प्रदेश ३ ले इलेक्ट्रिक सवारीका लागि ३० करोड लगानी गर्ने, बैशाखदेखि सञ्चालनमा ल्याउने

  २०७५ कार्तिक २० गते १७:२१     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर ३ ले सार्वजनिक दिगो यातायातका लागि इलेक्ट्रिक सवारीमा ३० करोड लगानी गर्ने भएको छ । प्रदेश ३ मा सवारी सञ्चालन गर्ने गरी यातायातले लगानी गर्न लागेको हो ।

यातायातले प्रदेशभित्रका १३ जिल्ला र अन्तर प्रदेश सवारी सञ्जाल विस्तार गर्न लागेको हो । मंगलबार राजधानीमा बसेको एक बैठकमा मुख्य मन्त्री डोरमणि पौडेल, मेयर विश्व सुन्दर शाक्य साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, कार्यकारी अधिकृत महेन्द्रराज पाण्डे सहित बसेको बैठकले लगानी गर्ने सहमति गरेको हो ।

बैठकमा मुख्यमन्त्री पौडेलले सार्वजनिक निजी साझेदारितामार्फत सार्वजनिक यातायात सञ्चालन गर्ने बताए । इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गरेर वातावरणमा इन्धनजन्य सवारीबाट परेको असर कम गर्ने प्रदेशको नीति अनुरुप लगानी हुनेछ । यसका लागि आउँदो बैशाखबाट प्रदेश सरकारबाट सञ्चालित बिद्युतीय बसहरु चल्नेछन् ।

 महानगरपालिकाले सार्वजनिक यातायात प्रणालीमा सुधार ल्याउन लगानी गरिसकेको छ । यसबाट प्रतिफलको लाभभन्दा नागरिकलाई सहज सेवाको अपेक्षा गरिएको मेयर शाक्यले बताए ।

अहिले स्थानीय तहमा गरेको अभ्यासका आधारमा प्रदेश सरकारसँग हामी साझेदारिता गर्न तत्पर रहेको साझाका अध्यक्ष दीक्षितले बताए । साझा यातायातमा अहिले संघ सरकारको करीव २६ करोड, काठमाडौं महानगरको १५ करोड, ललितपुर महानगरको १ करोड रुपैयाँ तथा ललितपुरकै गोदावरी र महालक्ष्मी तथा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको शेयर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.