आजै पैसा कमाउनै पर्ने सोँचले हामीलाई गलत ठाउँमा लाँदैछ: अर्थमन्त्री डा. खतिवडा

  २०७५ कार्तिक ३० गते २१:४१     विकासन्युज

हामीले उपलब्ध श्रोत साधनबाटै नागरिकका असिमित आकांक्षा पुरा गनुपर्ने अवस्था छ । त्यसका लागि हामीले विनविन अवस्थाका आधारमा निजी क्षेत्रसँग फराकिलो दायरामा सहकार्य गर्नुपर्नेछ ।

हाम्रो मुख्य चुनौती भनेको लगानी र त्यसको गुणस्तरको अभिवृद्धि नै हो । त्यस मार्फत उत्पादकत्व अभिवृद्धि र हाम्रो अर्थतन्त्रको प्रभावकारीता बढाउनु, प्रतिष्पर्धी क्षमता बढाउनु र विश्व बजारसँग प्रतिष्पर्धा गर्न सक्ने सक्षम बनाउनुपर्नेछ ।

हाम्रो अर्थतन्त्रका केहि मौलिक बिशेषताहरु छन्, जोखिमहरु छन र अवसर पनि छन् । हाम्रा हिमाल, डाँडा र पाखाहरुमा बस्तीहरु छन् । त्यहाँ सडक, बिजुली, पानी, ढल, शिक्षा स्वास्थ्य र सञ्चारका सेवा विस्तार गर्न निकै मुस्किल छ । फेरी पनि ती ठाउँहरुमा नागरिकहरुका मनोभावना जोडिएका छन् ।
नागरिकहरुको सदियौंदेखिको सामाजिक पहिचान र संंस्कृतिसँग जोडिएका त्यस्ता ठाउँबाट अन्यत्र सार्न सकिने अवस्था छैन, जसो तसो विकासका पूर्वाधारहरु निर्माण गर्नै पर्ने बाध्यता छ । त्यति मात्रै होइन, कतिपय त्यस्ता ठाउँमा गरिएका विकासहरुले हाम्रो पर्यावरणलाई नै असर पनि गरिरहेको छ । तर पनि हामी नागरिकको इतिहास, जनजिवन र मनोभावना गासिँएका ठाउँहरुमा विकास गर्न बाध्य छौं ।

हामीसँग संस्थागत सोँच र प्रवृत्तिका सवाल पनि छन् । हामी भोली होइन आजै पैसा कमाउन चाहान्छौं । क्षण भरमै पैसा कमाउने सोँचले हामीलाई राम्रो बाटोमा डोर्याईरहेको छैन् । यो स्टक एक्सचेञ्ज जस्तो होइन जहाँ लगानी गर्ने वित्तिकै प्रतिफल पाईयोस् ।

हामीले आफ्नो लगानीलाई सामाजिक क्षेत्र र उद्योग धन्दाहरुमा लगाएपछि प्रतिफल पाउन पनि केहि समय कुर्नै पर्छ । हामीले लगानी गर्ने उपयुक्त समय र लगानीबाट प्रतिफलको आस गर्ने पनि उपयुक्त नै हुनुपर्छ । तर हाम्रो सोँच यस्तो भएको छ की हामीलाई अहिले नै प्रतिफल चाहिएको छ । हामीले यस्तो खाले चिन्तनलाई चाँडै बदल्नु आवश्यक छ ।

दोश्रो कुरा भनेको हााम्रो उद्यमशिलताको प्रश्न पनि हो । हामी जोखिम वहन गर्ने खालका भएनौं । हामीले खाली जोखिमलाई पन्छाउने काम मात्रै गर्यौं । हामी धेरै पैसा खोज्छौं, सुरक्षित जागिर खोज्छौं तर जोखिम उठाउन चाहादैनौं । उच्चतम प्रतिफल खोज्नेले त जोखिम पनि ठूलै उठाउनु परो नी । लगानी नगरि, जोखिम नबोकी खाली प्रतिफल मात्रै खोजेर पाइँदैन् ।

अब अर्थतन्त्रको वृद्धिको सवाल आउँछ । अहिलेकै गतिबिधीले दुई अंकको आर्थिक वृद्धिदर सम्भव छैन् । तर त्यसले उच्च आर्थिक वृद्धिदरका लागि आधार तयार पार्छ । त्यसकारण हामी भोली नै दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सक्दैनौं तर केहि समयपछि भने पक्कै पनि त्यो सम्भव छ । त्यसका आधारहरु तयार भएका छन, पर्यटन, साना उद्योग, कृषि, वित्तिय क्षेत्रको प्रवद्र्धन, वित्तिय समावेशीता लगायतका हाम्रा कामहरुले दुई अंकको वृद्धिदरको आधार बनाईरहेको छ ।

हाम्रा पर्यटन गन्तव्यहरु पनि राम्रा सडक र पहुँच मार्गहरुको अभावमा यथेष्ठ लाभ दिन सक्ने अवस्थामा देखिएका छैनन् । अब समय आएको छ की पर्यटन गन्तव्यहरुको प्रवद्र्धन र हाम्रा परम्परागत कार्य प्रणालीहरुमा नयाँ प्रबिधी भित्र्याउनुपर्नेछ । हाम्रो बिबिधतायुक्त भू बनोट ठूलो चुनौती हो । प्राकृतिक विपत्ति पनि अर्काे चुनौती हो । मौसम परिवर्तन पनि अर्काे चुनौती हो ।

हामीले आफ्नो प्रगतिलाई नजिकका छिमेकीहरुसँग तुलना गर्नु पर्छ । लामो राजनीतिक अस्थिरताले हामीलाई समस्या पारेको हो । हामी हाम्रो भूगोल बदल्न सक्दैनौं, हाम्रो छिमेकी बदल्न पनि सक्दैनौं । अब पहुँच मार्गहरुको राम्रो सुधारबाट हामीले छिमेकी बजारबाट लाभ लिने हो ।

प्रबिधी हस्तान्तरण हाम्रा लागि ठूलो आवश्यकता हो । छिमेकबाट त्यसो गर्ने तर्फ पनि ध्यान दिनुपर्छ । हामीले राजनीतिक स्थायीत्व पाएका छौं । अब संघियता कार्यान्वयन बाहेक अन्य कुनै राजनीतिक एजेण्डा बाँकी छैनन् । सरकारसँग आर्थिक एजेण्डा बाहेक अरु केहि पनि छैन् । अब सरकारले आफ्नो र निजी क्षेत्र दुबैको पुनःसरंचना गर्छ । बजेट मार्फत सरकारी नीति र निजी क्षेत्रको सुधारका कार्यक्रम ल्याउँछौँ । वित्तिय क्षेत्र पनि सुधार ल्याउँछौं ।

अझै पनि नागरिकको ठूलो हिस्सा बैंक तथा बीमाको पहुँच भन्दा बाहिरै छन । तिनलाई औपचारिक रुपमा वित्तिय पहुँच भित्र ल्याउन हामीले केहि गर्नैपर्नेछ । हामीले निजी क्षेत्रलाई फराकिलो दायरामा सहकार्यका लागि आव्हान गरिरहेका छौं । हामी विश्व अर्थ व्यवस्थाको धक्काबाट टाढा रहन सक्दैनौं । त्यस्तो हावाबाट जोगिने हो र त्यसको सहि सदुपयोग गर्ने हो ।

सरकारी क्षेत्र र निजी क्षेत्रले एक अर्कालाई विपक्षी देख्ने प्रवृत्ति छ । त्यसको पनि अन्त्य आवश्यक छ । सरकारले आफ्नै क्षेत्रमा धेरै काम गर्ने ठाउँ छ, निजी क्षेत्रलाई पनि अझै ठूलो स्पेश खाली छ । तर यी दुई क्षेत्र एक अर्काको कार्यक्षेत्रमा प्रवेश गर्न चाहिरहेको देखिन्छ । अब त्यसको पनि अन्त्य हुनेछ ।-विश्व बैंक समुहले आयोजना गरेको कार्यक्रममा मन्त्री डा. खतिवडाले व्यक्त गरेको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.