सरकारले अबको तीन वर्ष भित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गरी सक्ने

  २०७५ कार्तिक २८ गते १५:४६     विकासन्युज

काठमाडौँ । सरकारले तीन वर्षभित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले तीन वर्षमा निर्माण हुन बाँकी रहेका दुई हजार ४०० झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाइएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकको पहिलो बैठकबाट तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गरेका थिए ।

पुलको अभावमा जोखिमपूर्ण र कष्टपूर्ण यात्रा गर्न बाध्य भएका भन्दै सर्वसाधारणलाई एक घण्टाभन्दा बढी फेरो लगाएर नदी तर्न नपर्ने गरी सुगमता प्रदान गर्नका लागि पुल निर्माण गर्न थालिएको हो । यस आर्थिक वर्षमा ७०० झोलुङ्गे पुल निर्माण गरी प्रदेश र स्थानीय तहलाई हस्तान्तरण हुने गरी कामसमेत शुरु गरिएको छ । यस्तै यस आर्थिक वर्षमा ६ सय ५८ झोलुङ्गे पुलको नियमित प्राविधिक सेवासमेत दिइएको छ ।

सरकारले तीन वर्षमा ती दुई हजार ४०० झोलुङ्गे पुल निर्माण प्रदेश र स्थानीय तहको सहयोगमा गर्नेछ । मन्त्रालयले उक्त महत्वाकांक्षी लक्ष्य हासिल गर्नका लागि तीनै तहका सरकारको स्रोत परिचालनमा साझेदारी तथा कार्यान्वयनमा सहकार्य एवं समन्वय अभिवृद्धि गर्न झोलुङ्गे पुल क्षेत्रगत सञ्चालक समितिले सङ्घ, प्रदेश र स्थानीय तहलाई तहगत जिम्मेवारीसमेत दिएको छ  । प्रदेश तहले झोलुङ्गे पुलको प्रादेशिक योजना तर्जुमा, प्रादेशिक बजेट तथा अन्य स्रोत साधन विनियोजन, निर्माण सामग्रीको भण्डारण एवं व्यवस्थापन र स्थानीय तहको अनुरोधबमोजिम स्टिल पार्टस खरीद र विशिष्ट लम्बाइका झोलुङ्गे पुलको निर्माण स्थानीय तहलाई आवश्यकताअनुसार प्राविधिक सहयोग गर्ने छ ।

यसैगरी स्थानीय तहले सङ्घ र प्रदेश तहले उपलब्ध गराएको बजेट र प्राविधिक सहयोग उपलब्ध गराउनेको आधारमा झोलुङ्गे पुल निर्माण गर्नेछ । प्रवक्ता अधिकारीले दुई हजार ४०० झोलुङ्गे पुल निर्माणका लागि सङ्घीय सरकारका प्रतिनिधि, प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र झोलुङ्गे पुल सहयोग एकाइबीच चाँडै नै त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षरसमेत हुने जानकारी दिएका छन् ।

समझदारीमा हस्ताक्षर हुने बित्तिकै कामलाई तीव्रता लगिने बताएका छन् । उपभोक्ता समितिले १२० मिटरसम्मका र निर्माण व्यवसायीबाट १२० मिटरभन्दा बढी लामो दूरीका झोलुङ्गे पुल निर्माण गर्न सक्नेछन् । हाल सात हजार ५०० झोलुङ्गे पुल निर्माण भएका छन्, भने अन्य झोलुङ्गे पुलको नियमित मर्मतसम्भार स्थानीय तहले गर्ने प्रवक्ता अधिकारी बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.