अनलाइन कारोबार प्रणाली शुरु हुनै लाग्दा धितोपत्र बोर्डले जारी गर्याे यस्ताे विज्ञप्ती

  २०७५ कार्तिक १५ गते १८:२७     विकासन्युज

काठमाडौं । दोस्रो बजारमा अनलाइन कारोबार प्रणाली लागु हुँदै गरेको पुर्वसन्ध्यामा नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ताहरुलाई भ्रममा नपरी सुझबुझपूर्ण ढंगले लगानी गर्न भन्दै सचेत गराएको छ । बोर्डले बिहीबार विज्ञप्ती जारी गरी बजारहल्लाको भरमा नभई आधारभुत तथा प्राविधिक विश्लेषण सहित सुझबुझपूर्ण लगानी गर्न सुझाएको हो ।

बोर्डले बजेटमार्फत् भ्याटको समस्या समाधान भएको, ५० करोड रुपैंया भन्दा बढी चुक्ता पुँजी भएका कम्पनीहरुलाई आयकरमा १० प्रतिशत छुट दिने व्यवस्था गर्दै पुँजीबजारमा सुचिकृत हुन प्रोत्साहित गरेको, धितोपत्र व्यवसायीले लिने शुल्कमा कटौती गरेको, धितोपत्र नियमावलीमार्फत् प्राइभेट इक्विटी फण्ड, भेञ्चर फण्ड, हेज फण्ड जस्ता व्यवस्था गरेको भन्दै नेपाली पुँजीबजार व्यवस्थित हुँदै गएको दाबी गरेको छ । यस्तो अवस्थामा बजारहल्लाको पछि लागेर हतारमा सेयर किन्ने र बेच्ने काम नगर्न बोर्डले अनुरोध गरेको छ ।

बोर्डका प्रवक्ता निरज गिरीले लाभांशको सिजनमा अनावश्यक बजारहल्ला चलाउने र बजारमा अस्वाभाविक उतारचढाव ल्याउने प्रयास रोक्न विज्ञप्ती जारी गरेको बताए । यो विज्ञप्ती विशेष परिस्थितिका कारण नभई लगानीकर्ताको हितको लागि जारी गरिएको नियमित सन्देश भएको उनको भनाई छ ।

तर अनलाइन कारोबार सुरु हुने बजारहल्ला चलिरहँदा बोर्डबाट जारी भएको विज्ञप्तीलाई शेयर बजारका सरोकारवालाहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.