनीहरुले अहिलेको ब्रोकरहरुसँग प्रतिस्पर्धा गर्न समेत सक्दैनन् । किनकी धेरै शाखा भएको ‘स्ट्रेन्थ’ त उनीहरुसँग हुँदैनन् नै, ब्रोकरहरुसँग भएकाजस्तो दक्ष जनशक्ति उनीहरुसँग हुँदैन । त्यसैले, बैंकको सहायक कम्पनीलाई लाइसेन्स दिएर के अर्थ भयो ?
मर्चेन्ट बैंकरहरुलाई हेर्नुस्, धेरै पुँजी लिएर खुलेका उनीहरुले चलाएको डीपी र हामीले चलाएको डीपी हेर्नुहोस्, कसको राम्रो छ ? अझ अनलाइन प्रणाली आइसकेपछि त झन् यसको कुनै अर्थ नै छैन ।

तपाईँहरुले केही दिन अघि मात्र बनाउनुभएको ब्रोकर र लगानीकर्ताबीचको सम्झौतापत्र अलिक सन्तुलित नभएको हो ?

त्यो पहिलो मस्यौदा मात्र हो, छलफलका लागि हामीले ल्याएका हौं । यो नै अन्तिम होइन, त्यसमा व्यापक परिमार्जन र मूल्याङ्कन हुनसक्छ । त्यसमा आवश्यक सुझाव दिन सबै पक्षलाई हामी आग्रह गर्छौ ।

तर बजारमा यसबारे त ठूलै चर्चा चलिसकेछ नि ?

त्यो हाम्रो लागि राम्रो कुरा हो । यस्तै चर्चाले राम्रो सम्झौतापत्र तयार गर्न हामीलाई सहयोग गर्छ ।

तपाईँहरुले ल्याएको कर्जा सूचना केन्द्रको कालो सूचिमा नपरेको प्रमाणपत्र पेस गर्नुपर्ने नियमले त लगानीकर्ताहरुमा धेरै ठूलो झन्झट ल्याउला नि ?

पहिलो कुरा त अनलाइन प्रणालीमार्फत् कारोबार गर्दा युजर र पासवर्ड लिनैपर्छ भन्ने हुँदैन । यदि कसैलाई युजर र पासवर्ड नलिईए कारोबार गर्न मन लागे अहिलेकै व्यवस्थाअनुसार कारोबार गर्न सकिन्छ । अर्को कुरा यसको लागि स्वघोषणाले मात्र पनि हुने व्यवस्था गर्न सकिन्छ । तर त्यसमा नेप्सेको सहमति भने आवश्यक हुन्छ ।
अहिलेको प्रणालीमा हामीले ठूलो भार बोकेका छौं । जुनै अवस्थामा पनि लगानीकर्ता दोषी नहुने, ब्रोकर नै दोषी हुने भन्ने व्यवस्था छ । तर हामीले लगानीकर्ता पनि केही जिम्मेवार बनुन् भन्ने चाहिँ चाहेका हौं ।

धितोपत्र बोर्डले केही समयअघि निर्देशन दिएर ब्रोकर कम्पनीका कर्मचारीहरुलाई बैंक तथा वित्तीय संस्थाको जत्तिकै सेवा सुविधा दिनु भनेको थियो, तर अहिले पनि कर्मचारीहरु ब्रोकर कम्पनीले ठग्यो भन्छन् नि ?

बैंक तथा वित्तीय संस्थाले कति सेवा सुविधा दिनुपर्ने भन्ने त कहाँ लेखिएको छ र ? तर, हामी सरकारले तोकेको न्यूनतम सेवा सुविधा दिइरहेका छौं ।

दोस्रो बजारमा कारोबार गर्ने ब्रोकरहरुकै शेयर चाहिँ दोस्रो बजारमा आउने सम्भावना चाहिँ के देख्नुहुन्छ ?

हामीले खोजेको पनि त्यही हो, दीर्घकालमा त हामी पनि पब्लिक कम्पनीमा जाने र दोस्रो बजारमा शेयर कारोबार गर्नैपर्छ । तर अहिलेसम्म त्यसबारे केही भएको छैन । सुरुमा त नेप्सेनै शेयर दोस्रो बजारमा जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.