बाजुराको स्वास्थ्य केन्द्रमै थन्कियो मलेरियाको औषधि

  २०७५ असोज २६ गते ११:०५     विकासन्युज

काठमाडौं। मलेरिया रोकथामका लागि छर्किनुपर्ने औषधि तीन महीनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । जिल्लाको उत्तरीभेग बूढीनन्दा नगरपालिका कोल्टीस्थितको प्राथमिक स्वास्थ्य केन्द्रमा गत साउनदेखि ती औषधि थन्किएका हुन् ।

उक्त औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै तीन महीना बितिसक्दा पनि औषधि छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सत्य शाहीले बताए।
मलेरिया प्रभावित क्षेत्रमा छर्किन रु तीन लाख रकम आवश्यक भएको र नगरपालिकाले रकम नदिँदा ती औषधि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै रहेको शाहीले बताए। “साउनमा छर्किएको भए रोकथाम हुन्थ्यो, अहिले दैनिक मलरियाको बिरामी आइरहने समस्या छ ।” डा शाहीले भने।

तराईमा मात्रै देखा पर्ने मलेरिया रोग बाजुराको बूढीनन्दा नगरपालिका १, ६ र ५ वडामा देखा परेपछि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाएको थियो । प्रयोशालाले पनि मलेरिया भएको प्रमाणित गरेपछि मलेरिया रोकथामका लागि सेभ द चिल्ड्रेनको सहयोगमा प्रभावित बस्तीमा छर्किन पाँच वटा ठूलो ड्रममा औषधि पठाएको थियो । लाखौँ मूल्यको औषधि त्यतिकै खेर जाने खतरा देखिएको छ ।

मलरिया गर्मी र वर्षात्को समयमा फैलन्छ । चैतदेखि जेठसम्ममा छर्कियो भने औषधिले तीन महीना काम गर्छ । साउनमा छर्कियो भने भदौ, असोज र कात्तिकसम्मका लागि मलेरिया रोग स्थानीयमा सर्न सक्दैन तर, औषधि नछर्किँदा दैनिक एक÷दुई जना मलेरियाका बिरामी अहिले पनि उपचारमा आउने गरेको प्रमुख डा शाहीले जानकारी दिए।

नगरपालिकामा कहिले कार्यकारी अधिकृत र कहिले लेखापाल नभएको कारण देखाई बजेट नदिएको स्थानीय जनप्रतिनिधिको गुनासो छ । बूढीनन्दा नगरपालिका कार्यकारी पुरुषोत्तम न्यौपाने भन्छन्, “म बिदामा गएको थिएँ, भर्खर मात्र आएको हुँ, यसबारेमा मलाई जानकारी छैन ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.