पावर ट्रान्सफरमर उत्पादनमा नेपाल इकरातकाे फड्काे, अब नेपालमै १० एमभीए

  २०७५ असोज २५ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपालमा विद्युत प्रवाह गर्न ठुलो क्षमताको (पावर ट्रान्सफरमर) उत्पादन शुरु भएको छ । निजी क्षेत्रको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्राइभेट लिमिटेडले १० एमभीए १३२ केभी क्षमताको पावर ट्रान्सफरमर उत्पादन थालेको हो ।

१० एभीए क्षमताका ट्रान्सफरमर नेपालमा उत्पादन नभएपछि भारतबाट आयात हुँदै आएको छ । पावर ट्रान्सफरमर उत्पादन गरी बिक्री पनि भइसकेको नेपाल इकरातका प्रवन्ध निर्देशक कुशकुमार जोशीले बताए । नेपाल इकरातले १० एमभीए पावर ट्रान्सफरमर वार्षिक ४० वटासम्म बनाउने भएको छ । विस्तारै उत्पादन क्षमता बढाउने जोशीले जानकारी दिए । एउटा पावर ट्रान्सफरमरको मूल्य न्युनतम १ करोड ५० लाख रुपैयाँ हुने उनले बताए ।

कम्पनीले वार्षिक २ हजार थान ट्रान्सफरमर उत्पादन गर्दै आएको छ । हालसम्म कम्पनीले ५ एमभीए क्षमताको मात्र ट्रान्सफरमर उत्पादन गर्दै आएको थियाे । वार्षिक ६ हजार थान ट्रान्सफरमर उत्पादन हुने गरी क्षमता विस्तार गरिएको जोशीले जानकारी दिए ।

कम्पनीले पहिलो चरणमा माथिल्लो मैलुङखोला जलविद्युत आयोजनालाई ७.९ एमभीए क्षमताको पावर ट्रान्सफरमर आपूर्ति गरेको उनले सुनाए । अर्डर आएपछि मात्र पावर ट्रान्सफरमरको उत्पादन शुरु हुने जोशीले बताए । पावर ट्रान्सफरमर ठुला जलविद्युत आयोजनालाई आवश्यक पर्ने गर्छ ।

भारतलगायत तेस्रो मुलुकबाट वार्षिक औसत २०० वटा पावर ट्रान्फरमर आयात हुने गरेकोमा अब नेपालमा बन्न शुरु गरेकाले विदेशबाट किन्नु पर्ने अवस्थाको अन्त्य हुने जोशी बताउछन् । नेपाल इकरातले अझ बढी सुरक्षित ड्राइटाइपको ट्रान्सफरमर बनाउनका लागि स्पेनको आईएमईएफवाइ कम्पनीसँग सहाकार्य गर्न लागेको जोशीले सुनाए । केही समयपछि ड्राइटाइपको ट्रान्सफरमरको नेपालमै उत्पादन थालिने उनले सुनाए ।

पछिल्लो समयमा स्वदेशमा विद्युतीय ट्रान्सफरमरको माग बढ्दै गएको नेपाल इकरातको ट्रान्सफरमर टेलिकम, स्कुल, जलविद्युत आयोजना, सामुदायिक विद्युतीकरण, सिमेन्ट, डण्डी उद्योग, हाउजिङ र अस्पताललगायत बढी बिजुली खपत हुने क्षेत्रमा प्रयोग हुदै आएको छ । कम्पनीले विभिन्न क्षमताको ४ हजार ट्रान्सफरमर भुटानमा निर्यात गरेको थियो । त्यहाँ वार्षिक २०० थान ट्रान्सफरमर निर्यात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.