संस्थागत लगानीकर्ताले अनलाईनबाट सेयर कारोबार गर्न पाएनन्, किन चिनेन सिस्टमले ?

  २०७५ कार्तिक २६ गते २१:१६     विकासन्युज

काठमाडौं । अनलाइनबाट सेयर किनबेच गर्ने नयाँ प्रणालीबाट संस्थागत लगानीकर्ता कारोबार गर्न नपाउँदा सेयर कारोबारमा कमी देखिएको छ । अनलाईनबाट सेयर कारोबार शुरु भएको पहिलो दिन ३ करोड रुपैयाँ बराबारको सेयर कारोबार भएको थियो भने दोस्रो दिन १० करोड र तेस्रो दिन करिव १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

व्यक्तिगत कारोबार आदेशलाई नयाँ प्रविधिले स्वीकार गरेको तर संस्थागत लगानीकर्ताको कारोबार आदेश (अडर) सिस्टमले स्वीकार नगरेको एक ब्रोकरले बताए । परिणाम बैंक, बीमा कम्पनी, म्यूचल फण्ड, इन्भेष्टमेन्ट कम्पनी लगायत संस्थागत लगानीकर्ता सेयर किनबेच गर्न पाएका छैनन् ।

ठूलो परिणाममा सेयर किनबेच गर्ने लगानीकर्ताले कारोबार गर्न नपाएपछि कारोबार रकम थोरै भएको बताएको छ । पुरानो सिस्टमबाट कारोबार बन्द गरिनु र नयाँ सिस्टमले काम नगर्नुले शुरुका दिनमा कारोबार जटिल र अन्यौलपूर्ण देखिएको छ ।

पुरानो सिस्टमको डाटा नयाँ सिस्टममा ट्रास्सफर गर्दा केही समस्या आएको तर त्यो ठूलो समस्या नभएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भनाई छ । ग्राहक पहिचाहन विवरण (केवाईसी)मा व्यक्तिलाई झै संस्थाको पनि तीन पुस्ते विवरण सिस्टमले मागेपछि समस्या आएको हो । सिस्टममा भएको उक्त त्रुटी सच्याउने काम भईरहेको र मंगलबारदेखि संस्थागत सेयर कारोबार पनि सुचारु हुन सक्ने नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए ।

अनलाईन कारोबारको क्रममा शुरुमा देखिएका समस्यालाई समाधान गर्न नेप्से र सफ्टवेयर निर्माता वाईको गम्भिर भएको र धेरै समस्याहरु समाधान हुँदै गएको उनले बताए । ‘नेप्सेले लगानीकर्ता र ब्रोकरसँग समस्या र सुधारका क्षेत्रबारे जानकारी लिईरहेको छ । वाईकोले २२ जना इन्जिनियर खटार देखिएका समस्या समाधान गर्दै गएको छ’ उनले भने ।

दक्ष जनशक्तिको अभाव

ब्रोकर कम्पनीहरुमा नयाँ सिस्टम चलाउन जान्ने जनशक्तिको कमी भएकोले पनि समस्या देखिएको बताइएको छ । ‘कम्प्यूटरमा विद्युत जोड्ने तार छुटेको छ भने पनि सिस्टमले काम गरेन भनेर ब्रोकरहरु नेप्सेमा आए’ नेप्सेका एक जना कर्मचारीले भने–‘नेप्सेले यसअघि नै हरेक ब्रोकरलाई कम्तिमा एक जना आईटीको दक्ष कर्मचारी राख्न परिपत्र गरेको थियो । धेरैले त्यसको पालना गरेको देखिएन ।’

नयाँ सिस्टम कसरी चलाउने भन्ने विषयमा ब्रोकर कम्पनीहरुलाई तालिम दिने, क्षमता विकास गराउने मामिलामा सरोकारवाला सबै निकाय चुकेका एक ब्रोकरले स्वीकार गरे । ‘हामीले पनि आफ्नो क्षमता विकास गर्न नसकेको हौ । नेप्से, सफ्टवयर निर्माता वाईको कम्पनीले पनि यस विषयमा समयमा ध्यान नदिएकोले नयाँ सिस्टम सञ्चालनमा केही समस्या देखियो’ उनले भने ।

संस्थगत लगानीकर्ताको डाटा राख्ने सिस्टम उपयुक्त ढंगले नबनाईनु, कारोबार आदेशलाई उचित रुपमा डिस्प्ले हुने सिस्टम नबनाईनु, अडर अनुसार किनबेच भयो कि भएन भनेर तत्काल कन्फर्म हुने सिस्टम नबनाईनु, बजार घटबढ भएको परिसूचकहरु संकेतमा, प्रतिशतमा, अंकमा प्रष्ट हुने गरी डिस्प्ले हुने सिस्टम नहुनु मुख्य समस्या भएको ब्रोकरहरु बताउँछन् ।

अनलाईन कारोबारमा देखिएको समस्याबारे छलफल गर्न सोमबार साँझ स्टक ब्रोकर एशोसोसिएशनको बैठक बसेको थियो । ‘नयाँ सिस्टमलाई कसरी प्रभावकारी बनाउने ? यसको कार्यन्वयनमा ब्रोकरहरुको तर्फबाट कसरी सहयोग गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको र हाम्रो सुझावहरु नेप्से र वाईकोलाई दिन लागिएको एशोसिएशनका अध्यक्ष भरत रानाभाटले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.