विद्या सुन्दर शाक्यको दुखेसोः मेलम्चीले धुलो पार्यो, १६ सय कर्मचारीले सफाई गरेनन्

  २०७५ कार्तिक १९ गते १६:२५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाका कारण धुले बढेको तर आफुलाई गाली गरिएको भन्दै आपक्ति जनाएका छन् । ‘हामीले काठमाडौंलाई धुलोमुक्त बनाउँछौं भनेका थियौं । मेलम्चीले आफ्नो काम तत्काल सम्पन्न नगर्दा त्यसको प्रत्यक्ष असर काठमाडौं महानगरलाई परिरहेको छ ।’, शाक्यले भने ।

काठमाडौंलाई स्वच्छ, धुवाँ र धुलोमुक्त सहर बनाउनको लागि महानगरले जेट र ब्रुमरजस्ता आवश्यक उपकरण खरिद भैसकेको जनाउँदै उनले भने,‘अहिले ५ वटा ब्रुमर आउने प्रक्रियामा छन् । अहिले मासिक २५ करोड रुपैयाँ सफाईका कर्मचारीको लागि खर्च भैरहेको छ । तर, पनि काठमाडौं सफा भैरहेको छैन् ।’

उनका अनुसार महानगपालिकासँग हाल एक हजार ६ जना फोहोरसम्बन्धी कर्मचारीहरु छन् तर उनीहरुले राम्रोसँग काम नगरेकाले पनि सरसफाईमा सुधार नभएको आरोप पनि लगाए । उनले फोहर संकलन हटाएर ब्रुमरको संख्या बढाउने तयारी भैरहेको पनि जानकारी दिए ।

काठमाडौंका विभिन्न सडकहरुमा फोहोर थुप्रिँदा यसबारेमा काठमाडौंको मेयर र महानगरपालिकालाई भन्नु स्वभाविक भएको उल्लेख गर्दै उनले भने,‘जो सँग आश छ, जसलाई विश्वास गरिन्छ, उसैले भन्ने हो । तर, काठमाडौं महानगरपालिकाले आफ्नो मात्रै हाईन, प्रदेश र संघीय सरकारको पनि काम गरिरहेको छ । उहाँहरुले गर्नुपर्ने दायित्व पूरा गरिरहेका छौं । अहिले सिसडोलमा काठमाडौं महानगरपालिकाको मात्रै होईन, काठमाडौं जिल्लाको १८ वटा नगरपालिकाहरुको फोहोर जान्छ । काभ्रेको फोहोर त्यहाँ जान्छ। धादिङको फोहोर त्यहाँ जान्छ । के सबैको जिम्मेवारी काठमाडौं महानगरपालिकाको मेयरको हो र ? होईन नि। तर, नहुँदा नहुँदैपनि काठमाडौं महानगरपालिका पूरानो र धार्मिक सोच भएको सहर, राजनीतिक सहर भएको नाताले प्रदेश र संघीय सरकारले गर्नुपर्ने काम हामीले गर्दै आईरहेका छौं ।’

सम्बन्धित मन्त्रालयका सचिवहरुसँग लामो छलफलपछि बञ्चरे डाँडो कसले बनाउने ? सेन्ट्रल ल्याण्डफिल्ड कसले बनाउने ? भन्नेबारे टुँगो लागिसकेको पनि उनले जनाए । उनले भने,‘त्यसको लागि हामीले तीन वटा निर्णय गरेका छौं । पहिलो निर्णय भनेको बञ्चरे डाँडो नै अन्तिम गन्तव्य हो । सिसडोलमा अहिले हामी फोहोर फाल्न सक्दैनौं । बढिमा तीन महिनापछि अब त्यो फोहोर बञ्चरे डाँडोमा लैजानुपर्छ । त्यसको लागि चाहिने बाटो, पूर्वाधारहरु नेपाल सरकारले बनाउनुपर्छ भनेर हामीले भनेका थियौं । अहिले धमाधम डिपिआरको काम भैरहेको छ ।’

त्यस्तै उनले तीन पिप्लेदेखि बञ्चरे डाँडासम्मको सडक कसले बनाउने भन्नेबारे पनि आफूहरुले छलफल गरिसकेको बताए । उनले भने,‘कमसेकम अब यो बाटो दुई लेनको बनाउनुपर्छ । यसबारेमा पनि हामीले निर्णय लिईसकेका छौं । यो बनाउने जिम्मा पनि संघीय सरकारले लिईसकेको छ । अर्को भनेको बालाजुदेखि तिनपिप्लेसम्मको पासाङ ल्हामु राजमार्ग बनाउने कुरा हो । अब कार्यान्वयन सुरु हुन्छ ।’

काठमाडौंमा मोनोरेल चलाएरै छाड्ने प्रतिवद्धता

त्यस्तै उनले मोनो रेल चलाउनेबारे सम्भाव्यता अध्ययन पूरा भैसकेको र अहिले प्राविधिक अध्ययनको काम जारी रहेको बताए । उनले भने,‘नेपालमा मोनो रेल विज्ञ कोही छैनन् । हामीले बुट मोडलमा बनाउने तयारी गरेका छौं ।’

मेयर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने,‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं । हिजोभन्दा आज धेरै कामहरु भएका छन् । यथार्थ धरातलमा रहेर समिक्षा गर्नुपर्छ ।’

पूर्ननिर्माण सम्बन्धी कामहरुमा सम्पदा पूर्ननिर्माणको २/४ वटा कामहरु बाँकी रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.