विद्यालय तहको नयाँ पाठ्यक्रम आउँदै, शैक्षिक सत्रदेखि लागू हुने

  २०७५ कार्तिक २८ गते १५:४९     विकासन्युज

काठमाडौं। संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिक सत्रदेखि नमूना परीक्षणका रूपमा लागू हुने भएको छ ।

समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) सहितको नयाँ पाठ्यक्रमको प्रारूप कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्रले तयारी सुरू गरेको हो ।

व्यवसायिक शिक्षाको धारलाई प्राथमिकता दिइएको सो प्रारूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट पारित भएको थियो । केन्द्रका महानिर्देशक डा लेखनाथ पौडेलले नयाँ प्रारूप अनुसार पाठ्यक्रम तयार गर्न विज्ञको सूची (रोष्टर) तयार गर्न आह्वान गरिएको र आउँदो शैक्षिकसत्रदेखि कक्षा १ बाट परीक्षण सुरू हुने जानकारी दिए । पाठ्यक्रमको परीक्षण गरिएपछि त्यसका आधारमा पाठ्यपुस्तक तयार गरी कार्यान्वयन गरिन्छ। उनका अनुसार अन्य कक्षाका पाठ्यक्रम क्रमशः आगामी शैक्षिकसत्रदेखि लागू हुनेछ। हरेक वैशाख पहिलो साता देशभर नयाँ शैक्षिकसत्र लागू हुनेछ ।

नेपालको संविधानबमोजिम विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहमा दिइए पनि पाठ्यक्रम र परीक्षा केन्द्र सरकारकै मातहतमा राखिएको छ । मन्त्रालयले विसं २०६३ मा लागू गरेको सो विद्यालय शिक्षाको प्रारुप यसअघि २०७१ मा परिवर्तन भएको थियो ।

नयाँ प्रारूपको व्यवस्थाले कक्षा ११ र १२ लाई एकल पथीय बनाउँदै कक्षा ९ र १० मा पाँच अनिवार्य र दुइटा पेशा व्यवसायिक ऐच्छिक विषय रहने प्रबन्ध गरेको छ । कक्षा ११ र १२ मा नेपाली, अङ्ग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिने बताए ।

सो तहमा कूल ९६० वार्षिक कार्य घण्टा हुनेछ । प्रारूपले एक क्रेडिट आवरमा ३२ घण्टा मानेको छ । गणित विषय पनि ऐच्छिकमा रहनेछ । नयाँ प्रारूपले संविधानको मौलिक हक, सङ्घीय, प्रदेश र स्थानीय तहको संरचना, आर्थिक सामाजिक रुपान्तरणका सवाल, विद्यालय क्षेत्र विकास कार्यक्रम, मुलुकको दीर्घकालीन विकासमा शिक्षाको योगदानका पक्षमा ध्यान दिएको मन्त्रालयले जनाएको छ ।

शिक्षामा विश्वव्यापीकरणको प्रभावलाई प्रारुपले आत्मसात् गरेको जनाउँदै नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठन नेपाली र सबै राष्ट्रभाषामा मात्र हुनुपर्ने व्यवस्था पनि गरिएको छ । नयाँ प्रारूपअनुसार अब विद्यार्थीको मूल्याङ्कन (परीक्षा प्रणाली) मा समसामयिक परिमार्जन हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.