सर्वसाधारण समेतको शेयर लगानीमा १०४ मेगावाटको तल्लो सेती आयोजना बन्दै, २० महिनाभित्र डीपीआर

  २०७५ असोज २६ गते १५:१६     विकासन्युज

काठमाडौं । १४० मेगावाटको तनहुँ सेती जलाशययुक्त आयोजना बनाउन सुरु गरेको तनहुँ हाइड्रोपावर लिमिटेडले १०४ मेगावाटको तल्लो सेती पनि बनाउने भएको छ । तल्लो सेती आयोजना निर्माणका तनहुँ हाइड्रोले विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम सुरु गर्न लागेको छ ।

उसले आयोजनाको डीपीआर र बोलपत्र कागजात (टेण्डर डकुमेन्ट) तयार पार्नका लागि आधा दर्जन परामर्शदाताको पुर्व छनौट गरेको छ । तनहुँले डीपीआर तयारीका लागि बोलपत्र आव्हान समेत गरेको छ । छनौट भएका आधा दर्जन कम्पनीले ४५ दिनभित्र बोलपत्र पेश गर्नुपर्ने छ ।

एफ कन्सल्ट स्वीटरजरल्याण्ड लिमिटेड र इटको नेपाल प्राइभेट लिमिटेड, छ्यानजियाङ सर्भे प्लानिङ डिजाइन एन्ड रिसर्च कम्पनी लिमिटेड चीन, डोलसार इंक र सानिमा एन्ड इन्जिनियरिङ, ल्याहमेयर इन्टरनेसनलसँग टोटल म्यानेजमेन्ट सर्भिस नेपाल, एमडब्ल्यु इन्टरनेशनल इंकसँग जेड कन्सल्ट नेपाल रहेका छन् ।

यस्तै, मल्टिकन्सल्ट नोरज नर्वे, पकिस्तान इन्जिनियरिङ सर्भिससँग फुलब्राइट कन्सल्टेन्सी र टोटल म्यानेजमेन्ट सर्भिस र वापकोस इण्डिया लिमिटेड र निप्पेन कोइ कम्पनी लिमिटेडसँग जीओइसी कन्सल्ट र टोटल म्यानेजमेन्ट सर्भिस रहेका छन् ।

डीपीआरका लागि एसियाली विकास बैंक (एडीबी) को ३३ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । काम सुरु गरेको २० महिनामा आयोजनाको डीपीआर तयार पारिने तनहुँ हाइड्रोका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । उनका अनुसार आयोजना सन् २०२३ देखि निर्माण सुरु हुनेछ । आयोजनामा एडीबी र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुने छ । यद्यपी सम्झौता भएको छैन । कम्पनीले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ सेतीमा एडीबी र जाइकाको लगानी छ ।

आयोजना बनाउन २२ करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विस्तृत लागत डीपीआर तयारपछि मात्र आउने छ । आयोजना आर्थिक रुपमा आकर्षक भएकाले सर्वसाधारणको लगानी पनि हुने उनले जानकारी दिए । १४० मेगावाटको सट्टा तल्लो आयोजनामा प्रभावित र सर्वसाधारणलाई सेयर लगानी गर्न दिने उनले बताए । तल्लोसेतीमा मादी नदीको पनि पानी मिसिने छ । आयोजनाको बाँध सानो बनाए हुने अध्ययनले देखाएको छ ।

तल्लो सेतीको अध्ययन अनुमतिपत्र पाएको छ । कम्पनीले १ सय ५ मेगावाटका लागि आवेदन दिए पनि १ सय ४ मेगावाट अध्ययन गर्न अनुमति पाएको हो । कात्तिक १३ गतेको ऊर्जा मन्त्रालय सचिवस्तरीय निर्णयले कम्पनीलाई अनुमतिपत्र दिएको हो माथिल्लो सेतीको लागत महँगो भएकाले श्रृंखला (क्यासकेड) का रूपमा तल्लो सेती निर्माण गर्दा लागत कम हुने कम्पनीको तर्क छ । आयोजनाको प्रतिफल करिब २० प्रतिशत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.