ठुला आयोजनामा इक्विटी जुटाउने काम सुरु गर्दै सीबीआईएल, आईपीओ ढिलाइ भए हकप्रद जारी गर्ने

  २०७५ असोज २२ गते १२:००     विकासन्युज

काठमाडौं । मर्चेन्ट बैंकर सीबीआईएल क्यापिटल लिमिटेडले जलविद्युत्, केबलकार जस्ता ठुला आयोजनाका लागि आवश्यक स्व–पुँजी (इक्विटी) समेत जुटाइदिने भएको छ । सीबीआईएलले ठुला आयोजनालाई कर्जा व्यवस्थापन, चालु पुँजी, लगानी, भेन्चर क्यापिटल प्राइभेट इक्विटी लगायतको व्यवस्था गर्न लागेको हो ।

संस्थाले लगानी जुटाउनसम्मको कर्पोरेट एड्भाइजरीको काम गर्नका लागि पुँजी बढाउन लागेको छ । कम्पनीले पुँजी बढाएर २० करोड रुपैयाँ पुर्याउन लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीर दाहालले बताए । कम्पनीमा संस्थापक लगानीकर्ताको १७ करोड रुपैयाँ छ । बाँकी ३ करोड रुपैयाँ बराबरको पुँजी साधारण सेयर (आईपीओ) निष्कासन गरेर पुर्याउने तयारी भएको उनले जानकारी दिए ।

पुँजी वृद्धिका लागि सीबीआईएलले १२ औं वार्षिक साधारणसभा कात्तिक १४ गते बोलाएको छ । सभामा पुँजीवृद्धिको योजनालाई विशेष प्रस्तावको रुपमा लैजाने भएको छ । सीबीआइएल सेयर रजिष्ट्रारको नभई लगानी व्यवस्थापकको रुपमा व्यवसाय अघि बढाइरहेको छ ।
आईपीओ निष्कासनमा ढिलाई भए हकप्रद सेयर निष्कासन गरेर भएपनि पुँजी पुर्याउने योजना सीबीआईएलको छ ।

२० करोड रुपैयाँ पुँजी भएपछि मर्चेन्ट बैंकले सम्पत्ति व्यवस्थापन संगठित संस्थाको संरचना हेरफेर, मूल्याँकन , व्यवसायिक योजना, लोन सिन्डिकेसन, चालु पुँजी व्यवस्थापन, क्यापिटल फाइनान्सिङ, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड र सम्पत्ति व्यवस्थापन लगायतका विषयमा परामर्श दिने गरी कर्पोरेट एडभाइजरी सेवा सञ्चालन गर्न लागेको हो ।

धितोपत्र बोर्डले मर्चेन्ट बैंकरलाई पनि परियोजनामा लगानी व्यवस्थापनको काम गर्न बाटो खुला गरेको छ । नेपालमा मर्चेन्ट बैंकका लागि नयाँ कुरा हो । सीबीआईएलले आफुलाई यसको लागि तयार गरिसकेको उनको भनाई छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । २० करोड रुपैयाँ चुत्तापुँजी भएपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर यो काम शुरु गर्ने उनले बताए ।

सीबीआइएलमा सिटिजन्स बैंक मुख्य लगानी छ । यस्तै नागरिक लगानी कोष र कर्मचारी संचय कोष संस्थागत सेयरधनी हुन् । बाँकी १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.