मसँग घुस माग्नेहरुको विवरण छिट्टै सार्वजनिक गर्छु- प्रा.डा ध्रुवराज अधिकारी

  २०७५ मंसिर ६ गते १२:३१     विकासन्युज

करिब १४ वर्षदेखि वीर अस्पतालमा कार्यरत न्यूरो सर्जरी यूनिटका प्रमुख प्रा.डा ध्रुवराज अधिकारीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई खुला पत्र लेख्दै मंगलबार राजीनामा दिनु भएको छ । चाकडी र मागे जति घुस रकम पुर्याउन नसकेको कारण आफूले राजीनामा दिएको उहाँको राजीनामा पत्रमा उल्लेख गरिएको छ । यसभित्रको अन्तरकथा के के छन् ? प्रस्तुत छ विकासन्युजको लागि डोमी शेर्पाले डा अधिकारीसँग गरेको कुराकानी ।

तपाईले बीर अस्पतालमा कति वर्ष सेवा गर्नुभयो ?

म स्वास्थ्य मन्त्रलायको ३० वर्षसम्म मेडिकल अफिसरको रुपमा कार्यरत थिए र अहिले पनि छु । गत बैशाख १४ गते मलाई नवौ तहको प्रमोसन गरिएको पत्र आयो । तर अहिलेसम्म मलाई त्यस पोस्टमा पोष्टिङ गरिएको छैन । मैले नवौं तहको तलब सुविधा पनि पाएको छैन । नवौ तहमा पोस्टिङ्क गरेर हाजिर पनि गराइएको छैन । म अहिले पनि आठौ तहको तलव सुविधामा काम गरिरहेको छु जुन चाहीँ एमबिबिएस पास गर्न साथ बन्ने मेडिकल अफिसर हो । म ३० वर्षदेखि एउटै पोस्टमा छु । ३० वर्षपछि गरिएको बढुवाको निर्णय पनि कार्यान्वयन भएन । म वीर अस्पातलमा २००४ देखि काम बीर अस्पतालमा काम गरिरहेको छु र अब मेरो कार्यकालका तीन महिना मात्र बाँकी छ ।

नवौं तहमा पोष्टिङ नगर्नुको कारण केही छ ? जिम्मेवार अधिकारीहरु के भन्छन् ?

सरुवा गरिएको ठाउँमा नगएको भनिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐनको दफा नं २४ को ४२.१ नम्बर अनुसार सरुवा गराईेको खण्डमा वीर अस्पातलले यो व्यक्तिको यहाँ एकदम आवश्यक छ भनेर राख्ने प्रावधान छ । उहाँहरुले चिठ्ठी पनि पठाउनु भएको छ जसको आधारमा ५/६ जना अर्थोपेडिक सर्जनहरु आई पनि सक्नुभएको छ तर मेरो विषयमा उहाँहरुले कुनै पनि प्रतिकृया दिनु भएन । नवौ तहको पद खाली हुँदा हुँदै पनि मलाई पोस्टिङ् गरिएन, काजमा पनि गरिएन र ३ महिना भन्दा बढी जागिर अवधि पनि छैन । यो निर्णय म ६० वर्ष पुगिसकेको मान्छेलाई यताउता कुदाउने, दुःख दिने काम भयो । मानवताको नाताले पनि हेरिएन । कि त वीर अस्पातलमा बसेर रोगीहरुको सेवा गर्न पाउँदैनस् भनेर भन्नुपर्यो, वीर अस्पातलमा बसेर मैले पैसा आर्जन गर्न खोजेको देखिनु पर्यो ।

सरकारलाई तपाईं जस्तो दक्ष मानिसलाई पोखाराको खाँचो छ भन्ने लागेको होला । पोखरा जाँदा तपाईलाई के बिग्रन्छ ?

मलाई खास कुनै पनि प्रकारको बेफाईदा छैन । मेरो कार्यकालको अन्तिम अन्तिम समय छ र मैले जुन आनन्दको साथ यहाँ बसेर बिरामीहरुलाई जाँच्न चाहन्छु , मेरो फलो–अपमा आएका बिरामीलाई जसरी जाँची रहेको छु, पोखरा जाँदा यी सेवा प्रभावित हुन्छ । यसरी अन्तिम समयमा सरुवा हुँदा न यता राम्रो काम हुन्छ न त उता ।

जान मानिन् भन्दा पनि मैले त्यहाँ गएर केही गर्न सक्दिन भने त्यहाँ जानुको पनि केही अर्थ छैन । मलाई पनि मेरो अन्तरआत्माले के गर्नुहुन्छ के गर्नुहुदैन भनेर भन्छ । ‘खाए खा नखाए घिच’ जस्तो शैली कसैले मन पराउँदैनन् । एक महिनाको लागि पोखरा गएर आए यहाँ पोस्टिङ् गर्दिन्छु भन्ने सुनेको छु । यहाँबाट १० ठाउँबाट टिप्पणी र फाईल बनाएर पोखरा गए पनि त्यहाँ हाजिर गर्ने बाहेक अरु केही काम हुँदैन । त्यहाँ गएर हाजिर मात्र गर्दा त्यस ठाउँलाई के फाईदा छ, मलाई के फाईदा छ, बिरामीलाई के फाईदा छ, मन्त्रालयलाई के फाईदा छ ?

एकदिनमा मैले के सेवा दिन सक्छु होला ? तपाईं आँफै पनि सोच्नुहोस् । जहाँ दक्ष जनशक्ति छैन, पूर्वाधार छैन, त्यहाँ कसरी गएर काम गर्ने ? न्युरो सर्जरी छालाको रोग जाँचे जस्तो होईन । यसको लागि हरेक चिज दक्ष हुन जरुरी छ । हो यदि मेरो कार्यकाल अझै ५ वर्ष वा १० वर्ष भएको भए म त्यसको लागि जान तयार हुन्थेँ तर यहाँ त मेरो कार्यअवधि ३ महिना मात्र छ । यति समयमा यता उता गर्दा गर्दै समय सिद्धिन्छ । भिसी जस्तो मान्छेले मलाई यहाँ राखिदिनु पर्यो भनेर पत्र लेखिदिनु भएको छ । भिसी भनेको राज्यमन्त्री सरहको व्यक्ति हो । मैले उहाँको निर्णयको सम्मान गर्नुपर्छ । नेपाल सरकारको कर्मचारी भएपनि मैले बिरामी र मेरो विद्यार्थीको बारेमा पनि सोच्नुपर्छ ।

राजीनामामा मागेजति घुस बुझाउन असमर्थ भएको उल्लेख गुर्न भएको छ । घुस माग्ने व्यक्ति को हो ? घुस कति माग्यो ?

त्यहाँ कोही बिचौलियाहरु छन् । म अहिले पनि नेपाल सरकारकै कर्मचारी छु र मेरो राजीनामा स्वीकृत भएको पनि छैन । मैले अवकास पनि पाएको छैन । समय र परिस्थितिले जुन दिन बताउन उपयुक्त हुन्छ म त्यो दिन यसबारे सबै खुलस्त बताउनेछु । कुकुरले मान्छेलाई टोक्यो भन्दैमा मान्छेले कुकुरलाई टोक्न उपयुक्त हुँदैन । म अहिले उनीहरुको नाम, ठेगाना यो समयमा भन्न उचित ठान्दिन ।

तपाईंले राजीनामा दिनुको खास कारण हो ?

वीर अस्पतालमा हामी न्युरो सर्जरीको मुख्य ३ जना प्रोफेसर थियौं । एकजनाले बाध्य भएर एक वर्ष अगाडि राजीनामा दिनुभयो । आज आएर मलाई पनि राजीनामा दिन वाध्य पारियो । तेस्रो प्रोफेसरले पनि अब चाँडै नै राजीनामा दिने बाध्यता सिर्जना भईसकेको छ । न्युरोसर्जरी विभाग नै पूरै भताभुङ बनाएर यहाँ अध्ययनरत राष्ट्रिय तथा अन्तरास्ट्रिय विद्यार्थीको भविष्य लथालिङ पार्ने काम हुँदैछ । वीर अस्पातलदेखि न्युरो सर्जरी विभाग नै पूर्ण रुपमा खाली गराईदैछ । यसअघि गोपालराम सरलाई राजीनामा दिन बाध्य गराईयो । अहिले धुर्व अधिकारीलाई वाध्य गराईदैछ । तर अर्को न्युरो सर्जनले पनि यहाँ छोड्दैछन् । वीर अस्पतालको न्युरो सर्जरी विभागलाई खत्तम बनाउने प्रयास भएको छ ।

बीर अस्पतालको न्यूरो सर्जरी विभाग कमजोर बनाएर निजी अस्पताललाई लाभ दिन खोजिएको हो कि ?

मैले यस बिषयको बारेमा केही पनि बोल्न सक्दिन । यो हुन पनि सक्छ र नहुन पनि सक्छ ।

तपाईको राजीनमाबारे के प्रतिक्रिया आएको छ मन्त्रालयबाट ?

बल मन्त्रालयको कोर्टमा छ । उहाँहरुले स्वविवेकले धुर्वराज अधिकारीलाई बाँकी अवधि वीर अस्पातलमा बसेर बिरामी जाँच गर्न दिँदा राम्रो हुन्छ भन्ने लाग्यो भने सबै ठीक हुन्छ । नत्र वीर अस्पातलको न्युरो विभाग बिग्रिने बाहेक केही देख्दिन म ।

तपाईं तलब बिहिन भएर काम गरेको भन्नुभएको छ, किन यस्तो?
मेरो अहिलेसम्म पोस्टिङ्मा गईसकेको छैन । त्यसैले मैले नवौ तहको तलब पाउने कुरा त हुँदै भएन । म अहिलेसम्म पनि आठौ तहको मेडिकल अफिसर कै तलब खान्छु किनभने हातमुख त जोड्नै पर्यो । मेरो अस्पातलबाट निस्किएर यो भन्दा अनेक अवसरहरु पाउछु तर मेरो एउटै मात्र ईच्छा भनेको यस अस्पातलमा आफ्नो कार्य अवधिसम्म काम गर्न पाउँ भन्ने हो ।

बीर अस्पतालप्रति तपाईको लगाब बढी किन ?

म गरीब परिवेसबाट हुर्किएर आएको मान्छे हुँ । गाउँबाट हुर्किएर आएको मान्छे हुँ । त्यसकारणले पनि गरीब, दुःखीहरुसँग मेरो आत्मियता बढी छ । मैले दैलेखका नाङगा बिरामीहरु हेरेको छु, राउटेहरुलाई हेरेको छु र धेरै मानसिक रोगीहरुलाई पनि हेरेको छु । मैले मानसिक अस्पातलमा पनि १० वर्षको अनुभव छ र उनीहरुको ब्रेन कसरी खोले, कसरी न्युरोसर्जन बने भन्ने बेग्लै ईतिहास छ । अन्तिम समयमा म सन्यासी हुन खोजेको होईन तर देशले यत्रो वर्ष सेवा दिएको डाक्टरहरुको सम्मान गर्दिए हुन्थ्याे ।

न्युरो सर्जरीको सेवा कति महंगो छ भने सबैलाई थाहा नै छ । मैले वीरमा भन्दा बाहिर रहेर हजारौ गुण बढी पैसा, ईज्जत पनि कमाउन सक्छु । यत्रो वर्षसम्म काम गरिसकेपछि वीर अस्पतालमा मेरो जति साख पुग्नु छ त्यति पुगिसकेको छ । जसरी टाउको भन्दा माथि कुनै अंग छैन, त्यस्तै प्रोफेसर भन्दा माथि कुनै पोस्ट पनि छैन र म न्युरोसर्जरी युनिटको प्रमुख पनि छु ।  म जस्तो दुःखी परिवारबाट हुर्किएर आएको छु । त्यस्तै मानिसहरुको सेवा मेरो कार्य अवधिभर गर्न पाउँ भन्नको लागि मात्र मैले यो अनुरोध गरेको हुँ ।

बढुवा गरेको पत्र:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.