काठमाडाैंमा एटीएमबाट पानी पिउन पाइने, पाेखरामा ५ अर्ब लागतकाे खानेपानी  याेजनाकाे टेण्डर

  २०७५ असोज २२ गते २०:२०     विकासन्युज

काठमाडौं ।  काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा पहिलो पटक काठमाडौंमा वाटर एटीएम सेवा सुरु हुन लागेको छ ।

आउँदो बिहीबारदेखि ललितपुरको सैंबु स्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए ।

निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गर्न लागिएको हो । यस्तो खालको एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताए ।

त्यस्तै बोर्डबाट गठन भएको टास्क फोर्सले गत भदौ ३० गते र असोज ५ गते सम्पन्न गरेको अनुगमनबाट हालसम्म १८ वटा ट्यांकरहरुलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्यांकरहरुलाई ३६ हजार रुपैंया जरिवाना गरिएको बैठकमा जानकारी दिएको छ ।


त्यस्तै, खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानको सक्रियतामा जापनिज नियोग जाईकाले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी खानेपानीको वितरण गर्न टेण्डर आह्वान गर्ने भएकाे छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा खानेपानी संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्नका लागि जाईकाले टेण्डर आव्हान गर्न लागेको जानकारी दिएको छ ।
जाईकाको सहयोगमा ४ अर्ब ८० करोडको लगानीमा टेण्डर आव्हान सुरु हुन लागेको हो ।

मन्त्रालयले पहिलो पटक यति ठूलो लगानीमा पोखरामा खानेपानीको शुद्धीकरण गर्ने आयोजना सुरु गरेको हो । यसबाट पोखरा र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् ।

बैठकमा खानेपानी मन्त्री बिना मगरले देशभरका स्थानीय निकाय तथा जनताबाट संकलित योजनाहरुलाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउने बताइन् । देशैभरिबाट संकलित योजनाहरुलाई योजना बैंक मार्फत अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.