सेयर काराेबार मंगलबारदेखि अनलाइनमा, कसरी हुन्छ अनलाइन ट्रेडिङ ?

  २०७५ कार्तिक १९ गते २०:२४     विकासन्युज

काठमाडौं । नेपाली शेयर बजारमा मंगलबारदेखि अनलाईन प्रणालीको सुरुवात हुँदैछ । नेप्सेले २० करोड भन्दा बढी लगानी र डेढ बर्षभन्दा बढीको प्रयासपछि उक्त प्रणालीको सुरुवात गर्न लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहान साढे १० बजे होटल याक एण्ड यतिमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले त्यसको उद्घाटन गर्नेछन् । उद्घाटनपछि बजारमा जुनसुकै लगानीकर्ताले अनलाईनमार्फत् शेयर खरिदबिक्रीका लागि आदेश दिनसक्ने नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए ।

नेप्सेले आम सर्वसाधारणका लागि अनलाइन ट्रेडिङ प्रणाली खुल्ला गरे पनि उक्त प्रणालीमार्फत् कारोबार गर्न लगानीकर्ताले आधारभूत पूर्वाधार पूरा गर्नुपर्ने हुन्छ । प्रवक्ता पराजुलीका अनुसार कुनै पनि व्यक्तिसँग बैंक खाता र सो बैंकखातासँग लिङ्क रहेको डिम्याट खातासँगै खरिदबिक्री आदेश प्रयोजनका लागि प्रयोगकर्ताको नाम र पासवर्ड हुनुपर्नेछ । त्यसबाहेक ग्राहकको डिम्याट खातासँग लिङ्क भएको बैंकसँग खातावालाले इन्टरनेटमार्फत् भुक्तानी गर्ने (इ–बैंकिङ) सुविधा लिएको हुनुपर्छ ।

अनलाइन ट्रेडिङबारेका यी भ्रम जुन त्याग्नु जरुरी छ

१. शेयर राफसाफको समय घट्दैन
अनलाइन ट्रेडिङलाई आम उपभोक्ताले शेयर बिक्रीलगत्तै बैंक खातामा पैसा आउने र खरिदलगत्तै डिम्याट खातामा शेयर थपिने प्रणालीको रुपमा बुझेका छन् । तर अनलाईन ट्रेडिङ प्रक्रियाले राफसाफको समयमा तत्काल कुनै प्रभाव नपार्ने प्रवक्ता पराजुलीको टिप्पणी छ । उनका अनुसार शेयर राफसाफ लागि अहिलेजस्तै ३ दिन समय लाग्नेछ । अनलाइन ट्रेडिङ लागु भएका अन्य देशहरुमा समेत राफसाफका लागि समय लाग्ने उनले बताए । एकै दिनमा कयौं पटक कारोबार गर्ने कारोबारीहरुका लागि भने ती देशहरुमा ‘डि—ट्रेडिङ’ नामको छुटै प्रणाली भएको र निकट भविष्यमा नेप्सेले त्यसलाई भित्र्याउनेछ ।

२. ब्रोकर, डिपी र सीडीएससीको भूमिका उस्तै
सुरु हुनै लागेको कारोबार प्रणालीसँगै कतिपयले ब्रोकर तथा डिपीहरुको कुनै भूमिका नहुने र केन्द्रीय सूचना प्रणालीमार्फत् सोझै शेयर खरिदबिक्री हुने अनुमान गरेका छन् । तर अनलाइन कारोबारपछि पनि उनीहरुले हाल निभाइरहेको भूमिका कुनै परिवर्तन नहुने नेप्से स्रोतले जानकारी दिएको छ ।

३. तत्काल कमिसन घट्दैन
अनलाईन ट्रेडिङसँगै शेयर कारोबारमा ब्रोकरले लिने कमिसनको दरमा समेत भारी गिरावट आउने अपेक्षा गरेका छन् । तर नेप्से त्यो दर तत्काल घटाउने पक्षमा छैन । ब्रोकरहरुले अनलाइन ट्रेडिङका लागि ठूलो लगानी गर्नुपर्ने भएकोले तत्काल कमिसन घटाउँदा ब्रोकरहरुमाथि अन्याय हुने भएकोले तत्काल सो कमिसन नघट्ने नेप्से स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रत्येक ब्रोकरले अनलाइन ट्रेडिङको पूर्वाधार पुर्याउन डेढदेखि २ करोड रुपैंया खर्च गर्नुपर्नेछ सन्दर्भमा नेप्से ब्रोकरको लगानी सुरक्षित बनाउनेतर्फ उदार हुने देखिन्छ । अहिले भने ब्रोकरहरुले नेप्सेले किनिदिएको सिस्टमलाई भाडामा लिएर प्रयोग गर्नेछन् ।

४. अहिलेको कारोबार प्रणाली निरन्तर रहन्छ
नेप्सेले अनलाइन प्रणालीको सुरुवात गरे पनि अहिले प्रयोग भएको ‘म्यानुअल ट्रेडिङ प्रणाली’समेत निरन्तर रुपमा रहनेछ । शेयर अभौतिकीकरणको सन्दर्भमा जस्तो केही समय दुवै प्रणाली समानान्तर रुपमा अघि बढ्ने र पछि अनलाइन ट्रेडिङ प्रणालीमात्र लागु हुन्छ कि भन्ने आशंका नगर्न समेत नेप्सले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.