प्रधानमन्त्रीज्यू, देश बनाउने भए मन्त्रीहरुलाई डण्डा लगाउनुस्ः माधव नेपाल

  २०७५ असोज २९ गते १०:०३     विकासन्युज

काभ्रे । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन्।

काभ्रेको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उद्घाटन सभालाई कुन्ताबेँसीमा सम्बोधन गर्दै नेता नेपालले भने, “सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन्, त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्री ज्यू, डण्डा लगाएर तह लगाउनुस् ।”

नेता नेपालले प्रदेश नं ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा सबै पक्ष छलफलमा जुट्नुपर्ने बताए । उनले भने, “काभे्रपलाञ्चोक नै राजधानी राख्ने विषयमा तर्क पुष्टि गर्नुहोस् ।”

नेता नेपालले काभ्रेको बनेपास्थित नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने विषयमा आफूले पनि गम्भीररुपमा पहल गर्ने बताए । उनले पाँचखाल नगर चीनसँगको व्यापारका लागि उपयुक्त भएकाले काभ्रेको महत्व निकै रहेको बताए ।

नेता नेपालले स्थानीय जनप्रतिनिधिले स्थानीय तहमा सुशासन सिकाइ जनताको आँखाको नानी बन्नुपर्ने धारणा पनि राखे उनले भने, “जनताको आँखाको नानी बन्ने उपाय खोज्नुस् । जनतालाई सेवा सुविधा दिन नसके वर्तमान जनप्रतिनिधि र सरकारको औचित्य पूरा हुँदैन”, नेता नेपालले भने ।

नपाले हेलम्बु यातायात सेवा समितिसँग समन्वय गरी आफ्नो क्षेत्रमा छ वटा नगरबस सञ्चालन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.