सानिमा बैंकको ऋणपत्र कात्तिक ३० गतेदेखि निष्काशन हुने, ब्याजदर १० प्रतिशत

  २०७५ कार्तिक १८ गते ७:३६     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले यही कात्तिक ३० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । ‘१०% सानिमा डिवेञ्चर–२०८५’ नाम दिइएको उक्त ऋणपत्र बैंकले बार्षिक १० प्रतिशत ब्याजदरमा रु १००० अंकित मूल्य भएका ४ लाख कित्ता डिबेञ्चर निष्कासन गर्न लागेको हो । १० वर्ष अवधि रहेको उक्त शेयर वि.सं. २०८५ सालमा परिपक्व हुनेछ ।

कुल २ अर्ब रुपैंया बराबरको ऋणपत्र स्वीकृत गराएको बैंकले हाल भने ४० करोड रुपैंया बराबरका ४ लाख कित्ता मात्र ऋणपत्र जारी गर्न लागेको छ जसमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता डिवेन्चर सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्याइएको छ भने उक्त ऋणपत्र बाँडफाँडपश्चात् बाँकी हुने ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको छ ।

डिवेञ्चरमा लगानी गर्न चाहने लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । कात्तिक ३० गतेदेखि खुल्ने उक्त ऋणपत्रको निष्काशन अवधि छिटोमा मंसिर ४ गतेसम्म र ढिलोमा पुस १ गतेसम्म तोकिएको छ । ऋणपत्र निष्कासन तथा बिक्रीका लागि बैंकले काठमाडौं क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । उक्त डिबेञ्चरलाई नेपाल धितोपत्र बोर्डले यही ७ गते स्वीकृति दिएको थियो ।

उक्त ऋणपत्रको आवेदन साधारण शेयरजस्तै सीआश्वा सेवा उपलब्ध भएका जुनकुनै बैंक तथा वित्तीय संस्थाहरुबाट गर्न सकिनेछ भने मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेट सेवा उपलब्ध भएका जुनकुनै स्थानबाट अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव देखिएपछि लगानीको दीर्घकालीन स्रोत जुटाउन बैंकहरु ऋणपत्र निष्कासनका लागि अग्रसर देखिएका छन् । अन्य केही वाणिज्य बैंकहरु समेत ऋणपत्र निष्कासन गर्ने तयारीमा जुटेका छन् । सामान्यतया ऋणपत्र निष्कासन गर्ने संस्थाले दीर्घकालीन रुपमा माध्यमको रुपमा लिइन्छ ।

ऋणपत्रलाई न्यून जोखिमयुक्त दीर्घकालीन लगानीको माध्यमको रुपमा लिइन्छ । दोस्रो बजारमा समेत कारोबार हुने उक्त ऋणपत्रको बजार मूल्यलाई कुपन ब्याजदर र प्रचलित ब्याजदरले प्रत्यक्ष रुपमा प्रभावित पार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.