निजगढको विकल्प सोच्नै सकिन्न तर रुख काटेर कमिसन खाने सपना नदेख्नुस्: माधव नेपाल

  २०७५ असोज २६ गते ८:१२     विकासन्युज

माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)

काठमाडौं । नेपालका उत्कृष्ठ पर्यटन गतव्यमध्ये काठमाडौ उपत्यकांका तीन वटा शहर टपमा आउँछन् । त्यसकारण पर्यटक नेपाल आउनका लागि काठमाडौं आसपासमै हुनुपर्छ । बिराटनगर, नेपालगञ्ज वा दाङमा ठूलो बिमानस्थल पुर्याउला भन्ने कुरालाई दिमागबाट हटाईदिए हुन्छ । संसारभर शहरभित्रबाट बिमानस्थल हट्दै गएका छन् । शहरबाट ७० देखि ८० किलोमिटरको दुरीमा बिमानस्थल बनाइएको हुन्छ ।

शहरबाट एक देखि २ घण्टाको दुरीमा बिमानस्थल बनाउनुपर्छ । बेईजिङ, फ्र्यांकफर्ट, टोकियो लगायतका शहरहरुमा पनि एकाध घण्टाकै आसपासमा बिमानस्थल बनाईएका छन् । त्यसकारण काठमाडौंबाट ७६ किलोमिटरको दुरीमा रहेको निजगढ नै दोश्रो अन्तराष्ट्रिय विमानस्थलका लागि उपयुक्त ठाउँ हो ।

हामीले जहाँ पायो त्यहि विमानस्थल बनाउन सक्दैनौं । नेपालको जमिन उतार चढावयुक्त छ । हिमालय र पहाड धेरै छन् । छिमेकी देशसँगको दुरी नि छोटो छ, त्यसकारण लुम्बिनी, धनगढी, नेपालगञ्ज, बिराटनगरमा उपयुक्त हुन्न । पर्यटकहरु राजधानी आउन चाहान्छन्, त्यसकारण निजगढमा बनाईयो भने काठमाडौं आउन पनि छिटो हुन्छ र लुम्बिनी, जनकपुर, चितवन, पोखरा लगायतका ठाउँमा जान सक्छन् ।

नेपालका लागि काठमाडौंका ३ वटा पुरातात्विक शहर, पोखरा, चितवन, लुम्बिनी अहिलेका आकर्षक पर्यटन गन्तव्य हुन् । अब रारा लगायतका नयाँ गन्तव्य थपिनेछन् । आगामी २५ बर्ष, ५० बर्षमा कति पर्यटक आउन सक्छन् र के के पूर्वाधार बनाउन सकिन्छ भनेर विज्ञहरुले अध्ययन गर्नुपर्छ । काठमाडौं, पोखरा, लुम्बिनी, रारा, चितवन लगायतका ठाउँमा के के पूर्वाधार बनाउन सकिन्छ योजना बनाउनुपर्छ । पर्यटकको नेपाल बसाई लामो होस, धेरै खर्च गरुन भनेर सोच्नुपर्छ ।

अब अर्काे कुरा, हामी कहाँ कुनै निर्माण गर्नु पर्यो भने वनलाई दाह्री खौरिए जस्तो गर्नुपर्ने ? सबै रुख काट्नै पर्छ भन्ने नजिर बस्दैछ, त्यो बन्द गर्नुपर्छ । साँखुमा पोलिटेक्निकल इन्स्टिच्युट बनाईयो तर त्यहाँ सबै रुख काटेछन् ।

भारतको हिमाञ्चल प्रदेशको सिम्लामा नकाटी नहुने बाहेक घर बनाउँदा पनि बीचमै रुख छाड्ने रहेछन् । पर्खालमा पनि रुख राख्दा रहेछन् ।
हामी कहाँ त रुख सिध्याउनै पर्ने, यो के बानी भएको हो ? न्युनतम रुख काटेर, नकाटी नहुने मात्रै काट्नुपर्छ । रुखको विनास अत्यन्तै तिब्र छ, त्यसमा हाम्रो ध्यान गएको छैन् । निजगढ विमानस्थलकै छेउमा पनि रुख काटेर बस्ती बसिरहेको छ । रौतहटमा त झन बाहिर वन देखिन्छ, भित्र भित्र सबै रुख काटेर तस्करी भैसकेको छ ।

चुरे र त्यसको फेदमा वन मासेर बस्ती बसाउनेक्रम जारी छ । त्यहाँ त वन जोगाउनुपर्ने हो । जनकपुरको गोष्टीमा पनि हामीले चुरेको संरक्षण र वस्ती स्थानान्तरणबारे व्यापक छलफल गरेका थियौं । चुरेका बस्तीहरुलाई नयाँ शहरहरु बनाउन सार्न सकिन्छ । अनधिकृत बस्तीहरुमा पानी र विजुली दिनुपर्ने ? हामीले देश र बहुसंख्यक नागरिकको हितमा काम गर्नु पर्छ ।

फेरी नेपालमा कुनै पनि ठुला प्रोजेक्टहरु बन्न नदिने खतरनाक स्थीती छ । अब हामीले विकासका कुरामा ढिला गर्नु हुन्न । १२ लाख मानिस र १३ वटा शहर विस्थापित गरेर पनि चीनले थ्री गर्जेज परियोजना निर्माण भयो । ६ सय किलोमिटरको जलासय निर्माण गरेर पनि परियोजना सम्पन्न भयो ।

हामी कहाँ त सिन्धुलीमा ५ हजारको ४ आना जमिनलाई १० लाख मागेर हैरान पारिरहेको छ । अहिले त करोड माग्न थालेको होला ।
हामीले विकास र वातारण दुबै प्रेमी हुनुपर्छ । जनप्रेमी हुने नाममा विकासमा बाधा गर्नु हुन्न । नत्र राज्य नामको चीज नराखे पनि हुन्छ । राज्यले त आम जनताको भविष्य र हितलाई ध्यानमा राखेर काम गर्ने निकाय हो । अधिकतम नागरिकको चित्त बुझाएर न्यायोचित काम राज्यले गर्नु पर्छ ।

निजगढ विमानस्थल बनाउने निर्णय मैले नै प्रधानमन्त्री बनेका बेला गरेको थिए । कसैले बिराटनगर भन्थे, कतिपयले लुम्बिनी र नेपालगञ्ज पनि भन्थे । मैले नै सबै भन्दा उपयुक्त ठाउँ भनेर निजगढमो बिमानस्थल बनाउने निर्णय गरेको थिए । निजगढ विमानस्थल क्षेत्रिय केन्द्र बन्न सक्छ । भारतका केहि राज्यका नागरिक दिल्ली वा कलकत्ता गएर जहाज चढ्नु भन्दा निजगढ आउन सहज हुन्छ ।

त्यसकारण निजगढले देशको विकासमा धेरै योगदान दिन सक्छ । जहाँ अन्तराष्ट्रिय विमानस्थलसँगै आन्तरिक विमानस्थल पनि हुनुपर्छ ।
काठमाडौंबाट आन्तरिक उडान बनेपा सार्ने भन्ने सुन्दैछु । त्यो गलत छ, बन्द गर्नुस । यो पैसा राख्ने अनि विज्ञलाई पैसा खुवाउने खेल हो । कुन चाँही मन्त्री आउँछ, जील्लामा विमानस्थल बनाउने भन्ने गर्छ । के उदयपुरमा सम्भव छ, के सिराहमा सम्भव छ, अहँ छैन् ।

नदि किनार, सडक किनार, नयाँ बस्तीहरुमा रुख रोप्न सकिन्छ । जंगलहरुका बीचमा पनि बस्ती बसाउन सकिन्छ । दिल्लीमा हरियाली बढेको छ, केरला त जंगलकै बिचमा छ । लाओस भन्ने देश पनि जगलै जंगल भएको देश हो । अब हामीले पनि वन विकासमा ध्यान दिनुपर्छ ।
हिजो वन विनास भएका देशहरुमा धमाधम वन विकास भैरहेको छ । हामीले पनि वन विकासमा ध्यान दिनुपर्छ । पर्यावरणको पक्षलाई पनि ध्यान दिएर विकासका कामलाई अघि बढाउनु पर्छ । यहाँ जमिन अधिग्रहण पनि जटिल छ । एक लाखको जमिनलाई २५ लाखसम्म मुआब्जा माग्ने चलन छ ।

वनमा आयोजना बनाऔं भने पनि समस्यै छ । निजगढ बिमानस्थलमै पनि वन काटेर रोप्न २१ अर्ब लाग्ने भनिएको छ, त्यत्रो पैसा कसरी लाग्छ ? मान्छेलाई संका के छ भने वन काट्ने अनि त्यहाँ कमिसन खाने । रुख पहिले सिध्याईदिने अनि कमिसन खाने ? त्यसमा कुनै संका छैन ।

अर्काे कुरा भनेको वनको कुरा अघि सारेर आयोजना बन्न नदिनेहरु पनि छन् । खाली अध्ययन भन्ने, छलफल भन्ने आयोजना बन्न नदिने खेल चलाउनेहरु पनि छन् । हरेक प्रधानमन्त्रीका पालामा १२ बर्षदेखि अध्ययन मात्रै कति गर्ने ? अब नो मोर स्टडी(अब धेरै अध्ययन हुन्न) । के निष्कर्ष आएको छ, त्यसकै आधारमा अघि बढ्नुस् । यो त अनन्त हुन्छ यस्तो अवस्था रहे । भए भरीका रुख काट्नै पर्छ भन्ने छैन् । कति रुख काट्नु पर्ने हो त्यसको हिसाब किताब गरेर अघि बढ्नु पर्छ । (अन्तराष्ट्रिय श्रम सम्बन्ध समिति अन्तर्गत गठित उप समितिको बैठकमा संयोजकका रुपमा नेपालले व्यक्त गरेको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.