नर्भिक हस्पिटलले २ वर्षपछि २ सय शैय्याबाट सेवा दिन्छ- राजेन्द्र बहादुर सिंह

  २०७५ कार्तिक १८ गते १०:१४     विकासन्युज

३० वर्षसम्म नेपाल प्रहरीमा सेवा गरी एअाइजीबाट अवकास पाएका राजेन्द्र बहादुर सिंह यतिबेला नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । फौजी अनुशासनमा तीन दशक बिताएका सिंहले नर्भिककाे कार्यकारी प्रमुख पद समालेकाे पनि १० वर्ष वितिसकेकाे छ । उनकाे नेतृत्वमा नर्भिककाे पूर्वाधार विकास र सेवा विस्तारका कार्य निकै अगाडि बढेकाे छ । प्रस्तुत छ नर्भिक इन्टरनेशनल हस्पिटलकाे सेवा, यसकाे भावी याेजनाका बारेमा केन्द्रीत भर्इ बस्नेतसँग गरिएकाे कुराकानी । 

राजेन्द्र बहादुर सिंह, कार्यकारी निर्देशक- नर्भिक इन्टरनेशनल हस्पिटल

निजी क्षेत्रमा नयाँ नयाँ राम्रा अस्पतालहरु आइरहेका छन्, प्रतिष्पर्धा कस्तो छ ?

अहिले पनि क्रिटिकल केयरका लागि नर्भिक एउटा उपयुक्त विकल्प हो । कहिँ पनि ठिक नभएपछि नर्भिकमा हुन सक्छ भन्ने इमेज बनेको छ । कुनै पनि रोगका लागि नर्भिक आए पनि अर्काे रोग देखिँदा समेत हामी उपचार सेवा उपलब्ध गराउन सक्छौं । नागरिकमा नर्भिक प्रतिको विश्वास बढिरहेको छ । हामीसँग सबै खाले सुबिधाहरु छन् । सबै खाले रोगहरुको उपचार हामी कहाँ सम्भव छ ।

कुरा रह्यो प्रतिष्पर्धाको । निजी अस्पतालहरु खुल्नु राम्रो कुरा हो । निजी लगानी बढ्नुपर्छ । नागरिकले सेवा रोज्न पाउनुपर्छ । नर्भिकको प्रतिष्पर्धा भनेको आफैंसँग हो । अरु अस्पताल खुलेकाले हामीलाई कुनै समस्या पर्दैन । नर्भिकको गुणस्तरीय सेवालाई अझै बढाउनु नै हाम्रो लागि प्रतिष्पर्धा र चुनौतिको कुरा हो ।

हामी अहिलेको गुणस्तर र सेवालाई अझै बढाउने, नयाँ प्रबिधि र सुबिधा कसरी बढाउने भन्नेबारे सोचिरहेका छौं । नयाँ अस्पतालले हामीलाई प्रतिष्पर्धामा कुनै समस्या हुन्न ।

यतिबेला नर्भिक हस्पिटलकाे उपचार क्षमता कस्ताे छ ?

नर्भिक अस्पतालले २५ वर्ष पुरा गरेको छ । भाडाको घरमा २० वेडबाट सुरु गरेको अस्पताल आज १०० वेडसम्म विस्तार भैसकेको छ । हामी मल्टिनेशनल अस्पतालका रुपमा स्थापित भैसकेका छौं । अब २०० वेड क्षमता पुर्याउँदैछौं । सरकारले तोकेको सबै मापदण्डहरु पुरा गरिरहेका छौं । सेवा र गुणस्तर विस्तार हाम्रो मुल लक्ष्य हो ।

शतप्रतशित क्षमता विस्तार गर्दै हुनुहुन्छ, काम कहाँ पुग्यो ?

वातावरणीय मूल्यांकन सम्पन्न गरिसकेका छौं । भवन निर्माण, उपकरण खरिद, जनशक्ति व्यवस्थापनको काम भैरहेको छ । २ वर्षभित्र २ सय वेडको अस्पताल सञ्चालनमा आउँछ । सरकारले वेड विस्तारको अनुमति दिईसकेको छ ।

मेडिकल कलेज सञ्चालनको कुरा थियो, त्यो कहाँ पुग्यो ?

हामीले सुरुमा मेडिकल कलेज खोल्ने भनेका थियौं तर अहिले स्थगित गरेका छौं । सितापाइलामा पूर्वाधार बनाएर मेडिकल कलेज बनाउने तयारी थियो । १ सय रोपनी जमिन किनिसकेका थियौं । अस्पतालको १० किलोमिटर वरपर १ सय रोपनीमा कलेज हुनुपर्ने भन्ने थियो । त्यहि अनुसार जग्गा किनेका थियौं । अहिले त्यतिकै राखेका छौं ।

नर्भिकले कुन कुन सर्भिसलार्ई विस्तार गर्दैछ ?

हामी अहिले मल्टिस्पेशल सेवा दिईरहेका छौं । अब सुपर स्पेशल सेवा दिन खोजिरहेका छौं । कार्डिकमा हामी गौरव गर्न सक्ने अवस्थामा छौं । ग्याष्ट्रो डिपार्टमेन्ट ल्याएका छौं । नयाँ भएपनि गाइनोमा पनि हाम्रो राम्रो छ । फोक्सो, न्युरोमा पनि हामीले नयाँ प्रबिधी ल्याएका छौं । न्युरोमा हामीसँग बिशेषज्ञ डाक्टरहरु छन्, जुन अहिले नर्भिक अस्पतालमा मात्रै छ ।

विश्वको स्वास्थ्य क्षेत्रमा नेटवर्कको सवाल पनि आउँछ, नर्भिकले कहाँ कहाँ सम्बन्ध विस्तार गरेको छ ?

हामीले कार्डिकको लागि मेदान्तसँग सम्बन्ध राखेका छौं । स्कटको पनि मेदान्तसँग छ । बैंकको बुमुङग्रादसँग सम्बन्ध गाँसेका छौं । फोटिससँग पनि सम्बन्ध गाँसेका छौं । अहिले नर्भिकको सेवा विस्तारका लागि विदेशका डा. इडिक र डा. मार्टलाई सल्लाहकार नियुक्त गरेका छौं । नर्भिक इन्टरनेशनल अस्पताल नाम जस्तै गरि सेवा दिईरहेका छौं ।

नागरिकले नर्भिक अस्पताललाई महंगो अस्पतालका रुपमा लिन्छन, किन ?

पहिलो कुरा यो निजी अस्पताल हो । हामीले हरेक वस्तु र सेवा खरिद गर्नुपर्छ । सुरुमा यो कार्डियो अस्पतालका रुपमा स्थापना भएको हो । कार्डियो भनेकै अलि महंगो सेवा हो । सुरुमा बीर अस्पतालसँग तुलना गरेर महंगो भनिएको थियो । अहिले नयाँ खुलेका अस्पतालहरु भन्दा हाम्रो सेवा सस्तो छ । बीर र गंगालाल अस्पतालसँग तुलना गरेर महंगो भनिएको मात्रै हो ।

हामीसँग जनरल वार्डदेखि डिलक्स वार्डसम्म छ । जनरल वार्ड पनि अरु अस्पतालको भन्दा हाम्रो राम्रो छ । जनरल वार्ड भएपनि कुरुवालाई बस्ने व्यवस्था समेत गरेका छौं । जनरल वार्ड र अरु वार्डमा खासै फरक देखिन्न । सेवा सुबिधा नै अरु भन्दा राम्रो भएपछि केहि महंगो त पक्कै हुन्छ नै ।

तिलगंगा अस्पतालमा पनि सरकारको लगानी छैन, आफ्नै आम्दानीले चरिहेको छ, तर त्यो चाँही सस्तो छ, नर्भिक चाँही किन महंगो ?

तिलगंगाको के छ मैले भन्न मिल्दैन् । नर्भिकले नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेको छ । १० प्रतिशत वेड गरिबलाई दिएका छौं । १० प्रतिशत वेड गरिबलाई निःशुल्क दिने नर्भिक नै पहिलो अस्पताल हो । यो अस्पतालमा कसैले आर्थिक सहयोग गरेका छैनन् । हामी आफैंले लगानी गरेर खोलेका हौं । सकेसम्म सस्तोमै सेवा दिने प्रयास गरिरहेका छौं ।

नर्भिकमा उपचार राम्रो हुन्छ भन्ने सोच्ने तर महंगो भएकाले डराउने गरिबहरुलाई के सुझाव दिनुहुन्छ ?


पहिलो कुरा जीवन बाँच्नु नै हो । आउनुस, उपचार गर्नुस् । पहिले बाँच्नुस । त्यस्ता मान्छे आएर बचाउन सकियो भने हाम्रो लागि पनि राम्रो कुरा हो । सबैलाई निःशुल्कै उपचार गर्छाै भनेर भन्दैनौं । तर उपचार गर्न आउनेहरुलाई पैसाकै अभावमा मर्न चाँही दिँदैनौं ।

एउटा कर्पाेरेट हाउसले आफ्ना ग्राहक वा कर्मचारीलाई फलानो अस्पतालमा यति प्रतिशत छुट भनिरहेका छन्, यस्तो छुट नियमित हो की बिशेष ?

टाईअप गर्नु, सिस्टममा आउनु राम्रो हो । सिस्टममा आएर छुट पाउनु राम्रो हो । अनुरोध गरेर छुट पाउनु भन्दा सम्झौता गरेर छुट दिनु झनै राम्रो हो । त्यस्तो टाईअपले कति सेवा सुबिधा दियो भन्ने कुरा चाँही महत्वपूर्ण हो ।

नर्भिक अस्पतालले उपत्यका बाहिर सेवा विस्तार कहिले गर्छ ?

अहिले चाँही हामी २ सय वेड क्षमता विस्तार अभियानमा छौं । त्यसपछि उपत्यका बाहिर पनि सेवा विस्तार गर्ने योजना छ । अहिले पनि हामी उपत्यका बाहिर सामाजिक उत्तरदायीत्व अन्तर्गत स्वास्थ्य शिविरहरु लगिरहेका छौं । जाजरकोटमा झाडापखाला लाग्दा शिविर लगेका थियौं । लुक्लामा पनि स्वास्थ्य शिविर लगेका थियौं ।

काभ्रेमा पनि निःशुल्क स्वास्थ्य शिविर चलायौं । तर त्यहिँ स्थायी रुपमा तत्कालै जाने सोँच भने छैन् । दिर्घकालमा उपत्यका बाहिर पनि विस्तार गर्छाै ।

निजी क्षेत्रका अस्पतालहरुलाई सरकारले कसरी हेरिरहेको देख्नु हुन्छ ?

निजी अस्पताललाई पनि सरकारले आफ्नै अस्पताल जसरी लिन सक्नु पर्छ । संबिधानले नै सबै नागरिकलाई स्वास्थ्यको अधिकार हुनेछ भनेको छ । स्वास्थ्यलाई मौलिक हक भन्ने कुरा कार्यान्वयन सरकारी अस्पतालले मात्रै सम्भव छैन् । त्यसको ८० प्रतिशत हिस्सा निजी अस्पतालले पुरा गरिरहेका छन् । निजी अस्पताललाई पनि सरकारले अपनत्व ग्रहण गर्न सक्यो भने सस्तोमा नागरिकले उपचार पाउने अवस्था बन्छ । सरकारले निजी अस्पताललाई पनि आफ्नै ठानेर सुबिधा दिनुपर्छ ।

सरकार बलियो हुँदै गर्दा सरकारी सेवा अब्बल बन्दै जाने देखिन्छ, शिक्षा र स्वास्थ्यमा गरिएको निजी लगानीको भविष्य कस्तो देख्नु हुन्छ ?
विकासको पूर्वाधार भनेको शिक्षा र स्वास्थ्य हो । सरकारले शिक्षा र स्वास्थ्यमा गरिएको लगानीलाई मलजल गर्यो भने त्यसले उपलब्धि दिने हो । सरकारले आफै पूर्वाधार बनाउन नसकेको अवस्थामा निजी लगानीलाई प्रवद्र्धन गर्नु पर्छ ।

नर्भिक अस्पतालले बार्षिक रुपमा कति बिरामीको उपचार गर्छ ?

१ सय वेडको अस्पताल हो । ९० प्रतिशत वेड भरिन्छन् । गुणस्तरिय सेवाकै कारण नागरिकको विश्वास जितिरहेका छौं भन्ने निष्कर्ष हो । त्यसकारण नै हामी शतप्रतिशत सेवा विस्तार गर्ने निचोडमा पुगेका हौं । अध्यक्षको दुरदर्शी नेतृत्वकै कारण नर्भिकले प्रगति गरिरहेको छ ।

नर्भिकको लगानी र प्रतिफल कति छ ?

निजी लगानी भएकाले नाफा कमाउनु पर्छ नै । हामी राम्रो सेवा दिएर नाफा कमाउन उद्यत छौं । तर ठ्याक्कै कति नाफा हुन्छ भन्ने चाँही अहिले नै भन्न सक्ने अवस्था छैन् । नेपालमा भर्खरै कर्पाेरेट कल्चरको विकास भैरहेको छ । स्वास्थ्य सेवा भनेको ज्यादै सम्वेदनशिल छ । पलपलमा चुनौती छ, सानो घट्नाले पनि ठुलो धनजनको क्षति हुन सक्छ । त्यसकारण हामी सम्वेदनशिल ढंगले सेवा दिईरहेका छौं । स्वास्थ्यमा लगानी गर्नु भनेको सेवामा लगानी गर्नु हो भन्ने कुरालाई महत्व दिएका छौं ।

एक रसियन नागरिकको उपचारसँग जाेडिएर नर्भिक अस्पताल विवाद मुछियो छ, खास भएकाे के हाे ?

नर्भिक अस्पताल भनेको निजी हो । यसले स्वास्थ्य सेवा प्रवाह गर्ने हो । बिरामी भएर आएको विदेशी नागरिकलाई सुरुमै पैसा माग्ने कुरा भएन् । हामीले नेपालीलाई पनि अस्पताल आउने वित्तिकै पैसा माग्दैनौं । जो अस्पतालमा आउँछ उसलाई बचाउनु हाम्रो पहिलो दायित्व हो । हेलिकप्टरसँग हाम्रो सम्बन्ध छैन । हामीले रसियन नागरिकको पासपोर्ट लिएका होइनौं । उसलाई उद्धार गरेर ल्याउने टोलीले नै हामीलाई पासपोर्ट बुझाएको हो । एक जना विदेशी सम्वेदनशिल अवस्थामा आएको थियो, हामीले उपचार गरेर बचाएका हौं ।

उनी हिमाली क्षेत्रमा घुम्न जाँदा विरापी परेकाे हामीले सुन्याै । रेस्क्यु हामीले गरेका होइनौं । ट्राभल एजेन्सीले रेस्क्यु गरेको हो पोखराको लामा होटलका फुर्वा भन्ने व्यक्तिले रसियनलाई उद्धार गरेर ल्याएको हो । उसको उपचार खर्च ३ लाख जति पुगेको छ । उसले म पैसा खोजेर ल्याउँछु भनेर गएको हो । रसियाली दुतावासका कर्मचारी पनि बुझ्न आएका थिए रे । उपचार गरेपछि त पैसा तिर्नु पर्ने हो । उपचारमा कुनै शंका लागेको छ भने हामी स्पष्ट पार्न तयार छौं । रेस्क्युमा गलत भएको हो भने अनुसन्धान गर्न सकिन्छ । सरकारले अनुसन्धान गरोस् । हामीले त अस्पताल आएको बिरामीको उपचार गरेका मात्रै हौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.