नेप्सेकाे विवादित सफ्टवेयरले काम गरेन, दाेष सेयर ब्रोकर र क्लियरिङ बैंकलार्इ

  २०७५ कार्तिक २६ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले पूर्ण स्वाचालित अनलाईन कारोबार प्रणालीले काम नगर्नुमा सेयर ब्रोकर कम्पनीहरु र क्लियरिङ बैंकहरु दोषी भएको जनाएको छ । नेप्सेले प्रयोगमा ल्याएको सिस्टममा कुनै समस्या नभएको तर सेयर ब्रोकर कम्पनीहरु र क्लियरिङ बैंकले दिने सेवा कमजोर भएकोले लगानीकर्ताले समस्या भोग्नु परेको नेप्सेको दावी रहेको छ ।

साेमबार नेप्सेकाे वेवसाइटमा देखिएकाे गम्भिर समस्या

पूर्ण स्वाचालिन नेप्से अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएको तेस्रो दिनसम्ममा पनि केही समस्या रहेको स्वीकार गर्दै नेप्सेले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–लगानीकर्ताले रियल टाइम कारोबार देख्न नसक्ने, एउटै कम्पनीको सेयर मूल्य एक ब्रोकर र अर्को ब्रोकर कम्पनीमा फरक देखिने, लगानीकर्ताले तत्काल राफसाफ तथा फछ्र्यौट गर्न नसक्ने समस्या रहेको लगानीकर्ताले गुनासो गरेका छन् । ती समस्या क्रमशः हल गरिने छ ।

नेप्सेको कारोबार प्रणाली र नेप्सेको वेवसाइटमा डाटा एक्स्चेञ्जमा समस्या देखिएकोले लगानीकर्ताले रियल टाइम कारोबार हेर्न नपाएको नेप्सेको प्रष्टीकरणमा उल्लेख छ ।

एउटै कम्पनीको सेयर मूल्य एउटा ब्रोकर अफिसमा एउटा र अर्को ब्रोकर अफिसमा अर्को देखिनुको कारण ब्रोकरहरुले प्रयोग गरेको सिस्टममा खराबी भएको नेप्सेको दावी छ । ‘प्रत्येक ब्रोकरले कनेक्सन स्थापित गर्ने क्रममा अवविच्छन्न रुपमा कनेक्सन स्थापित गर्न नसकेको, अर्को ब्रोकर भन्दा फरक समयमा सम्पर्क स्थापित गरेको लगायतका कारणले फरक विवरण देखिएको हुन सक्छ’ नेप्सेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

क्लियरिङ बैंकले रकमको विद्युतीय स्थान्तरणलाई सहज नबनाएकोले लगानीकर्ताले तत्काल राफसाफ तथा फछ्र्यौट गर्न नसकेको नेप्सेको भनाई छ । नेप्सेमा आवद्ध चार बैंक मध्ये एउटासँग मात्र तत्काल राफसाफ तथा फछ्र्यौट गर्न सक्ने सुविधा भएको, अरु तीन वटा बैंकले तत्काल राफसाफ तथा फछ्र्यौटको सेवा दिन नसकेको नेप्सेले जनाएको छ ।

पूर्ण स्वाचालिन नेप्से अनलाईन कारोबार प्रणालीसँग नेप्सेका परिसूचक गणना विधि परिवर्तन भएको हल्लाको पनि नेप्सेले खण्डन गरेको छ । ‘नेप्सेले शुरुदेखि नै संसारभर प्रचलित भ्यालु वेज्टेड इन्डेक्स विधि अनुसार परिसूचक गणना गर्दै आएको र त्यसमा कुनै परिवर्तन नभएको नेप्सेको भनाई छ ।

तिहारअघिबाट लागू गरिएको सेयर अनलाईन अनलाइन ट्रेडिङ सिस्टमले राम्रो काम नगरेपछि यसले सेयर बजारमा ठूलो चर्चा पाएको छ । नेप्सेले प्रयोगमा ल्याएको नयाँ प्रविधि भित्र्याउने क्रममा नै विवादमा तानिएको थियो । सस्तो प्रविधिलाई महँगो मूल्य तिरेको, खरिद प्रक्रिया अपारदर्शी रहेको, पुरानो प्रविधि भित्र्याएको भन्दै यसको शुरु देखिनै आलोचना भएको थियो । यसै विषयलाई लिएर नेप्से र पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डबीच लामो विवाद समत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.